aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
महासंघ चुनाव

‘महासंघका सबै मतदाता विवेकी हुनुहुन्छ, त्यसैले म ढुक्क छु’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०४ मंसिर २०७७
‘महासंघका सबै मतदाता विवेकी हुनुहुन्छ, त्यसैले म ढुक्क छु’

साढे पाँच दशक लामो गौरवशाली इतिहास बोकेको नेपाल उद्योग वाणिज्य महासंघ मुलुकको निजी क्षेत्रका सम्पूर्ण उद्यमी–व्यवसायीको सबैभन्दा प्रतिष्ठित र महत्वपूर्ण संस्थाका रूपमा स्थापित छ । मुलुकको अर्थतन्त्र र विकासमा निजी क्षेत्रले गरेको लगानी एवम् भूमिकालाई सम्मान र संस्थागत मान्यता दिलाउन अग्रणी पुस्ताको नेतृत्वले उदाहरणीय योगदान गरेका ग्लोबल आईएमई बैंक अध्यक्ष तथा आईएमई ग्रूपका संस्थापक चन्द्रप्रसाद ढकालले महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । 

व्यवसायिक यात्रामा देश विदेशका अनुभव हासिल गरेका सफल उद्यमी ढकालसँग महासंघको आगामी चुनाव, महासंघभित्र जकडिएर रहेका समस्या र समाधानका उपाय, उद्यमी व्यवसायीका लागि महासंघ नेतृत्वले खेल्नुपर्ने भुमिका र निजी क्षेत्रले देशको अर्थतन्त्र मजबुद बनाउन खेल्नुपर्ने भूमिकाका वारेका आर्थिकन्यूजले गरेको कुराकानीको सम्पादित अंशः

तपाईले नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्वमा वरिष्ठ उपाध्यक्षको दावेदारी पेश गर्नु भएको छ । तपाई नै किन ?

महासंघमा मेरो उम्मेदवारी मूलतः निजी क्षेत्रप्रति मेरो जिम्मेवारी बोधको उपज हो । निजी क्षेत्रको छाता संगठनका रुपमा रहेको नेपाल उद्योग वाणिज्य महासंघ आम व्यवसायीहरूको हक हित संरक्षण गर्दै राज्यलाई पनि आर्थिक नीति निर्माणमा सहयोग पु¥याउने संस्था भएकाले यसको नेतृत्वमा निजी क्षेत्रका वास्तविक समस्या बुझेको, राज्यसँग निजी क्षेत्रका भावना स्पष्टसँग राख्न सक्ने तथा आफैं पनि व्यवसायमा सवल र सफल व्यक्ति हुनुपर्छ भन्ने देशैभरका आम व्यवसायी साथीहरूको साझा मत हो । 

धेरै साथीहरूले त्यो साझा मतको प्रतिनिधित्व गर्नसक्ने सक्षम र योग्य उम्मेदवार तपाई नै हो भन्नुभएकाले म मैदानमा छु । यससँगै म आफैं पनि महासंघमा दुई कार्यकाल सदस्य र एक कार्यकाल उपाध्यक्ष भइसकेको, आफ्नै व्यवसायको दौरान देशका कुन काप्चादेखि संसारका विकसित र विकासोन्मुख मुलुकको समेत अनुभव हासिल गरिसकेको र केही गरौं भन्ने सकारात्मक सोच राख्ने व्यक्ति भएकाले मैले निजी क्षेत्रको नेतृत्व लिँदा सिंगो अर्थतन्त्रलाई नै फाइदा पुग्छ भने किन नलिने भनेर अगाडि बढेको हुँ । यसैले संक्षेपमा भन्नुपर्दा मेरो दावीको मूल कारण भनेकै निजी क्षेत्रको सवलीकरण र सिंगो मुलुकको आर्थिक समृद्धिका लागि हो ।  

वर्तमान सरकारसँग नेपाली निजी क्षेत्र धेरै खुसी छैनन् । तपाईले अब वरिष्ठ उपाध्यक्षको जिम्मेवारी पाउनु भयो भने के यो स्थितिमा परिवर्तन ल्याउन सक्नु हुन्छ ? हुन्छ भने कसरी ?

निजी क्षेत्र कुनै राजनीतिक विषयमा पक्ष विपक्षमा लाग्ने गर्दैन । हरेक राजनीतिक आन्दोलनको परिणामलाई सहर्ष स्वीकार गरे पनि राजनीतिक आस्थाका आधारमा निजी क्षेत्रले यो सही र यो गलत भन्ने गर्दैन । निजी क्षेत्रका प्रतिनिधिहरूमध्ये कोही कसैको राजनीतिक आस्था र संलग्नता रहेछ भने त्यो अलग कुरा हो र निजी क्षेत्रको मामिलामा उहाँहरू सधैँ एक ठाउँमा आउनुहुन्छ । यो सकारात्मक पक्ष तपाईले पनि देखिरहनु भएकै छ । हामीले सरकारको नीतिका आधारमा प्रतिक्रिया दिने हो । कुनै नीतिले निजी क्षेत्र र अर्थतन्त्रलाई नै असर पर्ने रहेछ भने सच्याउन दबाब दिने हो । 

अहिलेको सरकारले सुखी नेपाली, समृद्ध नेपालको जुन आकर्षक नारा ल्याएको छ, त्यसलाई पूरा गर्ने कार्यक्रम आएनन् अथवा निजी क्षेत्रलाई सक्षम र सहजीकरण नगरी सरकारको नारा कार्यान्वयन सम्भव छैन भन्ने कुरा हामीले भन्दै आएका छौं । सरकारसँग हामीले अहिले पनि विभिन्न समयमा आएका नीति सच्याउनदेखि बजेट, मौद्रिक नीति आउनुपूर्व यस्तो नीति चाहियो भन्दै आएका छौं । कतिपय पूरा भएका पनि छन्, कतिपय हाम्रो अपेक्षा विपरीत आएका छन् भने कतिपय चाहिँ बुझाइमा समस्या छन् । 

त्यसैले म महासंघमा अहिले उपाध्यक्ष रहँदा, हिजो कार्यकारिणी समिति सदस्य रहँदा पनि र भोलि वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएपछि तथा त्यसपछि अध्यक्ष नै भएपछि पनि निजी क्षेत्रको बृहत हितका लागि सरकारका सबै क्षेत्रमा लबिङ गर्नेछु, निजी क्षेत्रको एउटै आवाज लिएर सरकार समक्ष पेश हुनेछु । यसका लागि म अगाडि देखिने पात्र भए पनि हाम्रो सिंगो टीम जसले निजी क्षेत्रकै प्रतिनिधित्व गर्नेछ, त्यसमार्फत अगाडि बढ्ने छु । राज्य र निजी क्षेत्र आर्थिक विकासका साझेदार हुन् भन्ने मेरो चुनावी अभियानलाई परिणाममा सार्थक बनाउने छु  । 

बुँदागत रुपमा बताइ दिनुस् न, यदि तपाई वरिष्ठ उपाध्यक्ष हुनुभयो भने के के गर्नु हुन्छ ? तपाईका योजना र एजेण्डा के के हुन् ?

मैले वा हाम्रो समूहले के गर्ने भन्ने विषय यसअघि नै सार्वजनिक गरिसकेका छौं । हामीले मूलतः एफएनसीसीआई भिजन २०२० अन्तर्गत रहेर काम गर्नेछौं । नेपाल उद्योग वाणिज्य महासंघको पुनर्संरचनादेखि महासंघलाई निजी क्षेत्रको थिंकट्यांकमा रुपान्तरण गर्ने र वास्तविक संघीय नेतृत्वदायी संगठन (एपेक्स बडी) निर्माण गर्ने योजना हाम्रो प्राथमिकतामा छन् । यस्तै, जिल्ला, नगर र प्रदेश महासंघको सवलीकरण, बलियो राज्य–निजी क्षेत्र साझेदारी,  एमएसएमईका लागि संरचनागत व्यवस्था हाम्रा योजना र एजेण्डा हुन् । 

यतिमात्र हैन, हामी संकटमा परेका उद्योग–व्यवसायका लागि उद्दारको पहल गर्नेछौं भने लगानी आकर्षण, प्रोत्साहन र सहजीकरण तथा स्वच्छ व्यवसायको प्रवद्र्धन र सेवामा आधारित ज्ञान अर्थतन्त्रको प्रवद्र्धनमा पनि जोड दिनेछौं । औद्योगिक शान्ति र रोजगारदाता–श्रमिक सम्बन्धको सुढृदीकरण, निर्यात प्रवद्र्धनका लागि विदेशी समकक्षीहरूसँग साझेदारी, आर्थिक कुटनीति विस्तार, गैरभन्सार अवरोध हटाउने, आर्थिक गणना र एकीकृत तथ्यांकमा केन्द्रित हुने, परियोजना धितोमा लगानीको नीतिगत व्यवस्थामा जोड दिने, कर विवादको निरुपणलगायत महासंघले गर्नुपर्ने धेरै काम हामी नेतृत्वमा पुगेपछि गर्नेछौं । 

महासंघमा विधान संशोधन र नेतृत्व सम्बन्धी सधै किचलो देखिन्छ, किन ?

मुलुकमा लामो समयसम्म संक्रमणकाल रहँदा राज्यका सबैजसो निकायहरू अन्योलमा रहे । खासगरी राज्यको पुनर्संरचनादेखि शासकीय स्वरुपसम्मको तस्विर अब प्रष्ट भएपछि महासंघलाई पनि सोहीअनुरुप रुपान्तरण जरुरी छ । खासगरी हाम्रो प्रदेश संरचना बलियो बनाउने र स्थानीय तहसम्म महासंघको कार्यक्षेत्र विस्तार गर्नेलगायतका काम पूरा गर्न जरुरी छ । यसैले विगतमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने कि नहुने भन्नेजस्तो विवादमात्र बाहिर आए पनि यथार्थमा हाम्रो महासंघमा मैले उल्लेख गरेका विषयमा वृहत छलफल हुनु जरुरी छ र यसको किनारा नलागेकाले विधान संशोधन र नेतृत्वको विवाद देखिएको हो । अबको निर्वाचनपछि यी विषय विस्तारै समाधान हुँदै जानेछन् । 

विवाद र समस्यारहित महासंघ बनाउने कुनै ठोस कार्यविधिबारे सोच्नु भएको छ ?

महासंघ मुलुकको ठूलो प्रजातान्त्रिक संस्कार बोकेको संस्था पनि हो । यहाँ जे गतिविधि हुन्छ, त्यो पारदर्शी रुपमा हुन्छ भने आवधिक निर्वाचनका माध्यमले समयमै नेतृत्व चयन पनि हुन्छ । यस वर्ष कोभिडका कारणले नेतृत्व चयनमा ढिलाइ भए पनि यसको क्यालेण्डर सामान्य अवस्थामा र सामान्य कारणले परिवर्तन पनि हुँदैन । हरेक तीन वर्षमा चैत २७–२८मा महासंघको साधारणसभा र निर्वाचन हुन्छ भन्ने सिंगो मुलुकलाई कण्ठस्थै छ । 

 

यसैले यस्तो संस्थामा विभिन्न विचारहरू आउँछन् र निर्वाचनअघि टिम बनेर स्वस्थ प्रतिस्पर्धा हुन्छ भने त्यसलाई हामीले पनि स्वभाविक रुपमा लिनुपर्छ । विगतमा मुलुकमा कुनैखाले निर्वाचन नहुँदा पनि महासंघ विधिसम्मत ढंगले चलेको स्मरण गर्नुपर्छ । यसैले अहिले समस्या भनेको निर्वाचनपछि हार्नेले जित्नेको अस्तित्व स्वीकार्न नसक्ने र जित्नेले पनि हार्नेको भावना समेट्न नसकेको हो कि जस्तो देखिन्छ । आशा गरौं, यसै निर्वाचनपछि यो समस्याको पनि स्थायी समाधान हुनेछ । 

तपाईसँग नेतृत्वको प्रतिस्पर्धामा उभिनु भएकाबारे केही भन्न चाहनुहुन्छ ?

महासंघ हामी सबै निजी क्षेत्रको मन्दिर हो र यसप्रति हामी सबैको आस्था बराबरी छ । मन्दिरको छाना चुहियो भने पूजारीको मात्र नभइ भक्तहरूको पनि प्रतिष्ठा आँच आउँछ भनेर हामी सबै मिलेर बेलैमा छाना टाल्नतर्फ लाग्नुपर्छ । रह्यो निर्वाचनको कुरा महासंघको विधानले उम्मेदवारी दिन योग्य ठहर्याएका सबै साथीलाई निर्वाचनमा प्रतिस्पर्धा गर्ने अधिकार हुन्छ र त्यो अधिकार प्रयोग गर्न हामी सबै स्वतन्त्र छौं । मुख्य कुरा भनेको मतदाता साथीहरू हुनुहुन्छ ।

जिल्लानगर, वस्तुगत र एशोसिएट क्षेत्रका साथीहरूले आफ्नो मतभारअनुसार मत दिनुहुन्छ र त्यो बेला उहाँहरू जत्तिको एक चरणमा निर्वाचित भइसकेर आउनुभएकाहरूले महासंघमा कुन उम्मेदवारको हिजो कस्तो भूमिका रह्यो र भोलि कसले महासंघ हाँक्न सक्छ र निजी क्षेत्रको शिर उँचो बनाउन सक्छ भनेर अवश्य पनि हेर्नुहोला । हामी स्वस्थ प्रतिस्पर्धा र स्वच्छ निर्वाचनको पक्षमा छांै । उहाँहरू सबैप्रति मेरो सम्मान रहनेछ र भोलिका दिनमा सहकार्य पनि अवश्य नै हुनेछ । 

अन्त्यमा, महासंघको आसन्न निर्वाचनका मतदातालाई केहि भन्न चाहनुहुन्छ ?

महासंघको साधारणसभा र निर्वाचनमा प्रतिनिधि बनेर आउनु हुने साथीहरूलाई सबै विवेकी हुनुहुन्छ । जिल्लानगर र वस्तुगततर्फका साथीहरू आफैं निर्वाचनमा प्रतिस्पर्धा गरेर प्रतिनिधिका रुपमा यहाँ आइरहनु भएको छ भने एसोसिएटका साथीहरू पनि विश्वव्यापी यस्तो चुनौतीका बीचमा प्रतिस्पर्धा गरेरै आफ्नो व्यापार व्यवसायको सफलताको जगमा टेकेर उभिनुभएको छ । यसैले आजका महासंघका प्रतिनिधिहरू सबै परिपक्व हुनुहुन्छ र उहाँहरूले विवेकसम्मत निर्णय गर्न सक्षम पनि हुनुहुन्छ । उहाँहरू सबैलाई महासंघको आगामी दिनको चुनौती के हो र कसले नेतृत्व लिँदा सिंगो महासंघ र देशको अर्थतन्त्रलाई फाइदा पुग्छ भनेर मनन गरेर मतदान गर्नुहुन आग्रह गर्दछु । यसरी सबै मतदाता साथीहरू विवेकशील भएकाले म ढुक्क छु । 
 

प्रतिक्रिया दिनुहोस