aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 
जीडीपी बढ्ने

धान उत्पादन बढ्यो, ५६ लाख मेट्रिक टन फलेको कृषि मन्त्रालयको अनुमान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ मंसिर २०७७
धान उत्पादन बढ्यो, ५६ लाख मेट्रिक टन फलेको कृषि मन्त्रालयको अनुमान

काठमाडौं । कोरोना महामारीका कारण समयमा रासायनिक मल नपाएर अतालिएका किसानले अन्य वर्षको भन्दा बढी धान फलाएर देखाइदिएका छन् । सरकारले प्रमुख कृषि धान बालीका लागि अनुदानमा दिएको मल समेत आयात गर्न नसके पनि कृषकहरूले आफ्नै बल बुताले बढी धान फलाएर देखाएका हुन् । 

रासायनिक मल यूरियाको चरम अभावकाबीच यस वर्ष धान उत्पादन बढ्ने अनुमान कृषि विकास मन्त्रालयले गरेको हो । सरकार र सत्तामा रहेका कोरोनाबाट नागरिकलाई दिनुपर्ने सुरक्षानुभूती दिन नसकेपनि कृषकले भने आफ्नो दायित्व निर्वाह गरेर यो महामारीमा राज्यप्रति आफ्नो दायित्व पूरा गरेका छन् । 

कोरोना भाइरस संक्रमणको महामारीले आर्थिक क्रियाकलापलाई शिथिल बनाएका बेला धान उत्पादन बढ्दा त्यसले देशको समग्र अर्थतन्त्रलाई टेवा मिल्ने देखिएको छ । देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी बढ्ने)मा कृषि क्षेत्रको योगदान करीब २७ प्रतिशत छ । कुल कृषिको उत्पादनमध्ये धान एक्लैको योगदान करीब २१ प्रतिशत रहेको मानिन्छ । धान उत्पादन बढ्नुको अर्थ देशको कुल गार्हस्थ्य उत्पादनमा समेत सकारात्मक योगदान पुग्नु हो । 

मन्त्रालयले गरेको प्रारम्भिक अनुमान अुनसार देशभरिको धान उत्पादनको तथ्यांकलाई हेर्दा यस वर्ष १ प्रतिशतदेखि ५ प्रतिशतसम्म धान उत्पादन बढ्ने देखिएको छ । गत वर्ष ५५ लाख ५० हजार मेट्रिक टन धान फलेकोमा यस वर्ष ५६ लाख मेट्रिक टनभन्दा धेरै धान फलेको हुनसक्ने अनुमान मन्त्रालयले गरेको हो । प्रदेश २ बाहेक अन्य प्रदेशहरुको धान उत्पादनको तथ्यांकका आधारमा यस्तो आकलन गरिएको हो । उक्त प्रदेशको धानको तथ्यांक पनि आएपछि अहिले गरिएको अनुमान अझ बढ्न सक्ने मन्त्रालयले बताएको छ । 

प्रदेश १  मा गत वर्षको तुलनामा ५ प्रतिशत धेरै धान फलेको अनुमान मन्त्रालयको छ ।  गत वर्ष यो प्रदेशमा १२ लाख ४५ हजार मेट्रिक टन धान फलेको थियो । गत वर्ष १४ लाख २० हजार मेट्रिक टन धान फलेको प्रदेश २ मा भने धानको उत्पादन सामान्य घटेको हुनसक्ने अनुमान गरिएको छ । यद्यपि प्रदेश २ सबैभन्दा बढी धान उत्पादन हुने स्थान हो । 

यस अघि आर्थिक वर्ष २०७५÷७६ मा अहिलेसम्मकै धेरै ५६ लाख १० हजार मेट्रिक टन धान उत्पादन भएको थियो । धानको उत्पादन बढनुको पछाडि अनुकुल मनसुनी वर्षा तथा बीउको प्रतिस्थापन राम्रो रहनुलाई मुख्य कारण मानिएको छ । उन्नत धानको बीउबिजनका कारण पनि धान उत्पादन बढेको हुनसक्ने मन्त्रालयले अनुमान गरेको छ । यो वर्ष मनसुनी वर्षा अनुकूल भएका कारण देशका अधिकांश स्थानमा समयमै धान रोपाई भएको थियो । 

कृषि विभागको तथ्यांक अनुसार, यो वर्ष धान रोपार्इँ हुने क्षेत्रफलमध्ये ९८.३८ प्रतिशतमा रोपाई भएको थियो । गत वर्ष ९४.४३ खेतमा मात्र रोपाई भएको थियो । गत वर्षको तुलनामा रोपाई समेत चाँडो सकिएको सकिएकोले पनि धान उत्पादन बढेको मन्त्रालयले बताएको छ ।  देशभर १३ लाख ७१ हजार क्षेत्रफल जमीनमा धान रोपाईँ हुन्छ ।

प्रतिक्रिया दिनुहोस