aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

गोलभेँडाले दोब्बर भाउ पाउँदा किसान दंग

  • रासस
    रासस
  • शुक्रबार, ०५ मंसिर २०७७
गोलभेँडाले दोब्बर भाउ पाउँदा किसान दंग

धादिङ । गत वर्ष उत्पादन कम र भाउ न्यून हुँदा धादिङ जिल्लाको सिद्धलेख गाउँपालिका–४ गौँथलेका किसान निरास थिए । लगानीसमेत उठाउन धौ धौ हुँदा डराईडराई तरकारी खेती गरेका उनीहरु यसपालि गोलभेँडाको दोब्बर मूल्य पाउँदा दंग छन् । वातावरण अनुकूल हुँदा उत्पादन पनि झण्डै दोब्बर नै भएको किसान सुनाउँछन् । 

गोलभेँडाले नसोचेको भाउ पाउँदा माथिल्लो गौँथलेका ४७ वर्षीय कुलबहादुर थापामगरलाई खुशीको सीमा छैन । झण्डै दुई रोपनीमा खेती गरेका उनी थली बारीमा वृद्ध आमा र बालबालिकाको साथमा गोलभेँडा टिप्दै थिए । ‘यसपालि राम्रो भाउ पायो, प्रति किलो पचासबाट उँधो झरेकै छैन, किलोको सत्तरी/असीसम्म आएको छ, धेरै खुशी छौँ’, गोलभेँडा टिपेर डालोमा राख्दै उनले थपे, ‘पोहरको तुलनामा दोब्बर फलेको छ, भाउ पनि राम्रो छ ।’ 

गौँथले गाउँका रातमाटे पाटा अहिले लटरम्म गोलभेँडाले भरिएको छ । उनको बारीमा एक खेपमा २० क्रेट गोलभेँडा उत्पादन हुन्छ । त्यसैले गत वर्ष भाउ नपाएर निरास किसानको मुहार उज्यालिएको प्रष्ट झल्किन्छ । 

कुलबहादुरले पोहोर झण्डै रू. एक लाख बुझेका थिए । त्यही जमिनमा यसपालि तीन छिमल टिप्दैमा रू. एक लाख ५० हजार कमाइ भइसक्यो । अझै राम्रो फलेकाले दुई लाख आउँछ भन्नेमा उनी ढुक्क छन् । कोभिड–१९ ले बाहिरबाट आयात नहुँदा भाउ आएको किसानको अनुमान छ । 

बीस वर्षदेखि तरकारी खेतीमा आबद्ध कुलबहादुर पहिलेको जस्तो दुःख नहुने बताउँछन् । उनी भन्छन्, ‘शुरुमा डोकोमा बोकेर मलेखु/सलाङ्घाट झारेर काठमाडौं पठाउने गरिन्थ्यो, अहिले घरमै गाडी आउँछ ।’ 

मलेखुबाट त्रिशूली तरेपछि गाडीमा झण्डै एक घण्टाको कच्ची सडकको उकालो लागेपछि माथिल्लो गौँथले आइपुग्छ । तल्लो र माथिल्लो गौथलेमा राम्रो तरकारी खेती हुन्छ । यहाँको मौसम चिसो हुँदा उत्पादित तरकारीको स्वाद बेग्लै हुन्छ । किसान एउटै समस्या सिँचाइको अभाव रहेको बताउँछन् । 

कुलबहादुरले मात्रै तरबारी र पशुपालनबाट वार्षिक रू. आठ/दश लाख कमाइ गर्ने गरेको बताए । विदेश जाने युवालाई नजान अनुरोध गर्ने उनी भन्छन्, ‘गरेदेखि यहीँ छ, अल्छी मान्नुभएन पसिना विदेश गए पनि चुहाउनै पर्छ, आफ्नै भूमि त्यही पसिना चुहायो भने सुन फल्छ ।’  

सो गाउँमा मगर जातिको मात्रै ३२ घर छ । सबै तरकारी खेतीमा मग्न छन् । अन्य समुदायको पनि पेशा खेती किसानी नै हो । छिमेकी लोकीमाया मगर पनि गोलभेँडा टिपेर बेच्नमै व्यस्त छिन् । कति रोपनीमा गोलभेँडा रोपेको यकिन गर्न नसक्ने उनी दुई हलको मेलोमा छ भन्छिन् । दुई क्विन्टलभन्दा बढी गोलभेँडा फलाउँछिन् । यसपालि राम्रो भाउ पाएकामा उनी पनि फुरुङ्ग छिन् । 

सिद्धलेख–४ का वडाध्यक्ष रामहरि बराकोटी पैसा लुकेर बसेको छ, टिप्न खोज्दैनन्, पैसा फल्छ झैँ गरेर विदेश जान्छन्, गरे यहीँ छ भन्छन् । गाउँका किसानले गरेको कमाइले पनि यो कुरा प्रष्ट पार्छ । 

प्रतिक्रिया दिनुहोस