
काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म नागरिक लगानीकोषले १४ करोड ५९ लाख ६५ हजार रुपैयाँ खुद नाफा गरेको छ । कम्पनीको नाफा गत वर्षभन्दा यस वर्ष २० दशमलव ६३ प्रतिशत बढी भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले १२ करोड १० लाख रुपैयाँ खुद नाफा गरेको थियो ।
यस वर्ष गत वर्षभन्दा कम्पनीको कुल आम्दानी १६ प्रतिशत बढी भएको छ । गत वर्ष २२ करोड ४३ लाख रुपैयाँ कुल आम्दानी गरेकोमा यस वर्ष २६ करोड १२ लाख ५० हजार रुपैयाँ भएको हो । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ६४ करोड ६ लाख ९९ हजार रुपैयाँ रहेको छ भने जगेडा कोष रकम ८ अर्ब २८ करोड ४८ लाख ५० हजार रुपैयाँ छ । कम्पनीको जगेडा कोष रकम यस वर्ष ७७ प्रतिशत बढी कायम भएको हो । गत वर्ष यस अवधिमा ४ अर्ब ६७ करोड ८८ लाख रुपैयाँ जगेडा कोष रकम रहेको थियो ।
कोषको उपयोग गर्दै कम्पनीले पहिलो त्रैमासमा गत वर्षभन्दा करिब १५ प्रतिशत बढी १ खर्ब ५० अर्ब ५५ करोड ४५ लाख १० हजार रुपैयाँ लगानी गरेको छ । मुुद्धती निक्षेपमा गत वर्षभन्दा १५ दशमलव ८० प्रतिशत बढी ९१ अर्ब १२ करोड ५५ लाख ८९ हजार रुपैयाँ जम्मा गरेको कम्पनीले नेपाल सरकारको ऋणपत्रमा यस वर्ष १ अर्ब ५ करोड रुपैयाँ लगानी गरेको विवरणमा उल्लेख छ ।
नाफामा बृद्धि भएपनि यस वर्ष गत वर्षको तुलनामा कम्पनीको प्रतिशेयर आम्दानी भने घटेको छ । गत वर्ष यस अवधिमा ३८ रुपैयाँ रहेको प्रतिशेयर आम्दानी यस वर्ष ३३ रुपैयाँ मा झरेको हो । गत वर्ष १८४ रुपैयाँ प्रतिशेयर नेटवर्थ यस वर्ष भने २३८ रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस