
काठमाडौं । जाडो याममा अर्को वर्षदेखि भारतबाट बिजुली खरिद गर्न नपर्ने भएको छ । अर्को वर्षसम्म निजी क्षेत्रबाट ४५० मेगावाट र माथिल्लो तामाकोशीबाट उत्पादित ४५६ मेगावाट बिजुली थपिने भएकोले अर्को वर्षदेखि नेपालले बिजुली आयात गर्न नपर्ने स्वतन्त्र ऊर्जा उत्पादकहरूको संघ इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए ।
अर्को वर्षसम्ममा निर्माणधिन प्रसारण लाइन र ट्रान्समिटर समेत जडान भइसक्ने र उत्पादन पनि थपिने भएकोले भारतबाट बिजुली आयात गर्न नपर्ने हुन्छ ।’ अहिले नै २५ मेगावाटको सिङ्गी, ४२ मेगावाटको मिस्त्री खोलाबाट उत्पादित बिजुली खेर गइरहेको छ । पूर्वदेखि पश्चिमसम्म करिब १०० मेगावाट विद्युत अहिले नै खेरा गएको हो ।
नेपाल विद्युत प्राधिकरणले यस पालिको जाडोको माग धान्न भारतबाट २५० मेगावाट बिजुली आयात गर्ने भएको छ । जाडो मौसममा नेपालका विद्युत आयोजनबाट ३० प्रतिशतमात्र बिजुली उत्पादन हुने भएकोले भारतबाट विद्युत आयात गर्नु परेको हो । नेपाल विद्युत प्राधिकरणका अनुसार अहिले निजी क्षेत्रबाट ४७० र प्राधिकरणले ५३० मेगावाट गरि जम्मा एक हजार मेगावाट विद्युत उत्पादन भइरहेको छ । नेपालको माग भनेको १२ सय मेगावाटदेखि १२५० मेगावाट सम्म हो । त्यसैले अपुग बिजुली भारतबाट खरिद गर्न लागेको हो ।
हाल नेपालमा कुलेखानी जलाशययुक्त आयोजना सहित करिब करिब एक हजार मेगावाट विद्युत उत्पादन भइरहेको छ । पिक आवरमा १२ सय देखि १२ सय ५० मेगावाटसम्म विद्युत खपत हुने हुँदा प्राधिकरणले सो मागलाई धान्न विद्युत खरिद गर्न लागेको प्राधिरकणका प्रवक्ता मदन तिमल्सिनाले बताए ।
प्राधिकरणले प्रतिमेगावाट ६ रुपैयाँ ६८ पैसा अर्थात ४ रुपैयाँ १८ पैसा भारतीय रुपैयाँमा विद्युत खरिद गर्न लागेको प्राधिरकणका प्रवक्ता मदन तिमल्सिनाले जानकारी दिए । ‘यस अघि हामीले जाडो मौसममा ३५० मेगावाटसम्म विद्युत खरिद गर्दै आएका थियौं,’ उनले भने ‘अहिले भने २५० मेगावाट आगामी जुनसम्मका लागि खरिद गर्न लागिएको हो ।’
ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमा जडान गरिएको सबस्टेसन ४ सय केभीमा चार्ज भएसँगै भारतबाट सो मेगावाट बिद्युत सोही प्रशारण लाइनबाट आयात गर्न लागिएको हो । यस लाइनबाट १२ सय मेगावाटसम्म विद्युत् प्रवाह हुन सक्ने हुँदा नेपालतर्फ बढी हुँदा भारत पठाउने र यता कम हुँदा आयात गर्ने आधार बनेको छ । आउने बर्खामा त्यहाँबाट सयदेखि ५ सय मेगावाटसम्म विद्युत् भारत पठाउन सकिने प्राधिकरणले जानकारी दिएको छ ।
प्राधिकरण र निजी क्षेत्रको जडित क्षमता बढी भएपनि हिउँदमा घटेको छ,’ प्रवक्ताले भने ‘रन अफ रिभर’मा जाडोमा ३० देखि ४० प्रतिशतसम्म बिजुली उत्पादन हुन्छ ।’ बर्षाको जस्तै हिउँदमा पनि उत्पादन हुने हो भने हामीले विद्युत आयात गर्नु पर्ने थिएन । हाम्रो उत्पादन धान्छ । तर, यस वर्ष आयात गर्न लागिएको बिजुली अघिल्ला वर्षको भन्दा कम भएको पनि तिमल्सिनाले जानकारी दिए ।
भारतबाट बिद्युत आयात गर्न नहुने होइन, यता कम हुँदा उताबाट ल्याउने र यता बढी हुँदा उता पठाउन सक्ने हुनुपर्छ भन्ने हो,’ इपान अध्यक्ष आचार्यले भने । उनले भने ‘अर्को वर्षदेखि भने हामीले बिजुली आयात गर्नु पर्दैन । ‘अर्को वर्षसम्म निजी क्षेत्रबाटै ४५० मेगावाट बिद्युत उत्पादन भइसक्छ,’ उनले थपे ‘अहिले नै १५० मेगावाट विद्युत उत्पादनको तयारी अवस्थामा छ । विद्युत खपतलाई बढाउन र गुणस्तरीय ट्रान्समिटर लाइन जडानतर्फ सरकारको ध्यान केन्द्रीत हुनुपर्छ ।’
प्रतिक्रिया दिनुहोस