
काठमाडौं । युनाइटेड इदी-मर्दी एण्ड आरवि हाईड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । यो आईपीओ कुल आवेदकमध्य १५ प्रतिशतले मात्र पाएका छन् । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार ८१ हजार २७३ आवेदकहरुले १० कित्ताका दरले र ६ जनाले थप १ कित्ताका दरले ११ कित्ता शेयर पाएका छन् । यो आईपीओ खरिदका लागि आवेदन दिने योग्य आवेदकमध्य ४ लाख ५९ हजार १२९ जना आवेदकको हात खाली भएको छ ।
यो आईपीओ खरिदका लागि ५ लाख ४१ हजार २६३ जनाको आवेदन परेको क्यापिटलको भनाई छ । क्यापिटलका अनुसार यी आवेदकबाट ९४ लाख ९८ हजार ४०० कित्ताका लागि आवेदन परेको थियो । कुल आवेदकमध्य ८६१ जनाको आवेदन रद्ध भएको पनि विक्री प्रबन्धकको भनाई छ ।
यस कम्पनीले मंसिर ३ गतेदेखि ७ गतेसम्म सार्वजनिक निष्कासन मार्फत सर्वसाधारणका लागि ८ लाख १२ हजार ७३६ कित्ता शेयर विक्री खुला गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थायिनका लागि पहिलो चरणमा आईपीओ विक्री गरि दोस्रो चरणमा सर्वसाधारणका लागि विक्री गरेको हो ।
स्थानियमा वितरण हुन नसकेको २ लाख ४३ हजार ९१० कित्ता शेयर समेत जोडर सर्वसाधारणका लागि कुल ८ लाख ७३ हजार ९१० कित्ता शेयर वितरण गर्न लागेको हो । कुल कित्तामध्य कम्पनीले ४३ हजार ६९६ कित्ता सामूहिक लगानीकोषका लागि बाँडफाँट गरेको छ भने १७ हजार ४७८ कित्ता कम्पनीको कर्मचारीहरुका लागि छुट्याएको छ । यस कम्पनीले कास्की जिल्लामा ७ मेगावाट क्षमताको अपर मर्दीखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७६ साल असोज २० गतेदेखि विद्युत उत्पादन गर्दै आएको छ ।
गत आर्थिक वर्ष २०७६/७७ सम्म कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ८५ दशमलव ८२ रहेको छ । हाल रू. ३१ करोड ५० लाख चुक्तापूँजी रहेको यस कम्पनीको आईपीओ पश्चात यो पूँजी रू. ४२ करोड पुग्नेछ । कम्पनीको शेयर स्वामित्व संस्थापकतर्फ ७५ प्रतिशत र सर्वसाधारणतर्फ स्थानियमा १० र अन्य सर्वसाधारणमा १५ प्रतिशत गरी २५ प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस