aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नयाँ निर्देशिकाः कुल व्यवसायमा ५ प्रतिशत कृषि बीमा हुनुपर्ने अनिवार्य व्यवस्था

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ मंसिर २०७७
नयाँ निर्देशिकाः कुल व्यवसायमा ५ प्रतिशत कृषि बीमा हुनुपर्ने अनिवार्य व्यवस्था

काठमाडौं । अब निर्जिवन बीमा कम्पनीहरूले कुल बीमा व्यवसायको वार्षिक पाँच प्रतिशत कृषि बीमा व्यवसाय गर्नुपर्ने भएको छ । बीमा समितिले सोमबार कृषि तथा पशुपंक्षी बीमा निर्देशिका, २०७७ जारी गर्दै यस्तो अनिवार्य व्यवस्था गरेको हो । 

समितिले  निर्देशिका जारी गरेर निर्जिवन बीमा कम्पनीहरूलाई नयाँ व्यवस्था लागू गर्न वाध्य बनाएको हो । निर्जिवन बीमा कम्पनीहरू कृषि तथा पशुपंक्षी बीमामा  आकर्षित नभएपछि बीमा समितिले खुद बीमा शुल्कको पाँच प्रतिशत बीमा शुल्क कृषि बीमा बापत हुनुपर्ने नयाँ प्रावधान ल्याएको हो ।

समितिले जारी गरेको कृषि तथा पशुपंक्षी बीमाको लागि वनस्पति तथा जीवजन्तु बीमा गरी दुई भागमा वर्गीकरण गरेर बीमा गर्नुपर्ने व्यवस्था गरेको छ । नयाँ व्यवस्थाले छोटो अवधिको बीमा लेखमाथि समयावधी बढाउन नपाइने व्यवस्था गरेको छ । बीमा लेख जारी गर्दा बीमालेख जारी भएको समय तथा जोखिम प्रारम्भ हुने मिति (घण्टा र मिनेट) समेत उल्लेख गर्नुपर्ने व्यवस्था गरेको छ ।

साथै कृषि तथा पशुपंक्षी बीमा पोलिसी जारी गर्दा मोटामोटी वा अन्दाजी मूल्य राख्न नपाइने व्यवस्था नयाँ निर्देशिकामा उल्लेख गरिएको छ । यो पोलिसी जारी गर्दा बीमा गरिएको सम्पत्तिको फोटो तथा भिडियो राख्नुपर्ने व्यवस्था गरेको छ ।

नयाँ व्यवस्था अनुसार बीमा अस्वीकार गर्न नपाइने, बिमांक परिवर्तन गर्न नपाइने व्यवस्था गरिएको छ । कृषि तथा पुशपंक्षी बीमा गर्दा बीमा मध्यस्थकर्ताको व्यवस्था गरेको छ । छुट्टै कृषि तथा पशुपंक्षी बीमा अभिकर्ता व्यवस्था गरेको छ । यसले ग्रामीण भागमा नयाँ थप रोजगारी सिर्जना गर्ने देखिएको छ । अभिकर्ताहरुलाई कूल बीमा शुल्कको १० प्रतिशत कमिशनको व्यवस्था गरिएको छ ।

कृषि तथा पशुपंक्षी बीमाको लागि छुट्टै मूल्यांकनकर्ताको व्यवस्था समेत गरेकोे छ । यसअघि सर्भेयरले गर्ने काम पशु तथा बालीमा पुगेको क्षतिको मूल्यांकन बीमा समितिले तोकेको मूल्यांकनकर्ताले गर्ने व्यवस्था गरिएको निर्देशिकामा उल्लेख गरिएको छ ।

 


 

प्रतिक्रिया दिनुहोस