काठमाडौं । उद्योगी व्यवसायीहरूले प्रदेशमा लाग्ने करले निजी क्षेत्रको मनोबल कमजोर बनाएको भन्दै दोहोरो प्रकृतिका करलाई खारेज गर्न माग गरेका छन् । संघ र प्रदेशमा उस्तै किसिमका कर लगाउँदा दोहोरो करको मारमा परेकोले निजी क्षेत्रको मनोबल कमजोर भएको उद्योग व्यवसायीहरूले अर्थमन्त्रीलाई बताएका हुन्।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट र मौद्रिक नीतिमा ल्याइएका कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनमा जोड दिने बतएका छन् । बुधबार नेपाल उद्योग वाणिज्य महासंघका नयाँ पदाधिकारीहरूसँगको भेटमा अर्थमन्त्री पौडेलले अवरोध पन्छाएर बजेट र मौद्रित नीतिमा उल्लेखित कार्यक्रम कार्यान्वयनमा ल्याउने प्रतिवद्धता गरेका हुन् ।
निजी क्षेत्रबारे सरकारको दृष्टकोणमा कुनै दुविधा नराख्न आग्रह गर्दै अर्थमन्त्री पौडेलले निजी क्षेत्रप्रति सरकारको सकारात्मक धारणा रहेको र मिलेर काम गर्न तत्पर रहेको बताए । ‘रोगजारी, उत्पादन र आर्थिक वृद्धिमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका छ भन्ने सरकारले महशुस गरेको छ । त्यसका लागि सहकार्य हुन्छ । निजी क्षेत्रलाई हत्तोसाहित तुल्लाएर र मनोबल गिराएर सार्थक उपलब्धी हासिल हुन सक्दैन ।’
कुनै पनि कुरा निजी क्षेत्रलाई इम्पोज नगर्ने भन्दै अर्थमन्त्री पौडेलले सल्लाह र सुझाव लिँदै निजी क्षेत्रको सहभागितामा नीति निर्माण गर्ने जानकारी दिए ।’ निरन्तर संवाद र छलफलमा रहिरहन्छौं । सुझाव सुन्छौं । मिलेर काम गर्छौ ।’
अर्थमन्त्री पौडेलले निजी क्षेत्रले दिने सुझावबारे विषयगत रुपमा समेत छलफल गर्ने भन्दै व्यवहारिक र कार्यान्वयन जान सकिने सुझावहरु दिन निजी क्षेत्रलाई आग्रह गरे ।
नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुले बजेट तथा मौद्रिक नीतिमा उल्लेखित कार्यक्रमहरुको कार्यान्वयनमा जोड दिनु भएको थियो । महासंघका अध्यक्ष शेखर गोल्छाले महासंघ भिजन पेपेर बनाउने क्रममा रहेको जानकारी दिँदै त्यसलाई अन्तिम रुप दिई सरकारसँगको सहकार्यमा अघि बढाउने बताए ।
सो अवसरमा अर्थमन्त्री पौडेलले नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा सफलताको शुभकामना दिएका थिए ।
प्रतिक्रिया दिनुहोस