aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

तरकारी तथा फलफूलको विषादी मापन गर्न स्ट्यान्डर्ड तोक्दै सरकार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १८ मंसिर २०७७
तरकारी तथा फलफूलको विषादी मापन गर्न स्ट्यान्डर्ड तोक्दै सरकार

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले १० वटा तरकारी तथा फलफूलको स्ट्यान्डर्ड मापन गर्न मापदण्ड तोक्ने तयारी गरेको छ । विभागले तरकारी तथा फलफूलमा विषादीको प्रयोगले मानव स्वास्थ्यमा प्रतिकूल असर गर्ने देखिएपछि यसको  नियन्त्रण गर्न मापदण्ड बनाएको हो ।

विभागले बजारमा बिक्री हुँदै आएका फलफूल तथा तरकारीमा विषादी रहेको गुनासो दिनहुँजस्तो आउन थालेपछि १० वटा तरकारी तथा फलफूलमा भएको विषादी प्रयोगको धिकतम सीमा तोकेर मापदण्ड तयार पारेको हो ।

‘फलफूल तथा तरकारीमा विषादीको अधिकतम सीमा सम्बन्धी मापदण्ड, २०७७  बनाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाएको कृषि तथा पशुपंक्षी मन्त्रालयका प्रवक्ता डा.हरिवहादुर थापाले बताए । १० वटा फलफूल तथा तरकारीमा विषादीको अधिकतम सीमा तोकेर तयार पारिएको मापदण्ड स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाइएकोछ,’ उनले भने ‘मापदण्ड स्वीकृत भएर आएपछि नमूना संकलन गरेर प्रयोगशालामा विषादीको मात्रा परीक्षण गर्छौ ।’ बजारमा ल्याउदा समेत तरकारी तथा फलफूलमा विषादीको अवशेष हुने भएकाले विषादीको अधिकतम सीमा तोकिएको मापदण्ड सरकारले तयार पारेको हो ।

‘विषादी कति मात्रा भन्दा बढी हुन नहुने भन्ने मापदण्डमा उल्लेख गरिएको छ,’ उनले भने ‘भिण्डी, काउली, केराउ, केरा, स्याउलगायत तरकारी तथा फलफूलको परीक्षण गर्न मापदण्ड तयार गरिएको हो । तरकारी तथा कृषिजन्य उत्पादनमा विषादी प्रयोग गर्ने भएकाले ती वस्तुमा विषादीको अवशेष कति छ भनेर परीक्षण गर्नुपर्छ ।

विशेषत आम उपभोक्ता तथा उपभोक्ता वादी संघ संस्थाले भारतबाट आयात गरिएका तरकारीको विषादी परीक्षण गर्नुपर्ने आवाज उठ्दै आएको छन् । हाल नेपालीले उपभोग गर्ने तरकारी ८० प्रतिशतमा विषादी परीक्षण नै गर्ने गरिएको छैन । 

स्वदेशमा उत्पादन हुने र विदेशबाट आयातित तरकारी, फलफूल लगायत कृषिजन्य वस्तुमा एक दर्जनभन्दा बढी समूहका विषादी प्रयोग हुन्छ । यसमध्ये दुई समूहका करिब २० प्रतिशत किटनाशक विषादी परीक्षण हुन्छ। बाँकी ८० प्रतिशत विषादी परीक्षण हुँदैन ।  

बजारमा बिक्री हुने तरकारी नमूनाको रुपमा इन्सेक्टिसाइड अन्तर्गतका अर्गानोफस्फेट र कार्बामेटको मात्र परीक्षण हुन्छ । अहिले विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशालाले अर्गानोफस्फेट १७.५७ प्रतिशत र कार्बामेट २.२९ प्रतिशतको मात्रै परीक्षण गर्दै आएको छ । विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशालाले यिनै दुई समूहका किटनाशक विषादीको मात्र परीक्षण गर्छ ।

अन्य विषादीको प्रयोग गर्ने प्रविधि र प्रयोगशाला विभाग बाहेक अन्य स्थानमा नभएको सम्बन्ध क्षेत्रका विज्ञहरूले बताएका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको केन्द्रीय प्रयोगशालाले अन्य केही विषादीको नमूना संकलन गरेर परीक्षण गरे पनि विषादी परीक्षण गर्ने अन्य ठाउँमा संयन्त्र छैन । 

प्रतिक्रिया दिनुहोस