काठमाडौँ । अर्थ मन्त्रालयले कोरोना बीमाको दाबी ३ दिनभित्र भुक्तान गर्न बीमा समितिलाई निर्देशन दिएको छ । मन्त्रालयले बिहीबार निर्देशन जारी गर्दै भुक्तानको विवरण दैनिक जानकारी गराउन बीमा समितिलाई निर्देशन दिएको हो ।
अर्थ मन्त्री विष्णु पौडेलले गत कात्तिक १८ गते कोरोना बीमाको सबै दाबी भुक्तानी ७ दिन भित्र दिन निर्देशन दिएको थियो । मन्त्रालयले निर्देशन दिएपनि हालसम्म न्यून संख्यामा मात्र भुक्तानी भएको गुनासो आए पछि अर्थ मन्त्रालयका उपसचिव गोविन्दप्रसाद सुवेदीले यस्तो निर्देशन दिएका हुन् ।
कोरोना बीमा मापदण्ड बमोजिम प्रक्रिया तथा कागजात पूरा भएका दाबीहरूको भुक्तानी ३ दिन उपलब्ध गराइ यसको विवरण दैनिक रुपमा मन्त्रालयमा जानकारी गराउन निर्देशन दिइएको पत्रमा उल्लेख गरिएको छ । भेरिफिकेशन गर्न बाँकी दाबीको भेरिफिकेशन यथाशीघ्र सम्पन्न गरी भुक्तानीको व्यवस्था मिलाउन निर्देशन दिइएको हो ।
कोरोना बीमाको हालसम्मको दाबी संख्या, कागजात पूरा भएको दाबी संख्या, भेरिफिकेशनका लागि स्वास्थ्य सेवा विभागमा पठाएको संख्या, भेरिफिकेशन नभएका वा नक्कली दाबीको विवरण, दाबी भुक्तानीको विवरण र सबै काजगात पूरा भई भुक्तानी गर्न बाँकीको विवरण नियमित रुपमा सार्वजनिक गर्नु पर्ने पत्रमा लेखिएको छ ।
बीमा समितिको तथ्यांकअनुसार हालसम्म बिमा कम्पनीहरूमा ३२ हजार ७ सय ८४ बिमितले ३ अर्ब १८ करोड भुक्तानीका लागि दाबी गरेको छन् । सोमध्ये गत आइतबारसम्म १५ प्रतिशत अर्थात् ४ हजार ९ सय २९ को ४७ लाख ७७ हजार मात्रै भुक्तानी पाएका छन् । कोरोना बीमा दाबी रकममध्ये २ अर्ब ७० करोड भुक्तानी हुन बाँकी छ । यो रकम २७ हजार ८ सय ५५ वटा बिमा दाबीबापतको रकम हो ।
प्रतिक्रिया दिनुहोस