
काठमाडौं । कोरोना महामारीका कारण करिब १६ लाख नेपालीले रोजगारी गुमाएका छन् । राष्ट्रिय योजना आयोगले गरेको सर्वेक्षणले कोभिडका कारण नेपाल र विदेशमा काम गर्न गएका समेत गरी करिब १५ देखि १६ लाख नेपालीले रोजगारी गुमाएका हुन् ।
आयोगले गत चैत, वैशाख, जेठ र असारसम्म गरेको अध्ययनले कोभिडका कारण सो मानिस बेरोजगार भएका हुन् । कोरोनाले अर्थतन्त्रमा पारेको प्रभावबारे राष्ट्रिय योजना आयोगले तयार पारेको अध्ययन प्रतिवेदनले औपचारिक तथा अनौपचारिक क्षेत्रमा कार्यरत ९ लाख २० हजारको रोजगारी गुमेको छ भने कोभिडका कारण विदेशमा रोजगारी गुमाएर साढे दुई लाखभन्दा बढी नेपाल फर्किएका छन् ।
७० हजार अन्तर्राष्ट्रिय श्रम बजारमा जान रोकिएका तथा नियमित वार्षिक रुपमा श्रम बजारमा आउने सहित करिब साढे १५ देखि १६ लाख श्रमिकलाई तत्काल रोजगारी सिर्जना गर्नु पर्ने अवस्था देखिएको आयोग सदस्य डा.रामकुमार फुयालले बताए ।
‘कोभिडयता भारतबाट साढे दुई लाखभन्दा बढी श्रमिक नेपाल फकिएका छन्,’ उनले भने ‘कोभिडका कारण श्रम गुम्दा करिब १० लाख मानिसलाई तत्काल रोजगारी सिर्जना गर्नुपर्ने देखिएको छ । भारत र अन्य मुलुकमा समेत गर्दा साढे १५ देखि १६ लाख श्रम सिर्जना गर्न सरकारलाई चुनौती भएको उनले जानकारी दिए ।
अझ पहिला नै रोजगारी बन्न नसकेका ९ लाख पुरानो बेरोजगार र वार्षिक रुपमा श्रम बजारमा आउने ५ लाख नयाँ रोजगारसमेत गर्दा करिब ३० लाखलाई रोजगारी सिर्जना गर्नुपर्ने अवस्था रहेको उनले बताए ।
आयोगको प्रतिवेदन अनुसार कोरोनाका कारण दैनिक ज्यालादारी गर्नेकोे रोजीरोटी गुमेको छ । क्षेत्रगत रुपमा होटल, रेष्टुराँ, यातायात, शैक्षिक संस्थामा काम गर्ने व्यक्तिले रोजगारी गुमाएको देखिएको छ । औपचारिक क्षेत्रमा रोजगार बनेर मानिसकले नियमित रुपमा तलवभत्ता पाइरहेका छन् ।यस्तो व्यक्तिलाई भने कोरोनाबाट त्यति ठूलो असर परेको छैन । सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्थाहरुले नियमित तलव पाइरहेका छन् ।
‘वैदेशिक रोजगारीबाट ६ लाख १८ हजार फर्किदा रहेछन् । सोमध्ये ४० प्रतिशत नियमित फर्कने हुन् भने ६० प्रतिशत कोभिडका कारण फर्किनु पर्ने अवस्था आएको देखियो,’ आयोग सदस्य फुयालले भने ‘११२ मुलुकमा गरेको र्यापिड सर्वेक्षणमा कोभिडका कारण ४१ देशमा असर परेकोले त्यहाँ गएका श्रमिकहरू फर्किन चाहेका हुन् ।’
आयोगले तयार पारेको सर्वेक्षण प्रतिवेदनमा ६ महिनाभन्दा कम रोजगारीमा जानेहरूको तथ्यांक यसमा समावेश गरिएको छैन । हाल पर्यटन भिसा बाहेक ३२ हजार १० लाख मानिस विभिन्न प्रयोजनका लागि विदेशमा रहेका छन् । यो तथ्यांकमा डिप्लोमेसीहरूलार्ई समेत समावेश गरिएको छ ।
हामीसँग यथार्थ तथ्यांक नभएकाले यसको अध्ययन गर्न सहज नभएकाले विदेश गएका र फर्किएकाहरूको तथ्यांकलाई आधार मानेर सर्वेक्षण गरिएको डा. फुयालले बताए । गत असारमसान्तसम्मको सरकारी तथ्यांक, श्रम सर्वेक्षणलाई आधार मानेर बनाइएको उक्त प्रतिवेदन आयोग बैठकबाट पास भइसकेको छ ।अब छिट्टै उक्त प्रतिवेदन सार्वजनिक गर्ने तयारीमा आयोग रहेको छ ।
नेपालश्रमशक्ति सर्वेक्षण २०७४/०७५ अनुसार १ करोड ५९ लाख नेपाली विभिन्न प्रकारका रोजगारीमा छन् । तीमध्ये ३२ लाख वैदेशिक रोजगारीमा रहेको अनुमान छ ।
प्रतिक्रिया दिनुहोस