
काठमाडौं । ज्योती लाइफ इन्स्योरेन्स कम्पनीले रू. ६६ करोड बराबरको ६६ लाख कित्ता आईपीओ विक्री गर्न अनुमति मागेको छ । कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा उक्त आईपीओ निष्कासनको अनुमति माग्दै मंसिर १९ गते निवेदन दिएको हो ।
यो आईपीओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । हाल कम्पनीको संस्थापकतर्फबाट मात्र चुक्ता भएको पूँजी रू. १ अर्ब ५४ करोड रहेको छ । आईपीओ पश्चात कम्पनीको चुक्तापूँजी रू. २ अर्ब २० करोड पुग्नेछ । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीले रू. ७ करोड २२ लाख २२ हजार खुद नाफा गरेको छ ।
यो अवधिसम्म कम्पनीको जगेडा कोष रकम रू. ४६ करोड ५ लाख ३४ हजार छ । २०७४ साल भदौ १९ गतेदेखि बीमा बजारमा कारोबार सुरु गरेको यस कम्पनीले पहिलो त्रैमाससम्म रू. ३ अर्ब ७३ करोड ७७ लाख कुल बीमाशुल्क आर्जन गरेको छ । यस कम्पनीको प्रतिशेयर आम्दानी रू. १८ दशमलव ७६ र प्रतिशेयर नेटवर्थ रू. १३३ दशमलव २३ रहेको छ ।
प्रतिक्रिया दिनुहोस