aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

चार महिनामै झण्डै ४१ करोडको सेनिटाइजर आयात, कुन महिना कति आयात भयो ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २५ मंसिर २०७७
चार महिनामै झण्डै ४१ करोडको सेनिटाइजर आयात, कुन महिना कति आयात भयो ?

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलिएसँगै यसबाट बच्नका लागि नियमित रुपमा साबुनपानी तथा सेनिटाइजरले हात धुने बानीको विकास भएको छ । साबुनपानी भन्दा सेनिटाइजरले हात सफा गर्न सजिलो हुने हुुँदा सेनिटाइजरको प्रयोगकर्ता बढ्न थालेका छन् ।तर, नेपाली बजारमा गुणस्तरहीन सेनिटाइजरको बिगबिगी भइरहेकै बेला विदेशबाट करोडौं रुपैयाँको सेनिटाइजर आयात भएको छ । प्रयोगशाला नै नभएका उद्योगहरुले पनि सेनिटाइजर उत्पादन गरिरहेको अवस्थामा विदेशी आयात झनै उच्च भएको हो ।    
  
चालु आर्थिक वर्षको पहिलो चार महिनामा ४० करोड ९१ लाख ६२ हजार रुपैयाँ बराबरको सेनिटाइजर नेपाल भित्रिएको छ । साउन–कात्तिकसम्म ११ लाख ५४ हजार ६ सय ९१ लिटर सेनिटाइजर आयात भएको भन्सार विभागको तथ्यांक छ । सोही अवधिमा १५ करोड ६२ लाख ४९ हजार रुपैयाँ बराबरको ३ लाख ७१ हजार ५ सय ७४ लिटर अन्य डिसइन्फेक्टेड नेपाल भित्रिएको तथ्यांक छ ।  

तथ्यांक अनुसार साउनमा १२ करोड २४ लाख १७ हजार रुपैयाँ बराबरको २ लाख ८८ हजार ९ सय ३३ लिटर, भदौमा १४ करोड २४ लाख ७ हजार रुपैयाँ बराबरको ४ लाख १२ हजार ४ सय ४८ लिटर, असोजमा ८ करोड १२ लाख ७७ हजार रुपैयाँ बराबरको २ लाख ३३ हजार २ सय ८२ लिटर र कात्तिकमा ६ करोड ३० लाख ५९ हजार रुपैयाँ बराबरको २ लाख २० हजार २७ लिटर सेनिटाइजर आयात भएको विभागको तथ्यांक छ । यसबाट ७ करोड ७७ लाख ५८ हजार रुपैयाँ भन्सार महसुल संकलन भएको छ ।  

साउनमा ५ करोड ६६ हजार रुपैयाँ बराबरको १ लाख १५ हजार ७ सय ७२ लिटर, भदौमा ३ करोड ५५ लाख २ हजार रुपैयाँ बराबरको १ लाख १ हजार १ सय २० लिटर, असोजमा ३ करोड ४७ लाख ६२ हजार रुपैयाँ बराबरको ६३ हजार ९५ लिटर र कात्तिकमा ३ करोड ५९ लाख १७ हजार रुपैयाँ बराबरको ९१ हजार ५ सय ८६ लिटर अन्य डिसइन्फेक्टेड आयात भएको भने डिसइन्फेक्टेडबाट २ करोड ९३ लाख ७२ हजार रुपैयाँ बराबरको भन्सार महसुल संकलन भएको तथ्यांकमा उल्लेख छ ।  

चीन, भारत, जापान, इटाली, बंगलादेश, अफगानिस्तान, थाइल्यान्ड, हङकङ, जर्मनी, फ्रान्स, इन्डोनेसिया, मलेसियालगायत मुलुकबाट सेनिटाइजर अन्य डिसइन्फेक्टेड आयात गरिएको भन्सार विभागले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस