
काठमाडौं । बीमा समितिले कोरोना बीमाको दाबी भुक्तानीको बढी चाप भएकोले दावी भुक्तानीका लागि केहि समय धैर्य गर्न बीमितहरुलाई अनुरोध गरेको छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले विज्ञप्ति नै जारी गरेर कोरोना बीमाको दावी भुक्तानी प्रक्रियामा जटिल प्रकृतिको रहेकाले केहि समय धैर्य गर्न अनुरोध गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘कोरोना महामारीका कारण सबैभन्दा बढी गत असोज र कार्तिक महिनामा संक्रमण भएको र उक्त समयमा बीमा कम्पनीहरुमा कार्यरत कर्मचारी एवं बीमा समितिमा कार्यरत कर्मचारीहरुमा समेत संक्रमण देखिएकोले उक्त महिनामा दाबी भुक्तानी प्रकृया अवरुद्ध हुन पुगेको र उक्त अवधिको दाबी भुक्तानीका लागि यो महिनामा सबैभन्दा बढी चाप पर्न गएकोले चाप कम भएपछि नियमित तवरले भुक्तानी प्रकृया सञ्चालन हुने भएकोले केहि समय धैर्य गर्न सबैमा अनरोध गर्दछौँ ।’
उनले कागजात पुगेका सबै बीमितहरुको दावी भुक्तानी हुनेमा निश्चिन्त रहन पनि बीमितहरुलाई अनुरोध गरेका छन् । कोरोना बीमाको लेखा परिक्षण महालेखा नियन्त्रकको कार्यालयले गर्ने भएकाले पनि सरकारी कामकाजको प्रक्रिया पुर्याउँदा केहि ढिलाई भएको स्पष्ट पारेका छन् । उनले धेरै बीमितहरुले कोरोना बीमा दावीका लागि आश्वयक कागजात समेत पेश नगरेकाले पनि समस्या उत्पन्न भएको दावी गरेका छन् ।
समितिका अुनसार हालसम्म ८ हजार एक सय ४५ वटा दावकिो भुक्तानी दिईसकिएको छ । १७ हजार २ सय ३४ वटा दावीमा आवश्यक कागजात पेश गरिएको छ । ४ हजार एक सय ५२ वटा दावीका कागजात भेरिफिकेशनका लागि स्वास्थ्य मन्त्रालय पठाईएको छ भने दुई हजार ४ सय ९४ वटा दावीलाई स्वास्थ्य मन्त्रालयले भेरिफिकेशन दिएको छ ।
९ हजार ९० वटा दावीमा कागजात पुरा भए पनि भुक्तानी हुन बाँकी रहेको छ । एक हजार एक सय ३६ वटा दावीमा भने कागजात नपुगेको समितिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस