aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 
चलचित्र वार्ता

नेपालका ‘वारेन बफेट’ को चलचित्र यात्रा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ३२ जेठ २०७६
नेपालका ‘वारेन बफेट’ को चलचित्र यात्रा

‘निर्मल प्रधान’ यो नाम सुन्ने बित्तिकै जो कोहीको मानसपटलमा एउटा तस्वीर बन्छ – ‘नेपाली पुँजीबजारको सर्वाधिक चर्चित हस्ती’ । तर, उनको परिचय त्यसैमा मात्र सीमित छैन । आफ्नो व्यावसायिक जीवनको कथा सुनाउँदा उनलाई भ्याइनभ्याइ हुन्छ, के–के भन्ने के नभन्ने भनेर छुट्याउन । आम परिचय त उनको ‘नेपाली शेयर बजारको बादशाह’को रुपमा बन्यो । तर, उनी त्यस्ता धेरै व्यवसायका ‘पायनियर’ हुन् । जुन उनले थालनी गरे र अहिले स्थापित व्यवासयका रुपमा चलिरहेका छन् ।

ढुवानी सेवा, रात्रि बस सेवा, साबुन उद्योग उनले स्थापित गरेका सेवा तथा उत्पादनमुलक व्यवासय हुन् । तर, मनोरञ्जन उद्योगमा उनले पुर्याएको योगदान र त्यसलाई दिइरहेको निरन्तरता भने निक्कै रोचक छ । यो सामग्री उनै ‘नेपाली वारेन बफेट’को सिनेमा मोहका सम्बन्धमा केन्द्रित छ ।

एकैचोटी हेटौंडामा ओम चलचित्र मन्दिर, नारायणघाटमा जुन चलचित्र भवन, नारायणघाटकै टाँडीमा ज्योति चलचित्र मन्दिर, काठमाडौँमा जयनेपाल चलचित्र घर, दमौलीमा मेनुका चलचित्र मन्दिर, ठमेलमा निश्चल चलचित्र भवन, स्वयम्भुमा कान्तिपुर सिनेमा भवन निर्माण गरेर उनले चलचित्र व्यवसायमा पदार्पण गरे । 

त्यसबाहेक उनले पोखरामा पूर्णिमा सिनेमा, नेपालगन्जमा बागेश्वरी चलचित्र मन्दिर, भैरहवामा सिद्धार्थ चलचित्र भवन, वीरगन्जमा त्रिमुर्ति सिनेमा आफन्त र व्यापारिक साझेदारसँग मिलेर खोले । उनी भन्छन्–‘मैले परोक्षअपरोक्ष गरी मुलुकभर २५/३० वटा सिमेमा हल सञ्चालन गरेर यो क्षेत्रमा प्रवेश गरेको थिएँ ।’ यसरी प्रधानले शुरुमै सिनेमा हलको एउटा सञ्जाल नै निर्माण गरेर व्यापार थाले ।

त्यसको केही समयपछि २०३९/०४० सालतिर उनले चलचित्र निर्माण पनि शुरु गरे । चर्चित चलचित्र ‘कान्छी’ उनैले निर्माण गरेका हुन् । प्रधान गर्व गर्दै भन्छन्–‘मैले नेपाली चलचित्रमा मैले धेरै हस्तीहरु भित्राएँ’ हुन पनि शर्मिला मल्ल, शिव श्रेष्ठलाई उनैले डेब्यु गराएका थिए् । कान्छीमा शर्मिला मल्ललाई खेलाएर पहिलो फिल्मबाटै उनी स्थापित नायिका भइन । कृष्टि केसी मैनालीलाई पनि नेपाली सिनेमा संसारमा उनैले प्रवेश गराएका हुन् । ‘सन्तान’ फिल्ममार्फत गौरी मल्ल पनि उनैले नेपाली सिनेमा उद्योगलाई उपहारस्वरुप दिएका हुन् । 

‘नेपाली सिमेमा सदाबहार नायक भुवन केसीलाई समेत मैले नै सिनेमामा ल्याएको हुँ’ प्रधान सगौरब आफ्नो योगदान सुनाउँछन् । ‘हालका बरिष्ट निर्देशक उज्जवल घिमिरेलाई पनि मैले नै चलचित्र सन्तानमार्फत भित्राएको हुँ।’ 

नेपाली चलचित्र पनि वितरण गर्नुपर्छ र वितरकको माध्यमबाट नै हालसम्म पुर्याउनुपर्छ  भन्ने अवधारणसमेत उनै निर्मल प्रधानले नेपाली चलचित्र उद्योगमा भित्राएका हुन् । त्यसअघि शाही नेपाल चलचित्र निगमले मात्र फिल्म बनाउने र वितरण गर्ने काम गथ्र्यो । चलचित्र निर्माताले सिनेमा वितरण गर्ने पद्दति नी थिएन । 

निजी क्षेत्रबाट चलचित्र निर्माण गर्ने पहिलो समूह नै प्रधानको समूह हो । उनीहरुले ओम प्रोडक्सन प्रा.ि नामक कम्पनीको ब्यानरमा चलचित्र कान्छी निर्माण भएको थियो । यो चलचित्र आफैं वितरण गरेको यही समूहले ‘मायाप्रिती’ नामक चलचित्रलाई पहिलोपटक वितरकमार्फत वितरण गरेको थियो । 

उनी नेपालमा विदेशी चलचित्रको पनि पहिलो र सबैभन्दा ठूलो वितरक हुन् । उनले नयाँ शिराबाट वितरण थाल्नुअघि काठमाडौँमा विदेशी फिल्म हेर्न ४–५ वर्षसम्म कुर्नुपर्ने अवस्था थियो । तर, उनले चलचित्र संघको नेतृत्वकर्ताको हैसियतले मुम्बई गएर नेपाललाई भारतको प्रान्त जस्तो नगरी अलग्गै राखेर हेर्न र भारतीय चलचित्रहरु वितरण गर्न अनुरोध गरेपछि मात्र समयमै भारतीय सिनेमा समेत यहाँ आउन थालेका हुन् । यसपछि मात्र शाहरुख खानको ‘रामजाने’ फिल्म इतिहासमा पहिलोपटक मुम्बई र काठमाडौंको जयनेपाल सिनेमा हलमा एकै समयमा रिलिज भएको थियो । यसरी उनी नेपालकै सबैभन्दा ठूलो चलचित्र निर्माता, वितरक र प्रदर्शक बन्न पुगे । 

उनको आजको परिचय शेयर कारोबारी भए पनि उनी नेपाल चलचित्र संघको महासचिव, उपाध्यक्षसमेत बनिसकेका व्यक्ति हुन् । नीर शाह, यादब खरेल जस्ता निर्माता, निर्देशकहरु उनीसँंगै काम गरेका हस्तीहरु हुन् । तर, त्यसबेला अहिलेको जस्तो सञ्चार माध्यमको विकास र बिस्तार नभइसकेको हुनाले उनको त्यो परिचय त्यतिकै लुकेको प्रधानको बुझाइ छ ।

तर, उनलाई आज पनि अधिकांश समय जयनेपाल सिनेमाको माथिल्लो तल्लामा रहेकोे क्याबिनमा भेट्न सकिन्छ । उनको चलचित्रसँगको नाता अहिले पनि उत्तिकै बलियो छ । यसको पछिल्लो उदाहरणको रुपमा पछिल्लो समयमा देखापरेको क्युएफएक्स सिनेमाको अवधारणा र नेटवर्क स्थापनामा उनले देखाएको सक्रियता र त्यसमा मिलेको सफलतालाई लिन सकिन्छ ।   


 

प्रतिक्रिया दिनुहोस