काठमाडौं । मंसिर २९ गतेदेखि सार्वजनिक निष्कासन भएको प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओमा आवेदन दिने पुस २ गते बिहीवार अन्तिम दिन रहेको छ । ढिलो अवधि पुस १३ गते भएपनि छिटो अवधिभित्रै मागभन्दा बढी आवेदन परेकाले छिटो अवधिभित्र विक्री बन्द गर्न लागिएको हो ।
यस आईपीओमा बुधवार साझ ५ बजेसम्म ८ लाख ९२ हजार ८५४ जना आवेदकले २ करोड ४८ लाख १६ हजार ६७० कित्ता शेयर खरिदको लागि आवेदन दिएको विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जानकारी दिएको छ । जुन माग भन्दा साढे ४ गुणा बढी हो ।
कम्पनीले सर्वसाधारणका लागि छुट्याईएको ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ मध्य ५४ लाख कित्ता सार्वजनिक निष्कासन मार्फत विक्री खुला गरेको हो । कुल कित्तामध्य ३ लाख कित्ता कम्पनीको कर्मचारीहरुका लागि र ३ लाख कित्ता सामूहिक लगानीकोषका लागि छुट्याएको छ ।
हाल कम्पनीमा संस्थापक तर्फको मात्र १ अर्ब ४० करोड रुपैयाँ चुक्तापूँजी रहेको छ । जीवन बीमा कम्पनीहरुले कायम गर्नुपर्ने २ अर्ब रुपैयाँ पूँजी सर्वसाधारणमा आईपीओ विक्री गरेपछि कायम हुनेछ ।
यो आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । विक्री प्रबन्धकसँगै सि–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालय मार्फत आवेदन दिन सकिने व्यवस्था छ ।
साथै मेरो शेयर सफ्टवेयर मार्फत पनि यो आईपीओमा आवेदन दिन सकिनेछ । प्रभु लाइफको यो आईपीओलाई इक्रा नेपालले आधारभूत पक्ष औषतभन्दा कमजोर रहेको इक्रा एनपी आईपीओ ग्रेड ४ रेटिङ प्रदान गरेको छ ।
प्रतिक्रिया दिनुहोस