
काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीले पुस २६ गते १७ औं वार्षिक साधारण सभा बोलाएको छ । युनियन हाउस, अनामनगर काठमाण्डौंमा विहान १० बजे सभा बोलाइएको हो । कोभिडको महामारीलाई ध्यानमा राखेर सभा भर्चुअल माध्यमबाट गरिने कम्पनीले जानकारी दिएको छ ।
सभाले कम्पनीले प्रस्ताव गरेको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । कम्पनीको मंसिर २८ गते दिउसो १ बजे बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको थियो । सूचीकरण विनियमावलीमा भएको व्यवस्था बमोजिम लाभांश प्रस्तावको जानकारी नेप्सेमा उपलब्ध नगराएको भन्दै कम्पनीको शेयर कारोबार मंसिर २९ गतेदेखि रोक्का रहेको छ ।
सूचीकरण विनियमावलीमा भएको व्यवस्था अनुसार धितोपत्र मूल्यमा प्रभाव पार्ने सुचना तथा जानकारी निर्णय भएको सोहि दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि नेप्सेमा पेश गर्नुपर्ने हुन्छ । तर बरुण हाइड्रोले आइतवार दिउसो गरेको लाभांश सम्बन्धि निर्णय सोमवार कारोबार भैरहेको समयमा उपलब्ध गराएको थियो ।
नेप्सेले के कति कारणबाट लाभांशको सुचना समयमै पेश गर्न नसकिएको हो सो सम्बन्धमा तीनदिनभित्र स्पष्टिकरण पेश गर्न भनेपनि हालसम्म कम्पनीको स्पष्टिकरण सार्वजनिक भएको छैन् । साधारण सभा प्रयोजनका लागि पुस १६ गते एक दिन बुक क्लोज गर्ने भएकाले पुस १५ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस