
काठमाडौं । सरकारले प्रधानमन्त्री कृषि आधुनिक परियोजनको लागि चालु आर्थिक वर्षमा ३ अर्ब २२ करोड रुपैयाँ विनियोजन गरेको छ । एक स्थानीय तह एक उत्पादन पकेट क्षेत्र कार्यक्रम सञ्चालन गर्न देशभरका २ सय ५० पकेट क्षेत्रको लागि सो बजेट विनियोजन गरेको हो । तर, प्रत्येक पालिका (स्थानीय तह)को कृषि तथ्यांकलाई गुणस्तरीय बनाउन तथा अहिले गरिदै आएको तथ्यांक संकलन विधिमा सुधार गर्न भने मात्रै साढे सात करोड रुपैयाँ विनियोजन गरेको छ ।
सरकार तथा प्रधानमन्त्री निकट तथा कार्यकर्तालाई लक्षित गरी ल्याइएको उक्त कार्यक्रमा यथेष्ट बजेट भएपनि यस्तो दीर्घकालीन असर रहने अध्ययन, अनुसन्धान तथा विधिका लागि भने थोरैमात्र रकम विनियोजन गरेर झारा टार्ने काम हुँदै आएको छ ।
कृषि विकास मन्त्रालयले कृषि क्षेत्रको तथ्यांकलाई गुणस्तरीय बनाउन प्रत्येक पालिकामा एक÷एक लाख रकम विनियोजन गरेको छ । मन्त्रालयले हाल कृषि क्षेत्रको तथ्यांक गणना विधि नै परिवर्तन गरी बढी यथार्थ परक र गुणस्तरीय तथ्यांक समाविष्ट गर्न ७ सय ५३ वटै पालिकालाई यो रकम उपलब्ध गराएको हो ।
कृषि विकास मन्त्रालयका तथ्यांक अधिकृत रामकृष्ण रेग्मीले चालु आर्थिक वर्षको बजेटबाट प्रत्येक पालिकाबाट तथ्यांकको विधिकलाई सुधार गर्न ७ करोड ५३ लाख रुपैयाँ बजेट निकासा गरिएको बताए । ‘कृषि क्षेत्रको तथ्यांक संकलनको विधिमा सुधार गर्ने उद्देश्य स्वरुप सरकारले यो कार्य अघि बढाएको हो,’ उनले भने ‘यसले अहिले भइरहेको तथ्यांक संकलन विधिमा केही सुधार ल्याउने विश्वास गरिएको छ ।’
प्रत्येक पालिकामा रहेका कृषि तथा भेटनरी सेवा केन्द्रले आफ्नो पालिकाभित्र उत्पादन हुने कृषि उपज तथा पशुपंक्षीको गुणस्तरीय तथ्यांकको लागि मन्त्रालयले सो कार्य अघि बढाएको हो । हाल नेपालमा कुनै पनि कृषि उपजको तथ्यांक भएपनि वैज्ञानिक विधिबाट तथ्यांक संकलन गर्न सकिएको छैन, गुणस्तरीय तथ्यांक नभएकाले अनुमानको भरमा कुल गार्हस्थ्य उत्पादन(जीडीपी)को गणना गर्नु परेको छ,’ उनले भने ‘यदि गुणस्तरीय तथ्यांक आयो भने हामीले हाम्रो आवश्यकता र परिपूर्ति गर्ने आधारहरू तय गर्न सक्छौ ।’
अहिले कुल जीडीपीमा कृषि क्षेत्रको योगदान ५ प्रतिशत रहेको छ । यसमा पनि वस्तु अनुसार फरक फरक छ । विशेषतःकृषि क्षेत्रमा तथ्यांकीय मापनको अवस्था त्यति भरपर्दो छैन । हचुवाको भरमा तथ्यांक संकलन हुँदै आएको छ । भरपर्दो तथ्यांकको स्रोत नुहुँदा बाली रोपिएको ६÷७ महिनासम्म पनि तथ्यांक आउन सक्ने अवस्था छैन ।
प्रतिक्रिया दिनुहोस