
काठमाडौं । कोभिडका कारणे शिथिल बनेका वैदेशिक रोजगारी लयमा फर्कन थालेको छ । कोभिडकै बीच धेरै देशबाट श्रमको लागि माग आउन थालिसकेको छ भने केही देश पर्ख र हेरको अवस्थामा छन् । कोभिडका कारण रोकिएको श्रम सम्झौता कतारले गरिसकेको छ ।
एक महिना अघि नै कतारको श्रम बजार खुला गरिएको कारणले अहिले म्यानपावर कम्पनीहरूले धमाधम कामदार पठाउन काम गरिरहेका वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले बताए । ‘एक साता अघि नै कतारबाट ८ हजार कामदारको माग आएको थियो,’ उनले भने ‘म्यानपावर कम्पनीहरूले प्रक्रिया पुरा गरेर कतार कामदार पठाउने तयारी गरिरहेका छन् ।’
मेलेसिया, यूएई, साउदी अरब, बहराइनलगायतका मुलुकमा कोभिडका कारण बन्द भएको श्रम बजार खुल्न सकेको छैन । उनीहरूले बेलायतमा दोस्रो लहर फैलिएको कोभिडको कारण देखाइरहेका छन् । यूएईका प्राइभेट कम्पनीबाट डमाण्ड आएको छैन, सरकारी तथा सेमिसरकारीबाट भने डिमाण्ड आउन थालेको दाहालले बताए ।
विभागले कतारका लागि रोजगार पठाउने बाटो एक महिना अघि नै खुलाएपनि कतार जाने कामदारको फाइल अहिले कतारको श्रम सहचारी कार्यालयमा नै थुप्रिएर बसेका छन् । नेपाली दूतावास कार्यालयमा अनुमतिका लागि पुगेका सयौं फाइल दूतावासमा नै अड्केको नेपाल वैंदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद गैरेले बताए ।
‘कतारका विभिन्न कम्पनीहरू र नेपालका म्यानपावर कम्पनीबीच भएको सम्झौता अनुसार कामदार पठाउने सम्झौता भएपश्चात हामीले श्रम स्वीकृतका लागिलागिए पनि कामदारको फाइल दूतावासमा रोकिएको छ,’ गैरेले भने ।
करिब एक महिनादेखि श्रम सहचारी अनुज गौतमले कतारबाट कामदार पठाउने फाइलका बारेमा कुनै पनि काम नगरेका कारण नेपाली कामदार कतार जानबाट बन्चित भएको म्यानपावर कम्पनीहरुको गुनासो रहेको छ । कतार सरकारले कोभिड– १९ मा स्वास्थ्य मापदण्ड कडा बनाएका कारणले नेपाली कामदार कतार पठाउने प्रक्रियामा समस्या भएको थियो । अहिले खुलेको छ र हामीले केही कम्पनीसँग श्रम सझौता पनि गरिसकेका छौं । उताबाट डिमाण्ड आएपछि कामदार पठाउने प्रक्रिाय अघि बढाएपनि फाइल रोकिएको अवस्था रहेको गैरेले गुनासो गरे ।
उनले भने, कतार सरकारले नै कतारमा काम गर्ने विदेशी कामदारका लागि रोजगारदाताले आफै कोभिड १९को संक्रमणबाट बच्नका लागि आइसोलेसन बनाउन र स्वास्थ्य परिक्षण समेत कामदारले गर्न पर्ने व्यवस्था बनाएका कारणले समस्या आएको थियो । अब पुनः कुनै पनि अन्तर्राष्ट्रिय हवाइमा प्रतिवन्ध नभएमा आउँदो जनवारी एक तारिकदेखि सबै कामदारका लागि डिमाण्डहरू सदर गर्ने र नेपाली कामदार कतार पठाउने सहमति भएको अध्यक्ष गैरेले बताए ।
नेपालबाट एक सय ७७ मुलुकमा काम गर्नका लागि श्रमिक जाने गरेका छन् । श्रम सम्झौता भएका १० देश र श्रम सम्झौता भएका ११० देश गरी व्यक्तिगत र संस्थागत रुपमा रोजगारीमा जाने गरेका छन ।
मलेसिया र साउदका श्रम खुलेका छैनन् । नेपालबाट सबैभन्दा धेरै यहि मुलुकमा रोजगारीका लागि कामदार जाने हुन् । कतारमा रोजगारीका लागि खुले पनि यूएईमा सेमीमात्र खुलेका कारण पूर्ववत अवस्थामा फर्कन भने अझै ५/६ महिना लाग्ने दाहाले बताए । उनले भने ‘कोभिडका कारण एक डेढ लाखको रोजगारी गुमे पनि असोजयता पुनः श्रम स्वीकृत लिएर पूर्ववत रुपमा काममा फर्कन थालिसकेको दाहालले बताए ।
श्रम सहचारीका कारण कम्पनीहरु समस्यामा
पछिल्लो समयमा कतारका श्रम सहचारी अनुज गौतमका कारण करिब हजारौ नेपाली कामदार विदेश जानबाट बन्चित भएका छन् । दूतावासका अनुसार कतारका विभिन्न कम्पनीहरु र नेपालका म्यानपावर कम्पनीबीचमा कामदार पठाउने सम्झौता भए पनि गौतमका कारण फाइल अहिले कतारको श्रम सहचारीको टेबलमा नै थुप्रि रहेको छ । नेपाली दूतावास कार्यालयमा अनुमतिका लागि पुगेका सयौं फाइल दूतावासमा नै अड्केको कारण कामदार बिदेश जाने प्रकृया नै रोकिएको नेपाल बैंदेशीक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद गैरेले बताए ।
कतारको राम्रो कम्पनीहरुको डिमाण्ड श्रम शहचारीले बिना कारण प्रमाणीकरण फाइल रोकेर कतारी कम्पनीलाई दुःख दिने, कतारकै स्थानीय एजेन्सी प्रयोग गरि डिमाण्ड हत्याउने र आफू अनुकुलका कम्पनीलाई डिमाण्ड दिन लगाई लाभ समेत लिने गरेको नेपाली कम्पनीहरुको आरोप छ । कतार दूतावासले भने कुनै कम्पनी विषेशको फाइल रोकिएको भए कम्पनीको नाम पठाउन आर्थिक न्युजडटकमसँग अनुरोध गरेको छ । दूतावासमा फाइल रोकिएको प्रश्नमा दूतावासले कुनै कम्पनीको फाइल भए हेर्न सकिने समेत बताएको छ ।
कतारमा नेपाली कामदारलाई दुःख दिने कम्पनी बि आरके कम्पनी ,बब स्टार कम्पनी र प्रेट्रोसप कम्पनीबाट १७ हजार ,१२ हजार र ९ हजार कतारी रियल घुँस लिएको समेत नेपाली कम्पनीहरुले बताएका छन् ।
दुतावाससँग डिमाण्ड प्रमाणीकरण गर्न जनवरी एक गतेदेखि गर्नु गराउनु भन्ने कुनै आदेश निर्देशन नभएको र आर्थीक लाभ कै निमित्त श्रम सहचारीले कतारको लोकल मेनपावर एजेन्सीको मिलेमतोमा रोकेको कारण ब्यावसायी मारमा परेको म्यानपावर व्यावसायीहरुको गुनासो रहेको छ । कतार सरकारले नेपाली कामदार कतारमा काम गर्न आउँदा केहि मागदण्ड नयाँ बनाएकाले मात्र नेपालबाट नेपाली कामदार कतार नगएका हुन तर, कामदारको लैजाने प्रक्रिया नै रोक्ने निर्देशन कतार सरकारको नभएको म्यानपावर व्यवसायीहरु बताउँछन् ।
कतारका कम्पनी बबस्टार ,प्रेट्रो सप र बिआरके कम्पनीको फाइल कुन मापदण्ड र प्रकृयाबाट दूतावासले प्रमाणीकरण गरिएको हो । अक्तियार लगायतका निकायले गौतम र यी कम्पनीको सम्वन्धमा छानबिन होस भन्ने व्यवसायीको माग रहेको छ । श्रम सहचारीकै कारण कतारी कम्पनीहरुले नेपाली कामदार मेहनती इमान्दार भए पनि अन्य देशबाट कामदार लिन बाध्य बनाएको व्यवसायी बताउछन ।
प्रतिक्रिया दिनुहोस