
काठमाडौं । राष्ट्र बैंकको तथ्यांकले गत आवदेखि नै मूल्यवृद्धि कम हुँदै गएको देखाएपनि निर्माण सामग्रीको मूल्य भने ३० देखि ३५ प्रतिशतसम्म बढेको लगानीकर्ताले गुनासो गरेका छन् । लगानीकर्ताहरूले कोभिडकैबीचमा खास गरी जलविद्युत आयोजनामा प्रयोग हुने निर्माण सामग्रीको मूल्य बढेको बताएका हुन् ।
उद्यमी तथा बैकर मोतिलाल दुगडले पछिल्लो समय डण्डीलगायत जलविद्युतमा प्रयोग हुने एल्युमिनियम, कपरको मूल्य सो रेसियोमा बढेको बताएका छन् । यसले उत्पादन लागत बढ्न गएको उनले बताए ।
कोभिडका बेला स्थगन भएका आयोजनको काम सुचारु गरिए पनि अहिले भाउ बढेर अच्चाक्ली भएको छ,’ उनले भने ‘यसरी भाउ बढ्दा आयोजनाको लागतसम्म बढ्न गएको छ । ६५ रुपैयाँ प्रतिकेजीमा पाइने डण्डीको मूल्य बढेर ८५ रुपैयाँ पुगेको छ । एल्युमिनियम र कपर पनि त्यतिकै मह्गो भएका छन्,’ उनले भने ।
अहिले सिमेन्टको मूल्य स्थिर रहेपनि कोइलाको मूल्य बढेका कारणले फेरि सिमेन्टको भाउ पनि बढ्ने देखिएको उनले बताए । यसले गर्दा आयोजनको कुल खर्च २ देखि ४ प्रतिशतसम्मले बढ्न जाने देखिएको छ,’ उनले भने ।
नेपालको व्यवसायिक घराना एमभी दुगड समूहले स्वदेशी पुँजी परिचालन गरेर अहिले चार वटा आयोजना शुरु गरिएको छ । यी चारमध्ये तीन वटा आयोजना निर्माणाधिन अवस्था छन् भने लाप्चे खोला जलविद्युत आयोजनाको भर्खरै मात्र सहवित्तीयकरण भएर लगानी जुटेको छ ।
एमभी दुगड समूहले १५७ मेगावाट क्षमताका तीनवटा जलविद्युत् आयोजना निर्माण सुरु गरेको छ। समूहले विभिन्न सहायक कम्पनीमार्फत लिखु खोलामा तीनवटा आयोजना सुरु गरेको हो ।
समूहले ७७ मेगावाट क्षमताको लिखु– १ आयोजना पान हिमालय इनर्जी, ५१ मेगावाटको लिखु दुई आयोजना ग्लोबल हाइड्रोपावर एसोसियट्स र २९ मेगावाट क्षमताको लिखु ‘ए’ आयोजना नुम्बुर हिमालय हाइड्रोपावर प्रालिमार्फत निर्माण सुरु गरेको हो ।
सन् २०२० सम्म सम्पन्न गर्ने लक्ष्य सहित शुरु गरिएको उक्त आयोजनाहरू लिखु ‘२’ र ‘ए’ यहि आवमा सम्पन्न हुने समूहका अध्यक्ष मोतिलाल दुगडले जानकारी दिए । अर्को आयोजना भने आगामी आवमा सम्पन्न हुने उनले बताएका छन् । तीनवटा आयोजना निर्माण सम्पन्न गर्न कुल २५ देखि २५ अर्ब लाग्ने देखिएको छ । आयोजना शुरु गर्दा २१ अर्ब लाग्ने अनुमान गरिएको थियो ।
७७ मेगावाटको लिखु–१ मा प्राइम कमर्सियल बैंकको अगुवाइमा एनआइसी एसिया बैंक, जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेड, कृषि विकास बैंक, नेपाल क्रेडिट एन्ड कमर्श बैंक, जनता बैंक, प्रभु बैंक र मेगा बैंक मिलेरले सहवित्तीयकरणमार्फत लगानी गरिरहेका छन् ।
त्यस्तै ५१ मेगावाटको लिखु– २ मा माछापुच्छ्रे बैंकको अगुवाइमा मेगा बैंक, नेपाल एसबीआई बैंक, नेपाल बंगलादेश बैंक, एभरेष्ट बैंक र भिवोर सोसाइटी डेभलपमेन्ट बैंकको ऋण लगानी रहेको छ । २९ मेगावाटको लिखु ‘ए’ मा लक्ष्मी बैंकको अगुवाइमा सिद्धार्थ बैंक, सेन्चुरी कमर्सियल बैंक, सिटिजन्स बैंक र बैंक अफ काठमाण्डु लुम्बिनी बैंकले संयुक्त लगानी गरेका छन् ।
लाप्चे खोलामा ९ बैंकको सवा २६ अर्ब लगानी
निजीक्षेत्रको लगानीमा निर्माण हुन लागेको नेपालकै ठूलो १६० मेगावाटको लाप्चे खोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन ९ बैंक मिलेर गरेका छन् । २६ अर्ब २० करोड लागत अनुमान गरिएको उक्त आयोजना नेपाल बैंकको अगुवाइमा सहवित्तीयकरण जुटेको हो ।
उक्त आयोजनमा विभिन्न नौ बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने भएका छन् । आयोजनामा सहवित्तीयकरणमार्फत यहि पुस ७ गते १९ अर्ब ६५ करोडभन्दा बढी लगानी गर्नेसम्बन्धी सम्झौता भएको छ । आयोजनामा नेपाल बैंकले ५ अर्ब, नेपाल इन्भेस्टमेन्ट बैंकले ३ अर्ब ५० करोड, कर्मचारी संचयकोषले २ अर्ब, राष्ट्रिय बाणिज्य बैंकले २ अर्ब, हिमालयन बैंकले २ अर्ब लगानी गर्ने भएका छन् ।
सो आयोजनामा लक्ष्मी बैंकले १ अर्ब ८८ करोड २५ लाख, नेपाल एसबिआई बैंकले १ अर्ब, बैंक अफ काठमाण्डूले १ अर्ब तथा कृषि विकास बैंकले १ अर्ब गरी १९ अर्ब ६५ करोड २५ लाख रुपैयाँ लगानी गर्ने भएका हुन् । आयोजनाबाट २०७९ साउनसम्ममा उत्पादन सुुरु गर्ने योजना बनाइएको छ ।
सरकारको १० वर्षमा १० हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यलाई पूरा गर्न औद्योगिक समूहको तर्फबाट तीन ठूला आयोजनामा लगानी गरिएको दुगडले बताए ।
प्रतिक्रिया दिनुहोस