aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

धान धेरै फलेकै वर्ष चामल आयात पनि बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १८ पुस २०७७
धान धेरै फलेकै वर्ष चामल आयात पनि बढ्यो

काठमाडौं । यस वर्ष इतिहासमै बढी धान फलेको छ । मौद्रिक मूल्यमा यस वर्ष करीब १ खर्ब ५७ अर्ब मूल्य बराबरको धान उत्पादन भएको हो । यो वर्ष उत्पादन परिमाणमा ५६ लाख २१ हजार ७१० मेट्रिक टन धानफलेको छ । जुन गत वर्ष भन्दा ७० हजार ८३१ टन धेरै हो । हरेक वर्ष ५० लाख मेट्रिक टनभन्दा बढी नै धानफल्ने गरेको छ ।

 वार्षिक ३० अर्बभन्दा बढीको चामल आयात हुने गरेको छ । साउनयता चालु आर्थिक वर्षको पहिलो ५ महिनामा १७ अर्ब ९१ करोड रुपैयाँभन्दा बढीको चामल आयात भइसकेको छ । यो अवधिमा भएको चामल आयात अहिलेसम्मकै धेरै हो । अघिल्ला वर्षहरूमा यो अवधिमा मुस्किलले १२ अर्ब रुपैयाँसम्मको चामल आयात हुने गरेको थियो ।  यहि तथ्यांक लाई आधार मान्दा चालु आवको बाँकी महिनामा कम्तीमा पनि ३५ अर्बभन्दा बढीको चामल  आयात हुने देखिएको छ । 

नेपालीको भान्छामा भातको माग बढेसँगै हरेक वर्ष विदेशबाट धान–चामलको आयात बढ्दो छ । गत आर्थिक वर्ष २०७६÷७७ मा विदेशबाट ३३ अर्ब ६५ करोडको चामल नोपल भित्रियो। यो वर्ष नेपालमा इतिहासमै धेरै धानफले पनि अब के चामल आयातबाट अर्बौ रुपैयाँ बाहिरिदैन ? के  उसो भए अब नेपालले अब विदेशबाट चामल आयात गर्नु  पर्दैन त ?

चामल आयात बढ्नुको प्रमुख कारण नेपाली भात खाने प्रवृत्ति बढनु भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. योगेन्द्र कुमार कार्की बताउँछन् । ‘भातको स्थानमा अन्य खानाको विकल्प नरोज्दा वर्षिनै चामलको आयात बढेको हो,’ उनले भने कोभिड–१९ प्रकोपका कारण अधिकांश नेपाली स्वदेशमै बसेका छन् ।’ कोदो, फापर, मकै, गहुँ सबै किसिमका खाद्यान्न उपभोग नगर्नु, तथा नेपालीहरुको भात खानैपर्ने बानीका कारण चामलको आयात बढेको बताउँछन् । 

यदि धान रोपाईँ बेला समयमै कृषकहरूलाई रासायनिक मल उपलब्ध हुन सकेको भए ६० लाख मेट्रिक टन धान फल्ने अनुमान कृषि विज्ञहरूले गरेका छन् । यो वर्ष मल भदौमा समेत आइपुगेन र कृषकहरूले धानमा रासायनिक मलमा पनि उत्पादकत्व बढाउन युरिया मल हाल्न पाएनन् ।  

गतवर्ष असार पहिलो साता भित्रिएको मनसुनी वर्षा यस वर्ष जेठ अन्तिमबाटै शुरु भएको थियो । गत सालको मनसुन अवधिका तुलनामा यो वर्ष ३१ प्रतिशत बढी वर्षा भएका कारण धान रोपार्इँ छिटो र बढी क्षेत्रफलमा हुन सकेको थियो । छिटो धान रोपाईँ हुँदा उत्पादन बढ्ने हो । 

यद्यपि कृषकहरूले समयमैं मनसुनी वर्षा शुरु भएकाले गतवर्षको भन्दा करीब एक तिहाई बढी वर्षा भएको, करीब १ प्रतिशत बढी खेतमा रोपाई बढेकोे तथा देशमा रसायनिक मलको अभाव भएपनि धान उत्पादनमा ७० प्रतिशत योगदान रहेका तराईका जिल्लामा भारतबाट युरिया मल ल्याएर किसानले प्रयोग गरेका कारण धान उत्पादन बढेको कृषि मन्त्रालयले जनाएको छ । 

कुन वर्ष कति उत्पादन भयो धान ?

आर्थिक वर्ष    धान उत्पादन (मेट्रिक टन)
२०७७/७८    ५६ लाख २१ हजार ७१० 
२०७६/७७    ५५ लाख ५० हजार ८७८
२०७५/७६    ५६ लाख १० हजार ०११
२०७४/७५    ५१ लाख ५१ हजार ९२५
२०७३/७४    ५२ लाख ३० हजार ३२७

यसका अलावा गुणस्तरीय उन्नत बीउको प्रयोगले धान उत्पादन बढाएको मन्त्रालयले दाबी गरेको छ । मन्त्रालयकाअनुसार, यो वर्ष धानको उत्पादकत्व ३.८२ टन प्रति हेक्टर पुगेको छ । जुन अहिलेसम्मकै उच्च हो ।

 गतवर्ष धानको उत्पादकत्व प्रति हेक्टर उत्पादकत्व ३.८० टन थियो । साथै धानका बीउ प्रतिस्थापन दर पनि बढ्दै गएको छ । आर्थिक वर्ष २०७३÷७४ मा १४.५ रहेको बीउप्रतिस्थापन दर यो वर्ष २३.४२ प्रतिशत पुगेको मन्त्रालयले जनाएको छ । यस वर्ष १४ लाख ७३ हजार क्षेत्रफलमा रोपाईँ भएको थियो, गतवर्षको तुलनामा करीब १४ हजार हेक्टर धेरै हो । 

धान उत्पादन बढेपनि नेपालीको बानी व्यहोरामा परिवर्तन नभएसम्म चामल आयात भइनै रहने मन्त्रालयले दावी गरेको छ । चामल आयात नगर्नका लागि नेृपालीको भातै खाने बानीमा परिवर्तन गर्नुपर्ने मन्त्रालयले बताएको छ । 

यो वर्ष सबैभन्दा धेरै प्रदेश नम्बर २ मा १४ लाख ३२ हजार टन धानफलेको थियो । त्यसपछिप्रदेश नम्बर १ मा १२ लाख७५ हजार टन धानफलेको थियो । सबैभन्दाथोरै कर्णालीप्रदेशमा १ लाख ३७हजार टन धानफलेको थियो । 

प्रतिक्रिया दिनुहोस