aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

ढल्केबर सबस्टेसनको क्षमता बढ्यो, तामाकोशीको विद्युत पनि निर्यात गर्न सकिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० पुस २०७७
ढल्केबर सबस्टेसनको क्षमता बढ्यो, तामाकोशीको विद्युत पनि निर्यात गर्न सकिने

काठमाडौं । देशकै ठूलो ढल्केबर सबस्टेसनको थप क्षमता बढाइएको छ । नेपाल विद्युत प्राधिकरणले सरकारको लगानीमा ग्रिड सबस्टेसन  क्षमता अभिबृद्धि आयोजनाअन्तर्गत धनुषामा रहेको ढल्केबरमा २२० र १३२, ३१५ एमभीए क्षमताको पावर ट्रान्सफर्मर थप गरेको हो । प्राधिकरणका कायम मुकायम (कामु) कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सबस्टेसनमा जडान गरिएको ३१५ एमभीएको थप पावर ट्रान्सफर्मरको आइतबार राति साढे १० बजे चार्ज गरेको जानकारी दिए ।   

सबस्टेसनमा २२०  र १३२ केभीका दुईवटा ट्रान्सफर्मर सञ्चालनमा छन् । जसको क्षमता ३२० एमभीए छ । अब सबस्टेसनको क्षमता ६३५ एमभीए पुगेको छ । ग्रिड सबस्टेसन  क्षमता अभिबृद्धि आयोजनाअन्तर्गत ढल्केबरमा जडान गर्न लागिएको  ३१५एमभीएका दुईवटा ट्रान्सफर्मरमध्ये एउटा चार्च गरिएको हो । बाँकी एउटा ट्रान्सफर्मरको जडान भइरहेको छ । 


‘३१५ एमभीएको ट्रान्सफर्मर चार्ज भएसँगै अब जाडोमा भारतबाट थप करिब एक सय मेगावाट विद्युत् आयात गरी देशभित्रको विद्युत् माग धान्न सकिने प्राधिकरणले जानकारी गराएको छ । यतिमात्र होइन ४५६ मेगावाटको माथिल्लो तामाकोसी आएपछि आन्तरिक रुपमा खपत हुन नसकेको विद्युत् निर्यात गर्न पूर्वाधार तयार भएको समेत शाक्यले जानकारी दिएका छन् । केही महिना अघि संचालनमा आएको ४०० र २२० केभी ढल्केबर सबस्टेसनमा ३१५ एमभीए क्षमताका तीन वटा गरी ९४५ एमभीए क्षमताको पावर ट्रान्सफर्मर छन्, जसले करिब नौ सय मेगावाट विद्युत्लाई प्रसारण गर्न सक्दछन् । 

प्राधिकरण प्रसारण निर्देशनालयका प्रमुख दीर्घायुकुमार श्रेष्ठले अब आवश्यक परेमा ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनमार्फत भारतीय पक्षसँग भएको सम्झौता अनुसार थप करिब एक सय मेगावाट विद्युत् आयात गर्न सकिने बताए । 

अहिले हाम्रो संरचनाले नधान्ने हुँदा त्यहाँबाट करिब २७० देखि २८० मेगावाट विद्युत् आयात भइरहेको थियो । भारतीय पक्षले ढल्केबर(मुजफ्फपुर प्रसारण लाइनमार्फत थप एक सय मेगावाट विद्युत् दिन सकिने बताएको छ । ‘अब ३१५ एमभीएको ट्रान्सफर्मर चार्ज भएकाले आवश्यक परेमा थप विद्युत् ल्याउन सकिन्छ’, श्रेष्ठले भने । 

प्राधिकरण र भारतीय कम्पनी एनटिपिसी विद्युत निगम लिमिटेड(एनभीभीएन)बीच ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनमार्फत जुलाई–नोभेम्बरमा २५० मेगावाटसम्म, डिसेम्बर–अप्रिलमा ३५० मेगावाटसम्म र मे–जुनमा २०० मेगावाटसम्म विद्युत खरिद बिक्री (पीपीए) सम्झौता भएको छ ।

पीपीएको म्याद ३० जुन २०२१ सम्म रहेको छ । ढल्केबर–मुजफ्फपुर प्रसारण लाइन ४०० केभीमा चार्ज भइसकेको छ । नेपालभित्र विद्युत् प्रवाहका लागि ४०० केभी र २२० केभीको संरचना तयार भइनसकेकाले ४०० केभी प्रसारण लाइनबाट भारतबाट आएको विद्युतलाई १३२मा कन्भर्ट गरी प्रवाह गरिरहेको छ । 

हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन निर्माणाधीन छ भने खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाइन १३२ केभीमा मात्रै संचालनमा छ । खिम्ती–ढल्केबरलाई २२० केभीमा छिट्टै चार्ज गर्ने गरी काम भइरहेको छ ।

 ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको विद्युत् यही प्रसारण लाइनमार्फत ढल्केबर पुर्याइने छ । आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा सहज रुपमा प्रवाह गर्न र मुलुकभित्र खपत हुन नसकेको विद्युत् भारत निर्यात गर्न सकिने छ । 
 

प्रतिक्रिया दिनुहोस