
काठमाडौं । नेपाल इन्फ्रास्ट्रकचर बैंकले माघ २ गतेदेखि सर्बसाधरणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । बैंकका डेपुटी सिइओ भुपेन्द्र पाण्डेले २ गतेदेखि आईपिओ निष्काशन गर्ने गरि मंगलबार आह्वान पत्र प्रकाशित गर्ने भएको जानकारी दिएका हुन् ।
सिइओ पाण्डेका अनुसार बैंकले एक सय रुपैयाँ अंकित दरका ८ करोड कित्ता शेयर अर्थात ८ अर्ब बराबरको आईपीओ निष्काशन गर्ने छ। कुल आईपिओको ५ प्रतिशत सामुहिक लगानी कोषको लागि छुट्याईएको छ भने कर्मचारीलाई ०.०२ प्रतिशत शेयर छुट्याईएको छ। बाँकि रहेको शेयर सर्बसाधारणको लागि निष्काशन हुनेछ । आईपीओ निष्काशनको लागि एनआइबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।
कम्पनीले हालसम्मकै सर्वाधिक ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आईपीओ विक्री गर्न लागेको हो । प्रतिशेयर एक सय रुपैयाँ अंकित दरको यो आईपीओ छिटोमा माघ ६ गते र ढिलोमा माघ १६ गतेसम्म विक्रीको मिति तय गरिएको छ ।
कम्पनीले आईपीओ विक्रीका लागि पुस २१ गते आव्हान पत्र सार्वजनिक गर्दैछ । बैंकले उक्त आईपीओ विक्रीको अनुमति माग्दै मंसिर ८ गते बोर्डमा निवेदन दिएकोमा पुस १० गते अनुमति पाएको हो । अधिकत पूँजी ४० अर्ब रुपैयाँ र जारी पूँजी २० अर्ब रुपैयाँ रहेको बैंकको हाल चुक्तापूँजी १२ अर्ब रुपैयाँ रहेको छ । संस्थापकतर्फ कम्पनीमा हाल ६० प्रतिशत शेयर स्वामित्व कायम रहेको छ ।
कम्पनीले सर्वसाधारणमा जारी पूँजीको ४० प्रतिशत हिस्सा शेयर विक्री गर्न लागेको हो । सर्वसाधारणमा आईपीओ बाँडफाँट पश्चात जारी पूँजी बराबरको रकम कायम हुनेछ । कम्पनीको आईपीओ विक्री प्रबन्धकको जिम्मेवारी भने एनआईबिएल एस क्यापिटल लिमिटेडले रहेको छ भने प्रत्याभूतिकर्ता नागरिक लगानीकोष रहेको छ ।
देशभित्र र बाहिरबाट लगानीको दिर्घकालिन स्रोत संकलन गरी देशको पूर्वाधकार विकासका परियोजनामा मात्र लगानी गर्ने उदेश्य सहित यस बैंकको स्थापना भएको हो । नेपाल राष्ट्र बैंकबाट २०७५ साल माघ २८ गते राष्ट्रिय स्तरको पूर्वाधार विकास बैंकको रुपमा काम गर्ने स्वीकृति पाएको कम्पनीले २०७५ फागुन २२ गतेदेखिनै औपचारिक रुपमा बैंकिङ व्यवसाय सुरु गरेको हो । यो बैंक नेपालको पहिलो पूर्वाधार विकास बैंक हो । यस बैंकमा नेपाल सरकारको समेत लगानी रहेको छ ।
धितोपत्र प्राथमिक बजारमा हालसम्मको ऐतिहासिक रेकर्ड कायम गर्दै प्रभु लाइफको आईपीओमा १० लाख ९२ हजारभन्दा बढीले आवेदन दिएका थिए । हालसम्मकै ठुलो संख्यामा आईपीओ विक्री गर्न लागेको यस कम्पनीमा पनि ११ लाखभन्दा बढीको आवेदन पर्ने अनुमान गरिएको छ । यस कम्पनीको आईपीओ भने सबै आवेदकले पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस