aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

कुन हाइड्रोपावरले कति दिँदैछन् शेयरधनीलाई लाभांश ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ पुस २०७७
कुन हाइड्रोपावरले कति दिँदैछन् शेयरधनीलाई लाभांश ?

काठमाडौं । धेरै जसो बैंक तथा वित्तिय संस्थाले आफ्ना शेयरधनीलाई धमाधम लाभांश दिइरहेका बेला हाइड्रोपावर कम्पनीले पनि लाभांश घोषणा गरिरहेका छन् । गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्न लागेका हुन् । हालसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत भएका विभिन्न १२ वटा हाइड्रोपावरहरूले आर्थिक वर्ष २०७६/७७ बाट कम्पनीका शेयरधनीहरूलाई प्रदान गरिने लाभांशको घोषणा गरिसकेका छन् । लाभांश घोषणा गरेका ५ वटा कम्पनीको लाभांश साधारण सभाबाट समेत पारित भइसकेको छ । अन्यको साधारण सभाबाट पारित भएपश्चात उक्त लाभांश शेयरधनीहरूलाई वितरण गरिनेछ ।

लाभांश घोषण गर्नेमा अपि पावर कम्पनीले आर्थिक वर्ष २०७६/७७ को खुद मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ९ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ भने चिलिमे जलविद्युत कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिसकेको छ । 

त्यस्तै, बुटवल पावर कम्पनी लिमिटेड आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद गरि कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ भने सानिमा माई हाइड्रोपावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई  १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

यस्तै, बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ५ प्रतिशत बोनस शेयर र ०.२६३ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल ५.२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ भने युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई कर सहित ५.२६३ प्रतिशतले हुन आउने ६ करोड ५ लाख २६ हजार ३ सय १५ रुपैयाँ ८ पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

त्यसैगरि, ङादी ग्रुप पावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर तथा कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ भने अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले शेयरधनीहरूलाई ५ प्रतिशत बोनस शेयर र ०.२६३ प्रतिशत (कर प्रयोजनका लागि) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिसकेको छ ।

यसैगरि, अरुण काबेली पावर कम्पनी लिमिटेडले शेयरधनीहरूलाई ५.७१ प्रतिशत बोनस शेयर र ०.२९ प्रतिशत नगद, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६३१ प्रतिशत नगद, सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल ५ प्रतिशत र छ्याङदी हाइड्रोपावर कम्पनीले शेयरधनीहरूलाई ५ प्रतिशत बोनस शेयर र ०.२६ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  

प्रतिक्रिया दिनुहोस