
काठमाडौं । नेपालको सबैभन्दा महत्वपूर्ण बाली हो, धान । दुईतिहाइ भन्दा अधिक किसानको आजीविका र आम्दानीको प्राथमिक स्रोत पनि हो । यस वर्ष नेपालमा धान उत्पादन हालसम्मकै उच्च भएको छ । धान उत्पादन बढेपनि चामल आयात भने घटेको छैन । उत्पादन र आयातको तथ्यांकले धानमा आत्मनिर्भर हुन अझै समय लाग्ने देखाउँछ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार हालसम्म कै उच्च धान उत्पादन भए पनि आत्मनिर्भर हुन अझै १० लाख टन अपुग रहेको देखिएको छ । आर्थिक वर्ष २०७७/७८ मा ५६ लाख २१ हजार ७ सय १० टन धान उत्पादन भएको छ । अघिल्लो वर्ष ५५ लाख ५० हजार ८ सय ७८ टन धान उत्पादन भएको थियो ।
उत्पादन ७० हजार ८ सय ३२ टनले बढे पनि आयात भने घटेको छैन । चालु आर्थिक वर्षको पहिलो चार महिनामै ३ लाख ४६ हजार १ सय ६१ टन आयात भएको भन्सार विभागको तथ्यांक छ । यसरी तथ्यांक हेर्दा वार्षिक १० लाख टन अपुग हुने देखिन्छ ।
गत वर्षको तुलनामा रोपाइँको क्षेत्रफल १४ हजार ५ सय ५९ हेक्टर वृद्धि भयो । आर्थिक वर्ष २०७६÷७७ मा १४ लाख ५८ हजार ९ सय १५ हेक्टरमा रोपाइँ भएकामा आर्थिक वर्ष २०७७/७८ मा १४ लाख ७३ हजार ४ सय ७४ हेक्टरमा रोपाइँ भएको छ । बढी क्षेत्रफलमा रोपाइँ हुनुका साथै धानबालीमा तथ्यांकीय हिसाबमा उन्नत बीउले ९५ प्रतिशतभन्दा बढी क्षेत्रफल ढाकेको थियो ।
मन्त्रालयका अनुसार धानको उत्पादकत्व गत वर्षको तुलनामा ०.२८ प्रतिशत बढेर ३.८२ पुगेको छ । यस वर्ष धानको उत्पादकत्व हालसम्मकै उच्च हो । विगत पाँच वर्षको धान उत्पादन विश्लेषण गर्दा आर्थिक वर्ष २०७३/७४ को तुलनामा यो वर्ष उत्पादन करिब ७.४८ प्रतिशत बढेको छ । सोही आर्थिक वर्षको उत्पादकत्वको तुलनामा चालु आर्थिक वर्षको उत्पादकत्व १३.२५ प्रतिशत बढेको छ ।
मन्त्रालयका अनुसार सबैभन्दा बढी प्रदेश २ मा उत्पादन भएको छ । जहाँ ३ लाख ८२ हजार २ सय ७५ हेक्टर रोपाइँ भएकामा १४ लाख २० हजार ४ सय ३६ टन उत्पादन भएको छ । दोस्रोमा प्रदेश १ मा १२ लाख ७५ हजार ५ सय ५४ टन उत्पादन भएको छ । प्रदेश १ मा ३ लाख ३० हजार ४ सय ३८ हेक्टरमा रोपाइँ भएको थियो । प्रदेश १ र २ मा उत्पादनसँगै रोपाइँ भएको क्षेत्रफल पनि बढेको छ ।
त्यस्तै, वाग्मती प्रदेशमा रोपाइँको क्षेत्रफल बढे पनि उत्पादन भने घटेको छ । गत वर्ष ५ लाख १० हजार २ सय १ टन उत्पादन भएको धान यस वर्ष ५ लाख ९ हजार ५ सय ९० टन मात्रै उत्पादन भएको मन्त्रालयले जनाएको छ ।
त्यसैगरि, गत वर्ष गण्डकीमा ४ लाख ८ हजार ७ सय ३७ टन उत्पादन भएको धान अहिले ३ लाख ९७ हजार ९४ टन फलेको छ । लुम्बिनी प्रदेशमा भने क्षेत्रफलसँगै उत्पादन पनि बढेको छ । लुम्बिनीमा १२ लाख २४ हजार ४ सय ९७ टन उत्पादन भएको छ । कर्णालीमा १ लाख ३७ हजार १ सय ६५ टन, सुदूरपश्चिममा ६ लाख ४४ हजार ९ सय ९१ टन उत्पादन भएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस