
काठमाडौं । लाभांश घोषणा गरिएका कम्पनीको शेयरमा लगानीकर्ताहरुको भीड जम्मा हुने गर्दछ । जुन जुन कम्पनीले नगद वा शेयरमा लाभांश वितरणको घोषणा गर्छन, ती कम्पनीहरु वित्तयरुपमा दरिला, परिपक्व र भरपर्दा मानिन्छन् । हामी सबैले शेयर किन्दा जुन कम्पनीले बढी प्रतिफल दिन्छ त्यो कम्पनीको नै शेयर किन्ने गछौं । साधारणतया प्रतिफलका २ प्रकार छन् । पहिलो कम्पनीले प्रत्येक वर्ष लाभांशमार्फत् दिने प्रतिफल । र, दोस्रो सेकेन्डरी मार्केटमा सर्ट टर्म कारोबार गर्दा हुने प्रतिफल ।
शेयर लगानीकर्ताका लागि पहिलो रोजाईको कम्पनीले प्रत्येक वर्ष दिने लाभांश । किनभने बढी लाभांश दिने कम्पनीमा लगानी गरेर ढुक्कले बस्ने हो भने बोनस शेयरमार्फत् आफ्नो स्वामित्व र सम्पत्ति पनि बढिरहन्छ । र, वर्षेनि नगद पनि आइरहन्छ । वास्तविक प्रतिफल पनि यही हो । कुनै पनि सूचिकृत कम्पनीले आफ्नो वित्तीय विवरण सार्वजनिक गर्दा हामी सबैको ध्यान नाफातिरै जान्छ । किनभने कम्पनीले जति धेरै नाफा कमायो तपाईं हामीले त्यति नै धेरै लाभांश पाउँछौं ।
यहाँ हामीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई सबैभन्दा धेरै लाभांश घोषणा गर्ने कम्पनीहरुको चर्चा गर्न गइरहेका छौं । शेयर बजारमा सूचीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गरिरहेका बेला शेयरधनिलाई सर्वाधिक लाभांश दिने कम्पनीहरु हामीले यहाँ उल्लेख गरेका छौं ।
नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ३३.५ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि १.७६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश पौष २९ गते, बुधबार, बैंकको केन्द्रिय कार्यालय, दरबारमार्ग, काठमाडौँमा हुने बैंकको ३६औं वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पौष १५ गते बुकक्लोज गरेको छ ।
त्यस्तै, हिमालयन डिष्टिलरी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ५० प्रतिशत बोनस शेयर र कर सहित ५० प्रतिशत नगद गरि कुल १०० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश पौष २९ गते, बुधबार, कम्पनीको केन्द्रिय कार्यालय, पर्सामा हुने बीसौँ वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पौष १७ गते एक दिन बुकक्लोज गरेको छ ।
यस्तै, युनिलिभर नेपाल लिमिटेडले शेयरधनीहरूलाई प्रति शेयर १०० रुपैयाँको दरले लाभांश वितरण गरेको छ भने वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको ३० प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश पौष २८ गते मंगलबार हुन लागेको नवौँ वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ ।
त्यसैगरि, छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको २२ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल २९ प्रतिशत लाभांश वितरण गरेको छ भने शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयरधनीहरूलाई हाल कायम रहेको चुक्ता पूँजीको २७.७६९ प्रतिशत बोनस शेयर र १.४६२ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल २९.२३१ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।
यसैगरि, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले हाल कायम चुक्ता पुँजीको २७.४७ प्रतिशत बोनस शेयर र १.४५ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल २८.९२ प्रतिशत, समता लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरूलाई २० प्रतिशत बोनस र ६.३२ प्रतिशत नगद गरी कुल २६.३२ प्रतिशत, मञ्जुश्री फाइनान्स लिमिटेडले १८ प्रतिशत बोनस शेयर र ५.५ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल २३.५० प्रतिशत, साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले २५ प्रतिशत बोनस शेयर र १.३१५७८९४७४ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल २६.३१५७८९४७४ प्रतिशत, बुटवल पावर कम्पनी लिमिटेडले १० प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद गरि कुल २५ प्रतिशत लाभांश वितरण गरेको छ ।
यस्तै, शिवम सिमेन्ट लिमिटेडले २४.२१ प्रतिशतले हुन आउने १ अर्ब ६ करोड ५२ लाख ४० हजार रुपैयाँ बराबरको नगद, लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र ८.१६ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल २३.१६ प्रतिशत, स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडल हाल कायम चुक्ता पुँजीको १९.५० प्रतिशत बोनस शेयर र १.०३ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल २०.५३ प्रतिशत, एनआईसी एशिया बैंक लिमिटेडले १९ प्रतिशत बोनश शेयर र १ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल २० प्रतिशत, आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ प्रतिशत बोनस र ५ प्रतिशत नगद (कर सहित) गरी कुल २० प्रतिशत, एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरूलाई १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल २० प्रतिशत नगद लाभांश वितरण गरेको छ ।
यसैगरि, हिमालयन बैंक लिमिटेडले १४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद गरी कुल २० प्रतिशत, चिलिमे जलविद्युत कम्पनी लिमिटेडले १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल २० प्रतिशत, विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल २० प्रतिशत, साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल २० प्रतिशत, स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल २० प्रतिशत लाभांश वितरण गरेको छ ।
प्रतिक्रिया दिनुहोस