काठमाडौं । हिमालयन डिस्टिलरी लिमिटेड (एचडीएल)को २०औं वार्षिक साधारणसभाले शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको १०० प्रतिशत लाभांश पारित गरेको छ । कम्पनीले लगानीकर्तालाई ५० प्रतिशत नगद लाभांश र ५० प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको थियो । शुक्रबार वीरगंजको पटेलनगरस्थित उद्योग परिसरमा भएको साधारणसभाबाट उक्त लाभांश पारित गरेको हो ।
आव २०७६/७७ को वासलात पारित गर्दै साधारणसभाले नगद लाभांश र बोनस शेयर वितरण प्रस्ताव पारित गरेको छ । कम्पनीको गत वर्षको पुँजी ५७ करोड ८४ लाख ६८ हजार रुपैयाँ रहेकोमा साधारणसभाले १९ करोड २८ लाख रुपैयाँ बराबरको बोनस पारित गरेपछि यो ८६ करोड ७७ लाख रुपैयाँ पुगेको छ ।
आव २०७५/७६ मा कम्पनीले ५३ करोड रुपैयाँ खुद मुनाफा गरेको थियो । तर गत चैत ११ देखि असारसम्म लागेको लकडाउनका कारण कम्पनीको उत्पादन र बिक्री वितरण प्रभावित भएपछि खुद नाफा झन्डै ७ करोड घटेर गत आवमा ४६ करोड ६९ लाख मात्र भएको थियो ।
कम्पनीले कर्मचारीलाई खुद नाफाको १० प्रतिशत अर्थात् ६ करोड ९६ लाख रुपैयाँ बराबरको बोनस पाउने छन । बोनस ऐनअनुसार उक्त रकम सबै कर्मचारीलाई उनीहरुको तलब स्केलका आधारमा बाँडिनेछ ।
हिमालयन डिस्टिलरीले रोयल ट्रेजर, गोल्डेन ओक, ब्ल्याक ओक लगायत ब्रान्डमा मदिरा उत्पादन गर्दै आएको छ । अहिले नेपालमा मध्यम मूल्यका मदिरामध्ये गोल्डेन ओक सबैभन्दा बिक्री हुने ब्रान्ड हो ।
प्रतिक्रिया दिनुहोस