
काठमाडौं । आइतबार सूचीकृत दुई कम्पनीको शेयर कारोबार कम मूल्यदेखि खुला हुने भएको छ । नेशनल लाइफ इन्स्योरेन्स र तिनाउ मिसन डेभलपमेण्ट बैंकको कारोबार बुधवारको अन्तिम मूल्यको तुलनामा कम मूल्यमा खुला हुने भएको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले यी दुई कम्पनीको शेयरमूल्य बिहीबार समायोजन गरेको छ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको १० प्रतिशत बोनस र तिनाउ मिसन डेभलपमेण्टको ६ प्रतिशत बोनस शेयर प्रयोजनका लागि नेप्सेले मूल्य समायोजन गरेको हो ।
नेपाल लाइफको १० प्रतिशत बोनस पछिको मूल्य नेप्सेले रू. १ हजार ६४ तोकेको छ । नेप्सेले कम्पनीको बुधवार कायम अन्तिम मूल्य रू. १ हजार १७० लाई आधार बनाएर मूल्य समायोजन गरेको हो । त्यस्तै तिनाउ मिसन डेभलपमेण्ट बैंकको ६ प्रतिशत बोनस पछिको मूल्य नेप्सेले रू. १८६ तोकेको छ ।
नेप्सेले बैंकको बुधवार कायम मूल्य रू. १९७ को आधारमा मूल्य समायोजन गरेको हो । यी दुबै कम्पनीले प्रस्तावित लाभांश र साधारण सभा प्रयोजनका लागि माघ २ गते बिहीवार एक दिन बुक क्लोज गरेका छन् । बुक क्लोजको आधारमा मूल्य समायोजन हुनुभन्दा अघिल्लो दिनसम्म कायम शेयरधनीहरु मात्र यी कम्पनीको लाभांश पाउन योग्य भएका छन् ।
नेशनल लाइफ इन्स्योरेन्सले बोनससँगै कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ भने प्राप्ती प्रकृया पुरा गरेको तिनाउ मिसनलाई करमा छुट हुने हुदाँ बोनस मात्र प्रस्ताव गरेको हो । यी दुबै कम्पनीले प्रस्तावित लाभांश माघ १५ गते बार्षिक साधारण सभा मार्फत पारित गराउनेछन् ।
प्रतिक्रिया दिनुहोस