aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

व्यावसायिक ड्रागन खेतीबाट राम्रो आम्दानी गर्दै कृषक

  • रासस
    रासस
  • आइतबार, ०४ माघ २०७७
व्यावसायिक ड्रागन खेतीबाट राम्रो आम्दानी गर्दै कृषक

भोजपुर । भोजपुर टेम्केमैयुङ गाउँपालिका–८ गोगने सल्लेनीका कृषक शम्भु नेपाल २२ वर्ष विराटनगरमा बिताएर गाउँ फर्केर व्यावसायिक खेतीमा लागेका हुन् । व्यवसाय गर्नका लागि विराटनगरमा रहेको घरलाई विक्री गरेर गाउँ आएको उनले बताए ।  

कृषक नेपालले अहिले आफ्नो पुर्खौली भूमिमा २२ रोपनी क्षेत्रफलमा ड्रागन फल र १८ रोपनी क्षेत्रफलमा कागतीको व्यावसायिक खेती गरिरहेका छन् । उनले एक हजार बोट कुरिलो, एभोकाडोलगायतका बिरुवासमेत लगाएका छन् । 

उनले दानाबोटे फलफूल तथा कृषि फार्ममा अहिले एक हजार ५०० बढी पिलरमा ड्रागन फल लगाएका छन् । दुई हजार ५०० पिलर पु¥याउने लक्ष्यका साथ खेतीलाई थप विस्तार गरिरहेको नेपालले बताए । उनले तीन वर्षअघिबाट भोजपुरमा पहिलो पटक ड्रागन फलको व्यावसायिक खेती गर्न थालेको बताए । अहिले उनको फर्ममा रहेको ड्रागनले फल दिन शुरु गरेको छ ।  

कृषक नेपालले भने, ‘म २२ वर्षपछि पुनः गाउँ फर्केर व्यावसायिक कृषिमा लागेको छु, अहिले मैले ४० रोपनी बढी क्षेत्रफलमा ड्रागन फलसँगै कागतीको व्यावसायिक खेती गरिरहेको छु, शुरुमा गाउँमा फर्केर आएर व्यावसायिकरुपमा खेती गर्दा यहाँका साथीले धेरैथरीका कुरा गरे, बौलायो भने पैसा धेर भएर यस्तो गर्दैछ भने तर अहिले मैले ड्रागनको खेती गरेको देखेर अन्य साथीले पनि खेती गर्दै आएका छन् ।’

उनले ड्रागन फलको खेतीका लागि मात्र हालसम्म १५ लाख बढी खर्च गरिसकेको बताए । गत वर्षबाट सामान्यरुपमा त्यसले फल दिन थालेको उनले बताए । उनले ड्रागन खेतीबाट वार्षिक ५० लाख आम्दानी लिने लक्ष्य राखेका छन् । उनले भारतबाट ड्रागनका बिरुवा ल्याएर खेती थालेको जानकारी दिए । 

उनले आफैँले पनि ड्रागनका बिरुवा उत्पादन थालेको समेत जानकारी दिए । ड्रागन फल लागेको ४५ दिनमा खान मिल्नेछ यसको मूल्य स्थानीय बजारमा रू। ७०० देखि रू। एक हजारसम्म रहेको उनले जानकारी दिए । 

गत वर्ष कागती विक्रीबाट रू। १० लाख आम्दानी गरेको उनले जानकारी दिए । कोभिडका कारण यस वर्ष भने विक्रीवितरणमा समस्या भएको उनको भनाइ छ । ‘गत वर्ष मैले १० लाख बराबरको कागती विक्री गरेँ, सोमध्ये तीन लाख बराबरको कागती स्थानीय बजारमा विक्री भयो, बाँकी काठमाडौं लगेर विक्री गरे, भोजपुरबाट आएको आर्गानिक कागती भनेपछि यसको काठमाडौंमा पनि बजार राम्रो छ ।’

व्यावसायिकरुपमा खेती गरिरहेको भए पनि राज्यकातर्फबाट सहयोग नपाएको नेपालले गुनासो गरे । उनले भने, ‘मैले खेती गरेको देखेर हौसला दिने धेरै छन्, खास सहयोग पाएको छैन, मैले बैंकबाट कृषि ऋण लिएर व्यवसाय थालेको हो, मैले पनि राज्यलाई केही दिन सकेको छैन, फर्मसम्म आउनका लागि सडक नहुँदा डोकामा बोकेर बस भएको ठाउँसम्म लैजाने गरेको छु, मैले राम्रो काम गर्न सके भने सरकारको तर्फबाट पनि सहयोग आउला भन्ने आशा छ, अहिले मेरो एक मात्र लक्ष्य भनेको वर्षिक रू। ५० लाख आम्दानी सुनिश्चित गर्ने नै हो ।’

प्रतिक्रिया दिनुहोस