
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आईपीओ खरिदका लागि आइतबारसम्म ८ लाख ५६ हजारले साढे १० अर्र्ब रुपैयाँभन्दा बढीको आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार बेलुका ६ बजेसम्म यी आवेदकहरूबाट १० करोड ५८ लाख ६ ७९हजार ६७० कित्ताका माग भएको हो ।
यस कम्पनीले माघ २ गतेदेखि हालसम्मकै सर्वाधिक ८ अर्ब बराबरको ८ करोड कित्तामध्य ७ करोड ५८ लाख ४० हजार कित्ता शेयर सार्वजनिक निष्कासन गरेको हो । कम्पनीले कुल कित्तामध्य ५ प्रतिशत दरले ४० लाख कित्ता सामूहिक लगानीकोषका लागि र शून्य दशमलव २ प्रतिशतका दरले १ लाख ६० हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ ।
सबै आवेदकको भागमा पर्ने निश्चित रहेको यो आईपीओ छिटोमा माघ ६ गते र ढिलोमा माघ १६ गतेसम्म विक्रीमा रहने मिति तोकिएपनि मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधिभित्रै विक्री बन्द हुने भएको छ । यो आईपीओ विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभूतिकर्ता नागरिक लगानीकोष रहेको छ ।
खरिद कर्ताहरुले विक्री प्रबन्धसँगै आस्बा सेवामा सहभागी सम्पुर्ण बैंक तथा वित्तीय संस्थाबाट र मेरो शेयर सफ्टवेयरसँगै मेरो शेयर एपबाट पनि आवेदन दिन सकिने व्यवस्था छ । कम्पनीको आईपीओलाई इक्रा नेपालले बैंकको वित्तीय अवस्था मध्यम रहेको संकेत गर्ने “इक्राएनपी आईआर त्रिपल बी” रेटिङ्ग प्रदान गरेको छ ।
अधिकत पूँजी ४० अर्ब रुपैयाँ र जारी पूँजी २० अर्ब रुपैयाँ रहेको बैंकको हाल चुक्तापूँजी १२ अर्ब रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस