aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

विद्युत महसुल नबुझाउने ग्राहकको काटियो लाइन

  • रासस
    रासस
  • मंगलबार, ०६ माघ २०७७
विद्युत महसुल नबुझाउने ग्राहकको काटियो लाइन

लहान । लामो समयदेखि विद्युत् महसुल नबुझाउने ९० जना ग्राहकको विद्युत् लाइन विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले काटेको छ । वक्यौता विद्युत् महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन अभियान शुरु गरेको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले करीब एक महिनाको अवधिमा ९० जना ग्राहकको लाइन काटेको हो । विद्युत् लाइन काटिएकामध्ये ६० जनाबाट ६० लाख ३५ हजार रुपैयाँ बक्यौता असूल भएको र बक्र्यौता रकम बुझाउनेको पुनः लाइन जडान गरिएको विद्युत प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख जीतेन्द्रकुमार यादवले जानकारी दिए । 
 
विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले ५० हजार रुपैयाँभन्दा बढी बक्यौता बाँकी रहेका २२० जना ग्राहकको सूची तयार गरेर विद्युत्  लाइन काट्न शुरु गरेको प्रमुख यादवले बताए । विद्युत्को बाँकी बक्यौता रकम समयमा नबुझाउने र पटकपटक समयमै विद्युत् महसुल बुझाउन आग्रह गर्दासमेत बेवास्ता गर्ने ग्राहकको विद्युत्  लाइन काट्न थालेको प्रमुख यादवको भनाइ छ । 

उनका अनुसार पहिलो चरणमा लामो समयदेखि बक्यौता रकम नबुझाउने तीन फेजका २२० जना ग्राहकको विद्युत्  लाइन काटिने र पछि थप ग्राहकको लाइन काटिने छ । ग्राहकबाट विद्युत्  महसुलबापत करिब ३० करोड रुपैयाँभन्दा बढी बक्यौता उठाउन बाँकी रहेको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले जनाएको छ । 

गार्हस्थ्य मिटरतर्फ १९ करोड १४ लाख ५१६ रुपैयाँ, व्यापारिक मिटरतर्फ रु ९९ लाख ७१ हजार ४३९, गैर व्यापारिक मिटरतर्फ रु एक करोड ५८ लाख  र औद्योगिक मिटरतर्फ रु चार करोड २६ लाख ३८ हजार ८३५ बक्यौता रकम उठाउन बाँकी रहेको प्रमुख यादवले बताए । विद्युत् प्राधिकरण वितरण केन्द्र लहानमा ४५ हजार ग्राहक रहेका छन् ।

प्रतिक्रिया दिनुहोस