
काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको आईपीओको शुक्रबार बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकालले शुक्रवारका लागि बाँडफाँट निश्चित भएको जानकारी दिएका हुन् ।
बुधवार साझ प्रि अलोटमेण्ट सम्पन्न भएकाले शुक्रवार बाँडफाँट गर्न लागिएको ढकालको भनाई छ । समय भने निर्धारण हुन बाँकी रहेको उनले जानकारी दिएका छन् ।
यस कम्पनीको आईपीओमा मागभन्दा १७ दशमलव ५७ गुणा बढी आवेदन परेको छ । १२ लाख ५१ हजार ९३८ जना आवेदकले २ करोड ४४ लाख २९ हजार ८४० कित्ता शेयर खरिदको लागि आवेदन दिएका हुन । कम्पनीले पुस २४ गतेदेखि २८ गतेसम्म सर्वसाधारणमा १३ लाख ९६ हजार २२ कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत विक्री गरेको हो ।
सर्वसाधारणका लागि छुट्याएको कुल १५ लाख ३४ हजार ९१ कित्ता आइपीओमध्य ६१ हजार ३६४ कित्ता कर्मचारीको लागि र ७६ हजार ७०५ कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरेको छ । यस कम्पनीको आईपीओमा मागभन्दा १७ गुणा बढी आवेदन परेकाले गोलाप्रथाद्वारा वितरण हुनेछ ।
योग्य आवेदकमध्य १ लाख ३९ हजार ६०२ जनाले १० कित्ताका दरले शेयर पाउनेछन् । बाँकी दुई कित्ता थप दुई जनाले एक एक कित्ताका दरले पाउनेछन् । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानियका लागि आईपीओ बाँडफाँट गरी दोस्रो चरणमा अन्य सर्वसाधारणका लागि विक्री गरेको हो । सर्वसाधारणलाई आईपीओ बाँडफाँट गरेपश्चात कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ५३ करोड ४० लाख ९१ हजार पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस