काठमाडौं । नेपाल र इजरायलबीच ‘इम्प्लिमेन्टेसन प्रोटोकल’ हस्ताक्षर भएको छ । नेपाल इजरायलबीच भएको अस्थायी रोजगारी सम्बन्धी सम्झौता’ कार्यान्वयन गर्न दुई देशका अधिकारीबीच आज हस्ताक्षर भएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज आयोजित कार्यक्रममा सरकारका तर्फबाट वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहाल र इजरायलका तर्फबाट नेपालका लागि इजरायली राजदूत खनान गोडेरले प्रोटोकलमा हस्ताक्षर गरे ।
हस्ताक्षर भएसँगै इजरायलको विशिष्ट श्रम बजारमा नेपाली युवाका लागि खुला भएको छ । सम्झौता अनुसार अब नेपालबाट ५ सय नेपाली युवा केयर गिभरका रुपमा इजरायल जानेछन् । ती युवाले इजरायली श्रम कानूनअनुसार सेवा सुविधा पाउने छन् । दुई देशबीचको सरकार–सरकार ( जी टू जी) बाट नेपालीहरू केयर गिभर क्षेत्रमा काम गर्न इजरायल जानेछन् । सहमति अनुसार इजरायलको नर्सिङ क्षेत्र (अस्पताल, नर्सिङ होम, दिवा स्याहार केन्द्रलगायत) मा नेपालीले रोजगारीको अवसर प्राप्त गर्ने मन्त्रालयले जनाएको छ ।
आम्दानी, सामाजिक सुरक्षा तथा रोजगारीजन्य श्रमिक स्वास्थ्य सुरक्षाका दृष्टिले इजरायल विश्वकै उत्कृष्ट मुलुकका रुपमा स्थापित भएको छ । र तनि वैदेशिक रोजगारीका लागि इजरायललाई आकर्षक गन्तव्यका रूपमा लिइन्छ । केही वर्षदेखि नेपाली कामदार लैजान बन्द गरेको इजरायलले पछिल्ला समय नेपाली श्रमिक लैजाने इच्छा जाहेर गर्दै आएको थियो । इजरायलले कृषि तथा केयर गिभरको क्षेत्रमा विदेशी कामदार लिँदै आएको छ ।
इजरायलमा केयर गिभरको सङ्ख्या बढी छ र नेपालीहरू पनि धेरै जसो केयर गिभरका रूपमै नै त्यहाँ जाने गरेको छन् । इजरायलमा करिब दुई हजार पाँच सयको सङ्ख्यामा नेपाली रहेका तेलअभिवस्थित नेपाली दूतावासले जनाएको छ । इजरायलको श्रम कानून निकै नै श्रमिकमैत्री भएकाले तुलनात्मक हिसाबले अन्य देशभन्दा कम समस्या आउने गरेको छ । सरकारी माध्यमबाट नेपाली श्रमिक इजरायल पठाउँदा पारदर्शी हुने गरी कार्यविधि तयार गरिएको श्रम मन्त्रालयले जनाएको छ ।
उक्त प्रोटोकलमा हस्ताक्षर भएसँगै नेपाल र इजरायलबीचको द्विपक्षीय सम्बन्धमा नयाँ आयाम थपिएको श्रममन्त्री गौरी शंकरले बताए । उनले दुई देशबीच कूटनीतिक सम्बन्धका साथै श्रम सम्बन्ध राम्रो हुने बताए । उनले केयर गिभर क्षेत्रमात्र नभई अन्य क्षेत्रमा पनि नेपाली युवालाई रोजगारीका अवसर प्रदान गर्न आग्रह गरे ।
मन्त्रालयका अनुसार इजरायलमा दक्ष र सीपयुक्त श्रमिक सरकारले पठाउने भएकाले यसलाई सकेसम्म व्यवस्थित र पारदर्शी बनाउने गरी कार्यविधि बनाएको छ । गत असोज १४ गते नेपाल र इजरायलबीच ‘इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौता’मा हस्ताक्षर भएको थियो ।
कार्यक्रममा विभागका महानिर्देशक दाहालले दुई देशको सरकारी तहबाट नै श्रमिक आदानप्रदान गर्ने गरी गरिएको सम्झौता कार्यान्वयनका लागि विभागले अनलाइनमार्फत आवेदन दिने प्रक्रियालाई पारदर्शी रूपमा अवलम्बन गर्ने बताए । सम्झौता कार्यान्वयनका लागि विभागले आवश्यक अन्य तयारीहरु पनि शुरु गर्ने जानकारी दिँदै उनले सहजीकरणका लागि विभागमा डेडिकेटेड टोली खटाइने बताए ।
इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्यले आफू राजदूतका रूपमा इजरायल पुगेदेखि नै त्यहाँको श्रम बजार नेपालीका लागि खुला गर्न लागिपरेको र आज सफलता मिलेको बताइन् । विदेशी श्रमिकका लागि इजरायल आकर्षक गन्तव्यका रुपमा रहेको उल्लेख गर्दै इजरायलमा सम्मानका साथ नेपालीले काम गर्न पाउने बताए । उनले पटक पटकको छलफलपछि इजरायलमा नेपालीलाई केयर गिभरका रूपमा रोजगारीमा लैजान सक्ने वातावरण बनेको जानकारी दिइन् ।
नेपालका लागि इजरायली राजदूत गोडेरले नेपाली युवायुवतीले इजरायली नागरिकसरह सेवा सुविधा तथा पारिश्रमिक पाउने बताएका थिए । लामो समयदेखि रोकिएको नेपाली श्रमिक इजरायल जाने प्रक्रियाले निरन्तरता पाउने लागेको र कोभिड–१९ को महामारीका बीचमा पनि दुवै देशका सरकारी अधिकारीले लगागतरको प्रयासबाट मात्रै प्रोटोकलमा हस्ताक्षर गर्ने अवस्थामा पुगिएको बताए ।
प्रतिक्रिया दिनुहोस