
काठमाडौं । शुक्रवारदेखि विक्रीमा आएको सानिमा लार्ज क्याप फण्डको इकाईमा पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको छ । विक्री प्रबन्धक सानिमा क्यापिटलले दिएको जानकारी अनुसार शुक्रवारसम्म ८ हजार ७६१ आवेदकबाट १९ करोड ५६ लाख ३७ हजार ३०० इकाई खरिदको लागि आवेदन परेको हो ।
सानिमा क्यापिटलको व्यवस्थापनका सञ्चालन हुने यस फण्डले रू. १ अर्ब बराबरको १० करोड इकाई विक्री खुला गरेको हो । शुक्रवारनै २ गुणा बढी आवेदन परेको विक्री प्रबन्धकले जानकारी दिएको छ ।
प्रति इकाई रू. १० अंकित दरको कुल इकाईमध्य यस फण्डले १५ प्रतिशत इकाई कोष प्रबन्धक सानिमा बैंक र कोष व्यवस्थापक सानिमा क्यापिटलका लागि सुरक्षित राखी बाँकी ८ करोड ५० लाख कित्ता सर्वसाधारणमा सार्वजनिक निष्कासन गरेको हो ।
छिटोमा माघ १३ र ढिलोमा माघ २६ गतेसम्म विक्री खुला हुने मिति तय भएपनि मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधिभित्रै विक्री बन्द हुनेछ । यो इकाई खरिदका लागि न्यूनतम १०० कित्तादेखि अधिकतम १ करोड कित्तासम्म खरिदको माग गर्न सकिनेछ ।
सानिमा क्यापिटलले सञ्चालन गर्न लागेको यो योजना बन्द मुखि योजना हो । इकाई बाँडफाँट भएको मितिले सात वर्षमा यो योजना परिपक्क हुनेछ । इकाई खरिदको लागि आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयसँगै मेरो शेयर सफ्टवेयर र मेरो शेयर एपबाट आवेदन दिन सकिनेछ ।
प्रतिक्रिया दिनुहोस