
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य समायोजन पछि पनि ९ दशमलव ९९ प्रतिशतले बढेको छ । कम्पनीको ३१ प्रतिशत बोनस शेयर प्रयोजनका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बुधवार मूल्य समायोजन गरेको थियो ।
नेप्सेले कम्पनीको ३१ प्रतिशत बोनस शेयर प्रयोजनका लागि समायोजनपछिको मूल्य प्रतिकित्ता रू. २ हजार १९२ तोकेको हो । नेप्सेले कम्पनीको मंगलवार कायम अन्तिम शेयरमूल्य रू. १ हजार ८७२ को आधारमा मूल्य समायोजन गरेको हो । बुधवार बजार बन्द हुदाँ कम्पनीको अन्तिम मूल्य प्रतिकित्ता रू. २१९ ले बढेर रू. २ हजार ४११ पुगेको छ ।
नेपाल लाइफले यस वर्ष कुल ५१ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बोनस सँगै कर प्रयोजन समेतका लागि २० प्रतिशत नगद लाभांशको प्रस्ताव समेत कम्पनीले गरेको हो । प्रस्तावित लाभांश सहित विविध प्रस्ताव पारित गर्न कम्पनीले माघ २८ गते २०औं वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा प्रयोजनका लागि माघ १४ देखि २८ गतेसम्म बुक कलोज गरेको छ । बुक क्लोजको आधारमा नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । समायोजनपछिको कारोबारका शेयरमा भने प्रस्तावित लाभांश लागू हुने छैन् ।
जीवन बीमा कम्पनीहरुमध्यकै सर्वाधिक रू. ५ अर्ब ५० करोड चुक्तापूँजी भएको यस कम्पनीले नेपालको इतिहासमै शेयर खण्डिकरणको प्रस्ताव पनि गरेको छ । कम्पनीले हाल कायम प्रतिशेयर मूल्य रू. १०० लाई घटाएर रू. ५० कायम गर्ने प्रस्ताव सभाका लागि तय गरेको हो ।
उक्त प्रस्तावको आधारमा कम्पनीको शेयरसंख्या दोब्बर हुनेछ । कम्पनीले प्रस्ताव गरेको बोनस शेयरपश्चात रू. ७ अर्ब १९ करोड चुक्तापूँजी पुग्नेछ । बोनस पश्चात कम्पनीको शेयर कित्ता ७ करोड १९ लाख पुग्नेछ ।
कम्पनीको प्रस्तावित शेयर खण्डिकरण प्रकृयाले पूर्णता पाए यो संख्या १४ करोड ३८ लाख हुनेछ । कम्पनीले दोस्रो बजारमा सबै लगानीकर्ताको खरिद पहुँच पु¥याउने उदेश्यले शेयर खण्डिकरण गर्न लागेको जानकारी दिएको छ । चुक्तापूँजी र बजार पूँजीकरणमा कुनै असर नपर्ने गरी कम्पनीले शेयर खण्डिकरण गर्न लागेको जानकारी दिएको हो ।
प्रतिक्रिया दिनुहोस