
काठमाडौं । सिभिल बैंकले फागुन ९ गते दशौं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको माघ १५ गतेको सञ्चालन समितिको बैठकले केन्द्रिय कार्यालय सुन्धारा, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष २०७६/७७ को संचित मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४२ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । हाल बैंकको चुक्तापूँजी रू. ८ अर्ब ३३ लाख ८९ हजार रहेको छ । सोही पूँजीको आधारमा बैंकले लाभांश वितरणको प्रस्ताव गरेको हो ।
लाभांशसँगै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित, चालू आवको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणका साथै प्रबन्धपत्र तथा नियमावलीमा समसामयिक संशोधन सभाले गर्नेछ । सभा प्रयोजनका लागि बैंकले माघ २३ गते एक दिन बुक क्लोज गर्ने बैंकको तयारी छ । बुक क्लोजको आधारमा माघ २२ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन पाउनेछन् ।
बैंकको यस वर्षको लाभांश विगत दुई आर्थिक वर्षकै उच्च रहेको छ । बैंकले गत वर्ष ६ दशमलव ५७ प्रतिशत नगद लाभांश र अघिल्लो वर्ष ४ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश दिएको थियो । दुई आर्थिक वर्ष निरन्तर नगद लाभांश दिएको यस बैंकले यो वर्ष भने बोनसमा जोड दिएको छ ।
प्रतिक्रिया दिनुहोस