aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

नेपाल लाइफको चार अर्ब बढीको शेयर कारोबार, समायोजनपछि मूल्य १५७ रूपैयाँले बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १६ माघ २०७७
नेपाल लाइफको चार अर्ब बढीको शेयर कारोबार, समायोजनपछि मूल्य १५७ रूपैयाँले बढ्यो

काठमाडौं । यो साता नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । यस कम्पनीको रू. ४ अर्ब २३ करोड ५० लाख ९ हजार बराबरको शेयर कारोबार भएको हो । 

गत साता यस कम्पनीको रू. २ अर्ब ३७ करोड ८० लाख ४३ हजार बराबरको शेयर कारोबार भएको थियो । गत साताभन्दा यो साता कारोबार रकम रू. १ अर्ब ८५ करोड ६० लाख ६६ हजार बढी भएको हो । उच्च ५१ प्रतिशत लाभांश सुरक्षित गर्ने अन्तिम मौका यसै साता भएकाले पनि कम्पनीको शेयर कारोबार रकम बढेको हो । 

बुधवार मूल्य समायोजन भएको कम्पनीको शेयरमूल्य पनि प्रतिकित्ता रू. १५७ ले बढेको हो । नेप्सेले कम्पनीको ३१ प्रतिशत बोनस शेयर प्रयोजनका लागि समायोजनपछिको मूल्य प्रतिकित्ता रू. २ हजार १९२ तोकेको थियो । बिहीवार कम्पनीको अन्तिम शेयरमूल्य रू.२ हजार ३४९ पुगेको छ ।

कम्पनीले ३१ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश प्रयोजनका लागि माघ १४ गतेदेखि बुक क्लोज गरेको हो । जीवन बीमा कम्पनीहरुमध्यकै सर्वाधिक रू. ५ अर्ब ५० करोड चुक्तापूँजी भएको यस कम्पनीले नेपालको इतिहासमै शेयर खण्डिकरणको प्रस्ताव पनि गरेको छ ।  कम्पनीले हाल कायम प्रतिशेयर मूल्य रू. १०० लाई घटाएर रू. ५० कायम गर्ने प्रस्ताव सभाका लागि तय गरेको हो । 

उक्त प्रस्तावको आधारमा कम्पनीको शेयरसंख्या दोब्बर हुनेछ । कम्पनीले प्रस्ताव गरेको बोनस शेयरपश्चात रू. ७ अर्ब १९ करोड चुक्तापूँजी पुग्नेछ । बोनस पश्चात कम्पनीको शेयर कित्ता ७ करोड १९ लाख पुग्नेछ । कम्पनीको प्रस्तावित शेयर खण्डिकरण प्रकृयाले पूर्णता पाए यो संख्या १४ करोड ३८ लाख हुनेछ ।

कम्पनीले दोस्रो बजारमा सबै लगानीकर्ताको खरिद पहुँच पु¥याउने उदेश्यले शेयर खण्डिकरण गर्न लागेको जानकारी दिएको छ । चुक्तापूँजी र बजार पूँजीकरणमा कुनै असर नपर्ने गरी कम्पनीले शेयर खण्डिकरण गर्न लागेको जानकारी दिएको हो ।


 

प्रतिक्रिया दिनुहोस