
काठमाडौं । उपत्यकामै किसानले पालेका हाँस–कुखुरामा बर्ड फ्लु देखिएपछि पशु सेवा विभागले पन्छी र पन्छीजन्य पदार्थको आयातमा रोक लगाएको छ । बर्डफ्लु पुष्टि भएपछि किसान र पोल्ट्री व्यवसायीलाई सतर्कता अपनाउन विभागले आग्रह गरेको पन्छी तथा पन्छीजन्य पदार्थ आयातमा रोक लगाएको हो ।
पन्छी र पन्छीजन्य पदार्थ ओसारपसार गर्दा भेटेरिनरी जाँच गराएर स्वस्थ प्रमाणित भएका पशुपन्छीमात्रै कारोबार गर्न विभागले सुझाएको छ । विभागले किसान तथा यससँग सम्बन्धित व्यवसायीले पन्छी पालेको ठाउँको निसंक्रमणमा ध्यान दिन पनि आग्रह गरेको छ ।
विभागका अनुसार काठमाडौंको तारकेश्वर–७ फुटुङमा गत शुक्रबार बर्डफ्लु पुष्टि भएको हो । उक्त क्षेत्र नियन्त्रणमा लिएर विभागको टोलीले शनिबार १८ सय ६५ वटा हाँस, ६ सय २२ वटा बट्टाइ, ३२ वटा कुखुरा र २५ वटा टर्की मारेर गाडेको छ। साथै उक्त क्षेत्रबाट ५ सय ४२ वटा अन्डा र ७५ केजी दाना पनि नष्ट गरिएको विभागले जनाएको छ ।
विभागले अनेत्र रोग फैलिन नदिन सो स्थानमा उच्च सर्तकता अपनाउँन समेत आग्रह गरेको छ ।
पन्छी अस्वभाविक तवरले मरे तत्काल खबर गर्न पनि सूचना जारी गरेको विभागले बर्डफ्लुका कारण अहिल्यै आत्तिइहाल्नुपर्ने अवस्था भने नरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस