aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सवा २ अर्बको लागतमा निर्माण भएको ढल्केवर सबस्टेशन आजदेखि औपचारिक रुपमा सञ्चालन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ माघ २०७७
सवा २ अर्बको लागतमा निर्माण भएको ढल्केवर सबस्टेशन आजदेखि औपचारिक रुपमा सञ्चालन

काठमाडौं । नेपालको सबैभन्दा ठूलो सबस्टेशन मानिएको ४ सय केभीको ढल्केवर जीआईएस (स्वचलित) सबस्टेशनको आज औपचारिक रुपमा सञ्चालनमा आउँदैछ । उक्त सबस्टेशन गत कार्तिक २६ गते नै पूर्ण रूपमा चार्ज गरिएको थियो । यो सबस्टेसन निर्माण गर्न १ करोड ७५ लाख ८६ हजार ९ सय २१ अमेरिकी डलर र २२ करोड ३ लाख ३६ हजार ४ सय ८७ रुपैयाँ सहित करिब २ अर्ब २५ करोड रुपैयाँ खर्च भएको प्राधिकरणले उल्लेख गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज उक्त सबस्टेशनको उद्घाटन गर्दैछन् ।

यो ४ सय केभीको पहिलो स्वचालित सबस्टेशन हो । नेपाल विद्युत् प्राधिकरणले २२ करोड ४३ लाखको लगानीमा सबस्टेशन बनाएको हो । २०७४ मंसिर २२ गत ४ सय केभी सबस्टेसन निर्माण गर्न ठेक्का सम्झौता गरी करिब ३ वर्ष (२ वर्ष ११ महिना ४ दिन) मा निर्माण पूरा गरिएका सम्पन्न भएको हो । 

यो अहिलेसम्म निर्माण भएको देशकै ठूलो र स्वचालित (जिआइएस) प्रणालीमा निर्माण भएको सबस्टेसन हो । जहाँ ३१५ एमभिएका ३ थान ४ सय र २२० केभी ट्रान्सफर्मर तथा ८० एमभिएको एउटा ४ सय केभी रियाक्टर जडान गरिएको छ । सबस्टेसनबाट करिब ९ सय मेगावाट विद्युत् ४ सय केभीबाट २ सय केभीमा आदानप्रदान गर्न सकिने प्राधिकरणले जनाएको छ । 

उक्त सबस्टेसनमा जडान भएका ३१५ एमभिएका २ थान २२० र १३२ केभी र १६० एमभिएका २ थान २२० र १३२ केभी ट्रान्सफर्मर जडित छन् । यसबाट ९ सय मेगावाट विद्युत् २२० केभीबाट १३२ केभीमा आदानप्रदान गर्न सकिनेछ । यही सबस्टेसनमार्फत ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसीको बिजुली ढल्केबरसम्म जडान गरेर पूर्व–पश्चिम वितरण गर्ने प्राधिकरणको योजना छ । 

ढल्केबरको यो सबस्टेसनकै आधारमा ढल्केबर–मुजफ्फरपुर ४ सय केभीको सीमापार प्रसारण लाइनमार्फत १२ सय मेगावाट बिजुली नेपाल वा भारततर्फ प्रवाह गर्न सकिन्छ । यस्तै, अहिले निर्माणाधीन हेटौंडा–इनरुवा ४ सय केभी प्रसारण लाइनको निर्माणपछि २५ सय मेगावाट हेटौंडातर्फ र सोही परिमाणको विद्युत् इनरुवातर्फ ल्याउन लैजान सकिने प्राधिकरणले जानकारी दिएको छ । 

ढल्केबर सबस्टेसन नेपाल–भारतबीच बिजुली किनबेचको बलियो र भरपर्दो मूल ढोका पनि हो । यहाँबाट देशलाई आवश्यक परेका बेलामा बिजुली खरिद र  र बढी हुँदा भारतमा बिक्री गर्न सकिने सोचका सबस्टेशन निर्माण गरिएको हो । हाल नेपालले भारतबाट २५० देखि ३०० मेगावाटसम्म बिजुली खरिद गरिरहेको छ । 

प्राधिकरण र भारतीय कम्पनी एनभीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) बीच ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनमार्फत सन् २०२० को जुलाईदेखि नोभेम्बरसम्म २५० मेगावाट र डिसेम्बरदेखि सन् २०२१ को अप्रिलसम्म ३५० मेगावाटसम्म तथा मे देखि जुनसम्म २०० मेगावाट विद्युत किन्ने विद्युत खरिद बिक्री सम्झौता (पीपीए) भएको छ । यसको म्याद ३० जुन २०२१ सम्म रहेको छ । 


प्रधानमन्त्री ओलीले आज सोमबार (माघ १९ गते) देशकै सबैभन्दा ठूलो र स्वचालित ४ सय केभी ढल्केबर सबस्टेसन उद्घाटन गर्ने लागेका हुन् । उद्घाटन समारोहमा  प्रधानमन्त्री ओली सहित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझी लगायतको टोली सोमबार आज हेलिकोप्टरबाट त्यसतर्फ प्रस्थान गरिसकेको छ । 

प्रमको साथमा नेपाल विद्युत् प्राधिकरणका कामु कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, उपकार्यकारी निर्देशकहरू हरराज न्यौपाने, रामजी भण्डारी, मदन तिम्सिना, दीर्घायूकुमार श्रेष्ठ लगायतको टोली आइतबार नै ढल्केबर प्रस्थान गरेका छन् । उद्घाटनमा भारतका तर्फबाट विद्युत् व्यापार कर्पोरेशन, पावर ग्रिड इन्डिया उच्च पदाधिकारी समेत सहभागी हुने कार्यक्रम रहेको प्राधिकरणले जानकारी दिएको छ । धनुषाको ढल्केबरमा निर्माण भएको सबस्टेसन गत कात्तिक २६ गतेदेखि परीक्षण गरी सञ्चालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस