
काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म अपर तामाकोशी हाइड्रोपावर लिमिटेड रू. ३ करोड १५ लाख ७१ हजार खुद नोक्सानीमा रहेको छ । कम्पनीको वित्तीय विवरण अनुसार गत वर्षभन्दा यस वर्ष खुद नोक्सानी बढेको हो ।
गत वर्ष यस अवधिसम्म कम्पनी रू. २ करोड ३३ लाख ३९ हजार खुद नोक्सानीमा थियो । यस वर्ष वित्तीय लागत गत वर्षभन्दा १० गुणा बढी भएकाले पनि खुद नोक्सानी बढेको देखिन्छ । गत वर्ष रू. ११ लाख ११ हजार वित्तीय लागत रहेको कम्पनीको यस वर्ष यो लागत रू. १ करोड १२ लाख ५० हजार रहेको छ ।
यस कम्पनीले निर्माण गरिरहेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा रहेको छ । हालसम्म विद्युत विक्री आम्दानी शुरु नहुनु , विभिन्न कारणले आयोजना सम्पन्न गर्ने अवधि बढ्दै जाँदा निर्माण अवधिको ब्याज, नेपाल मुद्राको सटही दरको अवमूल्यनले गर्दा थप वित्तीय लागत हुन गएको कम्पनीको भनाई छ ।
दोस्रो त्रैमाससम्म कम्पनीले नेपाल विद्युत प्राधिकरण मार्फत नेपाल सरकारको रू. १२ अर्ब ५० करोड, संस्थापक शेयरधनीहरु नेपाल टेलिकम, नागरिक लगानीकोष र राष्ट्रिय बीमा संस्थानबाट रू. १४ अर्ब दिर्घकालिन ऋण प्राप्त गरेको छ । साथै नेपाल विद्युत प्राधिकरणबाटै रू. २ अर्ब अल्पकालिन ऋणपनि कम्पनीले लिएको छ । दोस्रो त्रैमाससम्म कम्पनीको दिर्घकालिन कर्जा रू. ४० अर्ब ८ करोड ३० लाख ९८ हजार र अल्पकालिन कर्जा रू. २ अर्ब ७५ करोड रहेको छ ।
हाल कम्पनीको चुक्तापूँजी रू. १० अर्ब ५९ करोड रहेको छ । जगेडा कोष रकम भने रू. ८२ करोड २० लाख ४२ हजार ऋणात्मक रहेको छ । प्रतिशेयर आम्दानी रू. शून्य दशमलव ३० ऋणात्मक रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ९२ दशमलव २४ रहेको छ ।
प्रतिक्रिया दिनुहोस