aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

साञ्जेन जलविद्युतको खुद नोक्सान ४१ प्रतिशत बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २९ माघ २०७७
साञ्जेन जलविद्युतको खुद नोक्सान ४१ प्रतिशत बढ्यो

काठमाडौं । साञ्जेन जलविद्युत कम्पनीको खुद नोक्सान बढेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको खुद नोक्सान गत वर्षको सोही अवधिको तुलनामा ४१ प्रतिशत बढी भएको हो । गत वर्ष रू. ९५ लाख ३४ हजार खुद नोक्सानीमा रहेको कम्पनी यस वर्ष रू. १ करोड ३४ लाख ४८ हजार यो नोक्सानीमा रहेको हो । 

खुद नोक्सानीमा रहेको कम्पनीको जगेडा कोष रकम पनि रू. १४ करोड ९१ लाख ८ हजार ऋणात्मक रहेको छ । गत वर्षसम्म कम्पनीको जगेडा कोष रकम रू. ९ करोड ४३ लाख १६ हजार ऋणात्मक रहेको थियो । हाल कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब २८ करोड ५० लाख रहेको छ । यस कम्पनीले हालसम्म पनि विद्युत विक्री आम्दानी गरेको छैन् । 

कम्पनीले रसुवागढी जिल्लामा १४ दशमलव ८ मेगावाट क्षमताको माथिल्लो साञ्जेन र ४२ दशमलव ५ मेगावाट क्षमताको साञ्जेन जलविद्युत आयोजना समेत गरी कुल ५७ दशमलव ३ मेगावाट क्षमताको दुई जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कम्पनीले दुबै आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी समेत दिएको छ । 

हालसम्मको भौतिक प्रगति माथिल्लो साञ्जेनको ८९ प्रतिशत र साञ्जेन जलविद्युतको ७८ प्रतिशत समग्रमा निर्माण सम्पन्न भएको कम्पनीको भनाई छ । हालसम्मको कार्यप्रगति अनुसार माथिल्लो साञ्जेन जलविद्युत आयोजना २०७८ पुस मसान्तमा र साञ्जेन जलविद्युत आयोजना २०७९ असार मसान्तभित्र सम्पन्न भई सञ्चालनमा आउने अनुमान कम्पनीले गरेको छ । 

यी दुबै जलविद्युत आयोजनाबाट बार्षिक रू. ३२ करोड ४३ लाख ५ हजार युनिट विद्युत शक्ति नेपाल विद्युत प्राविधकरणलाई विक्री गर्ने सम्झौता भएको छ । साञ्जेन जलविद्युत आयोजना निर्माण अवधिको ब्याज वाहेकको लागत रू. ५ अर्ब २ करोड ४२ लाख र माथिल्लो साञ्जेन जलविद्युत आयोजनाको रू. २ अर्ब २१ करोड ८० लाख गरी कुल रू. ७ अर्ब २४ करोड २२ लाख हुने अनुमान गरिएको थियो । 

तर, विदेशी विनिमयदर, समय, सञ्चालन सम्भार खर्च, राष्ट्रिय तथा अन्तराष्ट्रिय घटनाक्रमले अनुमानित लागतलाई असर पर्ने देखिएको कम्पनीले वित्तीय विवरणमा उल्लेख गरेको छ । गत वर्ष दोस्रो त्रैमाससम्म रू. ३ अर्ब ५७ करोड ९४ लाख ३१ हजार कर्जा तथा सापटी लिएको कम्पनीको यस वर्षको दोस्रो त्रैमाससम्म यो रकम रू. ४ अर्ब ५८ करोड ९३ लाख ९८ हजार पुगेको छ ।
 

प्रतिक्रिया दिनुहोस