aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

ठूलो लगानीमा खाद्य बैंक स्थापना, उत्पादनदेखि ‘होम डेलिभरी’सम्मको काम गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३० माघ २०७७
ठूलो लगानीमा खाद्य बैंक स्थापना, उत्पादनदेखि ‘होम डेलिभरी’सम्मको काम गर्ने

काठमाडौं । ‘पोसिलो आधारको लागि दिगो कृषि उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ राष्ट्रिय खाद्य बैंक स्थापना भएको छ । २ अर्बको लागतमा स्थापना भएको उक्त बैकले हरेक प्रकारका खाद्यान्न उत्पादनदेखि बजारीकरण तथा ‘होम डेलिभरी’सम्मका काम गर्ने छ । बैंकले सातै प्रदेशमा जग्गा भाडामा लिएर खाद्यान्न, फलफूल, हरियो तरकारी, माछा, मासु दहि, दुध, अण्डासहित नगदेबालीदेखि जडिबुटीसम्म आफै उत्पादन गरेर बिक्री वितरण गर्ने उद्देश्य लिएको राष्ट्रिय खाद्य बैंकका सञ्चालक तथा कृषि प्राविधिक राजिवरमण न्यौपानेले बताए । 

‘हामीले यो बैंक सामुहिक लगानीमा स्थापना गरेका हौं,’ उनले भने ‘यो बैंकमा लगानी गर्न इच्छुक व्यक्तिले एक लाख रुपैयाँ (हजार कित्ता) देखि ३ करोड रुपैयाँ (तीन लाख कित्ता) सम्म लगानी गर्न सक्ने छन् ।’ देशलाई आत्मनिर्भर बनाउने अभियान स्वरुप स्थापना भएको बैंकमा अहिले २५० जना युवाहरू अवद्ध भइसकेका छन् । एक हजार जनासम्मको सामुहिक लागनी समग्र कृषि क्षेत्रमा लागनी गर्ने बैंकको योजना छ । 

‘बैंकको चाडै उद्घाटन गर्ने तयारीमा हामी छौं, न्यौपाने भने ‘देशलाई आत्मनिर्भर बनाउने अभियानका साथ दशैंपछि हामीले खाद्य बैंक दर्ता गरेका हौं । पब्लिक कम्पनीको रुपमा स्थापना भएको यो बैंकमा कृषि विज्ञदेखि युवायुवतीलाई आवद्ध गराउने रणनीतिक योजना छ । ‘हामी जग्गा किनेर पैसा रिजर्भ गर्नतर्फ नलागी सिधै उत्पादनसँग जोडिन लागेका हौं,’ उनले थपे ‘यसले देशमा विकराल रुपमा बढ्दै गएको बेरोजगारी समस्या समाधान गर्न र आयात प्रतिस्थापन गर्न योगदान गर्नेछ ।’

नेपाल कृषि प्रधान देश भएपनि वार्षिक ३५/३६ अर्ब रुपैयाँको चामल आयात हुने भएकोले सबैभन्दा पहिला धान उत्पादन गर्ने बैंकको रणनीतिक योजना भएको कृषि विज्ञ न्यौपानेले बताए । सरकारी बाझो जग्गा, सामुदायिक वन तथा गुठीका खाली जग्गाहरू, खोला छेउछाउका खाली जग्गा तथा  बगर, विद्युत प्रशारण लाइनमुनीका खाली जग्गा लिजमा लिएर कृषि उत्पादन बढाउने अभियानमा बैंक लागेको हो ।  

प्रदेशअनुसार पकेट क्षेत्र छुट्याएर उत्पादन गर्ने बैंकले रणनीति बनाएको छ । कम्तीमा एक हजार विगाह जमिन लिएर हामी उत्पादन शुरु गर्छौ,’ उनले थपे ‘बर्दियामा २ सय विगाह जमिन लिजमा लिइसकेका छौं ।’ त्यहाँ पनि थप जमिन खोज्ने काम भइरहेको छ भने अन्य प्रदेशमा पनि ठूलो स्केलमा जमिन लिएर उत्पादन शुरु गर्दैछौं ।’

उनका अनुसार बर्दियामा यहि वर्षदेखि वर्षे धान लगाउने तयारी बैंकले गरेको छ । धान विज्ञ भोलामान सिंह बस्न्यातलाई लिएर उहाँकै मार्ग निर्देशबमोजिमा हामी धान उत्पादन गर्छौ भने गोलभेँडा खेती शुरु गर्नको लागि डा. केदार बुढाथोकीसँग छलफल भइरहेको उनले बताए । अहिले हामीसँग स्थानीय बिउ नभएकाले हाइब्रिडनै बिउनै प्रयोग गरेपनि पछि भने रैथाने बिउ उत्पादन गर्ने बैंकको योजना छ ।

कृषि सम्बन्धि अध्ययन तथा अनुसन्धान गर्दै उच्च प्रविधिको प्रयोगबाट उत्पादन गर्नेदेखि फुड न्यूट्रेशनको बारेमा समेत जानकारी दिलाउने बैंकको अभियान छ । ‘बैंकले खाद्यान्न उत्पादन तथा बिक्री वितरणको लागि आवश्यक ज्ञान, सिप, बिउ बिजन, मलजल, दक्ष जनशक्तिको व्यवस्थापन मिलाउँदै लैजाने छ,’ उनले भने । राष्ट्रिय खाद्य बैंकले स्थापना गरेका उत्पादनको सुरक्षित भण्डारणदेखि प्रशोधनसम्मका कार्य गरेर आफै बजारीकरण गर्दै आफ्नै डिपो सञ्चालनदेखि होम डेलिभरीको समेत काम गर्नेछ । 

प्रतिक्रिया दिनुहोस