
कतिपय मानिसहरू भन्छन्, कृषि व्यवसायका सफल कथाहरू केबल बनावटी कुरा मात्र हुन् । खासमा वर्तमान नेपालमा कृषि कर्म गरेर त्यसबाट व्यवसाय लाभ लिने विषय कोराकल्पना मात्र भएको उनीहरूको विश्वास देखिन्छ ।
हुन पनि हामीले सुनेका देखेका र कतिपय मानिसहरूले भोगेको वास्तविकता पनि हो यो । तर, यो सबै कुरा सुन्न चाहदैनन ती मानिसहरू जो कृषि कर्ममा भविष्य देखिरहेका छन् । त्यसलाई सफल व्यावसायकारुपमा पुस्तान्तरण गर्ने योजनामा छन् ।
यस्ता सफल व्यवसायीमध्ये एक हुन् गोविन्द थपलिया । उनी सुरुमै भन्छन्, ‘असफलताका कथा मलाइ नसुनाउनुस् । म ती सुनेर आफ्नो समय खेर फाल्न चाहन्न ।’
अरूका अनुभव र भोगाई निशुल्करुपमा पाइने महत्त्वपूर्ण शिक्षाका श्रोत हुन् भन्ने दलिललाई समेत ठाडै नकार्दै थपलिया भन्छन्, ‘मेरो हकमा चाहिँ अरूका असफलताका कथा, भोगाई र अनुभव निरुत्साहित गर्ने विषयहरू मात्र हुन् । म कर्ममा विश्वास गर्छु । कृषि कर्म गर्ने क्रममा निराशा जीवनको पल्लो छेउसम्म समेत नआओस् भन्ने चाहन्छु ।’ उनी थप्छन्, ‘मसँग असफल हुने छुट नै छैन । एउटै मात्र विकल्प हो सफलता । यसलाई मूर्तरूप दिनु र उदाहरण पेस गर्नु नै मेरो उद्देश्य हो ।’
काभ्रेपलान्चोकको पाँचखाल छेउ तीनपिप्लेबाट लगभग तीन किलोमिटर ओरालो झरेपछि थपलियाको ग्रामीण कृषि फर्ममा पुगिन्छ । लगभग २० करोड लगानीमा उनले त्यहाँ कुखुरा पालन, बाख्रा पालन, बंगुर पालन, तरकारी खेती, गाई पालन लगायतका कृषि कर्मलाई अगाडी बढाइरहेका छन् ।
आवश्यक पूर्ण तयारी र सही योजनाका साथ व्यवसाय गरियो भने त्यसबाट सुरुवाती चरणमा नै मनग्य आम्दानी गर्न सकिने उदाहरण पेस गरेका छन् थपलियाले । जर्मनबाट आयात गरिएको प्रविधि र वस्तुहरूको प्रयोगबाट निर्माण गरिएको आधुनिक खोरमा उनले अहिले १५ हजार बोइलर कुखुराको दोस्रो लट हुर्काइरहेका छन् ।
मानिसहरूले सुकुम्वासी बनाउने व्यवसाय भनेर उपनाम दिन थालेको बोइलर कुखुरा पालन उनको लागि भने वरदान बन्ने लक्षण देखि सकेको छ । पहिलो लटमा २५ लाख नाफा निकाली सकेको बताउँदै थपलिया क्यालकुलेटरमै दोस्रो लटमा हुने नाफा देखाउँछन् सबै खर्च कटाएर ४५ लाख ।
परिवार नै समर्पित
नेपाल प्रहरीको डिएसपीबाट राजीनामा दिएर व्यावसायिक क्षेत्रमा प्रवेश गरेका थपलियाको पुरै परिवार अहिले ‘खेतिकिसानी’मा छ । उनी कुखुरा, बाख्रा, गाइभैसी, बंगुर आदीको हेरचाहमा व्यस्त भेटिन्छन् । उनी श्रीमती तरकारी खेती समाल्छिन् । उमेर ढल्किसकेकी आमा कहिले छोरा त कहिले बुहारीको पछि पछि होस्टेमा हैँसे गर्दै साथ दिन्छिन् ।
यता, सहरमा सिए पास गरिसकेका २८ वर्षीय छोरा आफ्ना उत्पादनहरूको बजारीकरणमा व्यस्त छन् । पारिवारिक दिनचर्याबारे बताउँदै थपलिया भन्छन्, ‘बिहान खाजा खाएर आ–आफ्नो काममा लाग्छौँ । दिउँसो खानाको समयमा हाम्रो भेट हुँदैन । साँझमा उनी (श्रीमती) उताबाट आउँछिन् म यताको काम सकेर फर्किन्छु ।’
आफ्नो जवान छोराले व्यवसायमा साथ दिएकोमा पुलकित छन् थपलिया दम्पती । उनीहरू भन्छन्, ‘२८ वर्षीय छोरो बिहान ५ बजे उठेर साँझ ८ बजेसम्म बजारमा समान पुर्याउन खट्छ । सिए भए पनि उ यो काममा रमाएको छ । त्यसैले पनि हामी ठिक काम गर्दैछौं भन्ने निष्कर्षमा पुगेका छौँ ।’
त्यसो त उनले ४५ जनालाई रोजगारी पनि दिएका छन् । जसमा भेटनरी डाक्टरदेखि कृषि प्राविधिक र सामान्य कर्मचारीहरू समेत छन् ।
म्यानपावर छोडेर कुखुरा पालन
वैदेशिक रोजगार व्यवसायमा निकै चर्चित नाम हो गोविन्द थपलिया । प्रहरीको जागिर छोडेर वैदेशिक रोजगार व्यवसायमा केही समय उनी रमे । त्यो क्रममा सफल बन्दै जमे । तर, उनको मन लामो समय त्यसमा रमाउन सकेन । सजिलैसँग राम्रो कमाई हुने व्यवसाय छोडेर किन यस्तो दुखिया कर्म रोज्नु भयो भन्ने प्रश्नको जवाफ रोचक ढङ्गले दिँदै भने, ‘खुसी हुन सकिन । आनन्द खोज्दा यहाँ आइपुगेको हो ।’
पसिना नबगाई हुने कमाइले अन्ततः मृत्युको मुख या जेलको बासमा पुर्याउने सत्य बोध भएपछि आफू कृषि कर्ममा होमिएको उनी बताउँछन् । आफ्नो दलिल पुष्टि गर्न उनले आफ्नै खोरका कुखुरा मारी खान पल्केको ढाडे बिरालोले चौथो पटक सिकार गर्न आउँदा आफ्ना कामदारहरूको निशानामा परेर ज्यान गुमाएको कथा उनले सुनाए । उनले भने, ‘यदि पुरानै व्यवसायमा सजिलै मनग्य कमाइ भएकै छ भनेर बसिरहेको भए मेरो पनि नियति ‘ढाडे बिरालो’को झैँ हुने सम्भावना प्रबल थियो । त्यसैले पसिना बगाएर उब्जनी गर्न यो काममा लागेँ ।’
तरकारीमा समस्या, पशुपंक्षीमा फाइदा
थपलियाले ५४ रोपनी जमिनमा विभिन्न संरचना निर्माण गरी पशुपंक्षी पालिरहेका छन् । उनको तरकारी खेती भने एक सय रोपनी भन्दा बढी जमिनमा फैलिएको छ । अनुभवका आधारमा उनी भन्छन्, ‘तरकारीबाट चाहिँ खासै मुनाफा हुँदो रहेनछ ।’
बिचौलियाका कारण तरकारी उत्पादक किसानहरू मारमा परेको आम गुनासो नै तरकारीबाट नाफा नहुने कारण हो भन्ने आर्थिक न्युजको प्रश्नमा उनले भने, ‘बिचौलियासँग भन्ने शब्दसँग चाहिँ म सहमत छैन । तर, किसानले सिधै बजारमा पुर्याउने हो भने मात्र खर्च धान्ने र केही मुनाफा हुने देखियो ।’
धेरै किसानले गालीको रूपमा प्रयोग गर्ने बिचौलिया प्रति उनको आक्रोश नदेखिनुको कारण खोतल्दा उनले भने, ‘उनीहरू बजार प्रतिनिधि ‘मार्केटिङ एजेन्ट’ हो । जो हरेक व्यवसायका लागि आवश्यक हुन्छ । यहाँ त्यो वर्ग अर्थात् तहको ठिक व्यवस्थापन हुन सकेन । त्यसैले उनीहरूले धेरै नाफा खाइरहेका छन् । अनि, किसानहरू गार्ली गर्दै उनीहरूलाई नै आफ्ना उत्पादन दिन बाध्य छन् ।’
यदि, गाउँ गाउँमा खुलेका सहकारीहरूले बजार व्यवस्थापनको काम गर्ने हो भने तरकारी उत्पादक किसानहरूले समेत आफ्नो उत्पादनको उचित मूल्य पाउँछन् भन्ने उनको ठहर छ । तर, टोल टोलमा खुलेका सहकारीहरूले आफूलाई पैसाको व्यापारमा मात्रै केन्द्रित गरेका कारण बिचमा एउटा तह निर्माण भएको र, उनीहरूले किसानलाई ठगी रहेको थपलिया बताउँछन् ।
प्रतिक्रिया दिनुहोस