aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

आठ लाख २६ हजारभन्दा बढीले भरे महिला लघुवित्तको आईपीओ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०२ फागुन २०७७
आठ लाख २६ हजारभन्दा बढीले भरे महिला लघुवित्तको आईपीओ

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आइतवार अपरान्ह १२ बजेसम्म ८ लाख २६ हजार ३६० जनाले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार यी आवेदकहरुबाट १ करोड २६ लाख ७४ हजार ६७० कित्ता शेयर खरिद माग भएको हो ।

कम्पनीले माघ ३० गते (शुक्रवार) देखि सर्वसाधारणका लागि आईपीओ विक्री खुला गरेको हो । सार्वजनिक विदाका विच अनलाईन मार्फत आवेदन दिन सकिने भएकाले विक्री खुला भएको यो आईपीओमा छिटोमा फागुन ४ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले प्रतिकित्ता रू. १०० अंकित दरको ४ लाख कित्ता आईपीओ सर्वसाधारणमा बिक्री गर्न लागेको हो । 

कुल कित्तामध्य शून्य दशमलव ५ प्रतिशत दरको ५ हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत दरको २० हजार कित्ता सामूहिक लगानीकोषलाई सुरक्षित राखी बाँकी ३ लाख ७५ हजार कित्ता शेयर सार्वजनिक निष्कासनमा आउन लागेको हो । सार्वजनिक निष्कासनमा आएको शेयरमा मात्र सर्वसाधारणले आवेदन दिन सक्नेछन् । 

आवेदन दिदाँ न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म दिन सकिने व्यवस्था छ । विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । 

साथै मेरो शेयर सफ्टवेयर र मेरो शेयर मोवाइल एपबाट पनि आवेदन दिन सकिनेछ । यस कम्पनीको आईपीओलाई इक्रा नेपालले वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिमको संकेत गर्ने इक्राएनपी इस्यूर रेटिङ्ग डबल बी प्रदान गरेको छ । 

कम्पनीले यो आईपीओ विक्री गर्न माघ ८ गते बोर्डको अनुमति पाएको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ६ करोड रहेको छ । आईपीओ पश्चात कम्पनीको चुक्तापूँजी रू. १० करोड पुग्नेछ । 
हाल कम्पनीमा संस्थापक तर्फको ६० प्रतिशत शेयर स्वामित्व कायम रहेको छ । सर्वसाधारणमा जारी पूँजीको ४० प्रतिशत शेयर कम्पनीले विक्री गर्न अनुमति पाएको हो । कम्पनीले गत मंसिर ३ गते आईपीओ निष्कासनका लागि बोर्डमा निवेदन दिएको थियो । आर्थिक वर्ष २०७६÷७७ सम्ममा कम्पनीको प्रतिशेयर आम्दानी रू. ५७ दशमलव ८५ र प्रतिशेयर नेटवर्थ रू. ३१३ दशमलव १६ रहेको छ ।

प्रतिक्रिया दिनुहोस