
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आइतवार आईपीओ निष्कासनको प्रस्ताव पारित गरेको छ । कम्पनीले तेस्रो साधारण सभा सम्पन्न गरी ७५ लाख कित्ता आईपीओ विक्री गर्ने प्रस्ताव पारित गरेको हो ।
आईपीओ प्रस्ताव सहित सभाले आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन वासलात नाफा नोक्सान हिसाव विवरण र नगद प्रवाह विवरण माथि छलफल गरी पारित गरेको छ । सभाले आर्थिक वर्ष २०७६/७७ को लागि कम्पनीको लेखापरीक्षकमा अहिलेकै लेखापरीक्षक देवकी बिजय एण्ड क., चार्टर्ड एकाउन्टन्ट्स् पुनः नियुक्ति गर्ने प्रस्ताप पनि पारित गरेको छ ।
यस कम्पनीले रू. ७५ करोड बराबरको ७५ लाख कित्ता आईपीओ विक्री गर्ने प्रस्ताव पारित गर्नुअघिनै रेटिङ सम्पन्न गरिसकेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ७५ करोड रहेको छ । आईपीओ पश्चात यो पूँजी रू. २ अर्ब ५० करोड पुग्नेछ ।
नयाँ बीमा कम्पनीको रुपमा व्यवसाय सञ्चालन गर्दै आएको यस कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्म रू. ११ करोड १ लाख ८४ हजार खुद नाफा गरेको छ । यस अवधिसम्म रू. १ अर्ब ४० करोड २१ लाख ४५ हजार कुल बीमाशुल्क आर्जन गरेको कम्पनीले रू. २६ करोड ७१ लाख ९९ हजार दाबी भुक्तानी गरेको छ । कम्पनीको जगेडा कोषमा रू. ७२ करोड ८० लाख ४९ हजार रहेको छ भने बीमा कोषमा रू. २ अर्ब ३९ करोड ८१ लाख रहेको छ ।
प्रतिक्रिया दिनुहोस