aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 
दोस्रो त्रैमास

१८ कम्पनीको बीमा व्यवसाय पौने ५६ अर्ब

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०३ फागुन २०७७
१८ कम्पनीको बीमा व्यवसाय पौने ५६ अर्ब



काठमाडौं । कोभिड महामारीले अन्य बजारलाई असर पारे पनि बीमा बजारमा भने त्यति असर नपरेको देखिएको छ । बीमा कम्पनीहरूले आर्जन गरेको बीमा शुल्कले कोभिडको प्रभाव बीमा व्यवसायमा खासै नदेखिएको हो । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा १८ जीवन बीमा कम्पनीले ५५ अर्ब ७५ करोड ७३ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेका छन् । बीमा कम्पनीहरूले आर्जन गरेको बीमा शुल्क गत आवको यहि अवधिकोभन्दा साढे ३७ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा ४० अर्ब ५५ करोड रुपैयाँ खुद बीमा शुल्क संकलन गरेका थिए । 

जीवन बीमा कम्पनीहरूमध्ये यो अवधिमा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स १७ अर्ब ८ करोड बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले आर्जन गरेको बीमा शुल्क गएको आवमो सोही अवधिकोभन्दा करिब २३ प्रतिशतले बढी हो । गएको आर्थिक वर्षको समीक्षा अवधिमा नेपाल लाइफ इन्स्योरेन्सले १३ अर्ब ९१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । बढी बीमा शुल्क कमाउने दोस्रो कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यो अवधिमा ९ अर्ब ५६ करोड बीमा शुल्क आर्जन गरेको हो ।

गएको आवको यो अवधिमा उक्त कम्पनीले ७ अर्ब ६५ करोड बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीले गएको आवको तुलनामा करिब २५ प्रतिशतले बढी बीमा शुल्क आर्जन गरेको छ ।  बीमा शुल्क बढी आर्जन गर्ने तेस्रो स्थानमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले चालु आर्थिक वर्षको यो अवधिमा ५ अर्ब ४८ करोड बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले आर्जन गरेको बीमा शुल्क गएको आवको सोही अवधिको तुलनामा ४१ प्रतिशतले बढी हो । कम्पनीले गएको आवको सोही अवधिमा तीन अर्ब ८८ करोड बीमा शुल्क आर्जन गरेको थियो । 


यसका साथै नयाँ बीमा कम्पनीले पनि बीमा शुल्कमा उल्लेख्य प्रगति गरेका छन् । चालु आर्थिक वर्षको दोस्रो त्रैमास २०७७/७८ को वित्तीय विवरण सार्वजनिक गरेका १८ जीवन बीमा कम्पनीको खुद बीमाशुल्कको तथ्यांक बीमा व्यवसाय विस्तारको वृद्धिदर धेरै हुने सूचीमा नयाँ बीमा कम्पनी पनि परेका छन् । यस अवधिमा सानिमा लाइफ, गुराँस लाइफ, आइएमई, प्रभु, ज्योति लाइफ इन्स्योरेन्स, रिलायन्स लाइफ कम्पनीको बीमा व्यवसाय वृद्धिदर उच्च देखिएको छ । यी पाँच कम्पनीले पनि ९० प्रतिशत धेरैले व्यवसाय विस्तार गरेका छन् । 

गुराँस लाइफले पनि आफ्नो व्यवसायलाई १२० प्रतिशतभन्दा बढीले बढाएर २ अर्ब ११ करोड लाख बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको यो अवधिमा ९५ करोड ७७ लाख बीमा शुल्क आर्जन गरेको थियो । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले पनि ९८ प्रतिशतभन्दा बढी आफ्नो व्यवसायलाई वृद्धि गरेर एक अर्ब २० करोड रुपैयाँ पुर्याएको छ । कम्पनीले गएको आवमा ६० करोड ८५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । 
सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ९५ करोड  ६३ लाख रुपैयाँ बीमा आर्जन गरेको छ भने गएको आवको सोही अवधिमा उक्त कम्पनीले ४० करोड ७३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीले आर्जन गरेको बीमा शुल्क गएको आवको सोही अवधिको तुलनामा करिब १३५ प्रतिशतले बढी हो । राष्ट्रिय बीमा संस्थानले भने हालसम्म पनि चालु आवको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित नगरेकाले सो कम्पनीको तथ्यांक समेटिएको छैन ।

प्रतिक्रिया दिनुहोस