
काठमाडौं । युवा तथा साना व्यावसायी स्वरोजगार कोषले पाँच नयाँ कार्यक्रम ल्याउने भएको छ । काठमाडौंमा सोमबार एक कार्यक्रमको आयोजना गरेर नयाँ पाँच कार्यक्रम ल्याउन लागेको जानकारी दिइएको हो ।
कार्यक्रममा युवा तथा साना व्यावसायी स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष डा. देवराज रोकाले बेरोजगारहरुलाई स्वरोजगार बनाउने उदेश्यले यी पाँच कार्यक्रम ल्याउन लागेको बताए । उनले यसअघि स्वरोगार कार्यक्रमको दायरमा आउन नसकेका बेरोजगार युवाहरुलाई यो पटक समेटेर लैजाने बताए ।
सहकार्यमा आधारित साझेदारी कार्यक्रम, कोशी इकोनोमिक करिडोर कार्यक्रम, भेरी कर्णाली इकोनोमिक करिडोर कार्यक्रम, तराइ मधेस स्वरोजगार कार्यक्रम र काठमाडौं उपत्यका स्वरोजगार कार्यक्रम प्रदेश र स्थानिय तहसंगको सहकार्यमा कोषले ल्याउन लागेको हो ।
सहकार्यमा आधारित साझेदारी कार्यक्रम
कोषले सञ्चालन गर्न लागेको नयाँ कार्यक्रमको पहिलो सहकार्यमा आधारित साझेदारी कार्यक्रम हो । जसमा स्थानीय श्रोत साधनको समुचित प्रयोग हुने गरी मुलुकमा उपलब्ध जनशक्तिद्वारा स्वरोजगार मूलक व्यवसायिक परियोजना सञ्चालन गर्नका लागि प्रदेश र स्थानीय तह अन्तर्गतका नगरपालिका, गाउँपालिकाहरु र समान उदेश्य बोकेका स्वरोजगार तथा रोजगारसँग जोडिएका संघ संस्थाहरुसँग सहकार्यमा आधारित साझेदारी कर्जा लगानी कार्यक्रम मार्फत सुलभ व्यवसायिक कर्जा उपलब्ध गराई उद्यमशिलताको विकास मार्फत मुलुकभित्र स्वरोजगारका अवसर सिर्जना गर्ने भएको हो । कोषले स्वरोजगार तथा रोजगार सृजना गर्नका लागि प्रदेश, नगरपालिका, गाउँपालिकासँग बढिमा ३.५ प्रतिशत ब्याज दरमा कर्जा दिनेछ । प्रदेश सरकार, नगरपालिका, गाउँपालिकासँग लिएको कर्जामा कोषले आवश्यकताको आधारमा रकम थप गरी सम्बन्धित प्रदेश, नगरपालिका, गाउँपालिकामा स्वरोजगार तथा रोजगार सृजना गर्न बैंक, वित्तीय संस्था र सहकारी संस्था मार्फत कर्जा लगानी गर्नेछ ।
कोशी इकोनोमिक करिडोर कार्यक्रम
सप्तकोशी नदी तथा उक्त नदीमा सहायक नदीहरुका किनारको आसपास नदी किनारबाट एक किलामिटर भित्रमा नदीले छोएका सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सिन्धुली, रामेछाप, दोलखा, ओखलढुंगा, सोलुखुम्बु, खोटाङ, उदयपुर, सप्तरी, भोजपुर, सखुवासभा, धनकुटा, तेह्रथुम, पाँचथर, ताप्लेजुङ, सुनसरी गरी १७ जिल्लामा माछापालन, लोकल हाँस (कखुरापालन, बंगुरपालन, बाखापालन, होमस्टे, न्याफ्टीङ व्यवसाय, आलु खेती, केरा खेती, बगर खेती, गोलभेडा, अदुवाखेती, काउली, बन्दा, गाई भैसीपालन, बेसार खेती आदि व्यवसायमा कर्जा उपलब्ध गराई स्वरोजगार कार्यक्रम संचालन गरिनेछ ।
भेरी-कर्णाली इकोनोमिक करिडोर कार्यक्रम
भेरी-कर्णाली नदी किनारको आसपासका १७ जिल्लाहरु (हुम्ला, जुम्ला, मुगु, डोल्या, कालिकोट, दैलेख, सुर्खेत, जाजरकोट, अछाम, डोटी, बझाङ, बाजुरा, सल्यान, रुकुम पूर्व, रुकुम पश्चिम, कैलाली तथा वर्दिया) मा तरकारी खेती, पशुपालन, पक्षीपालन, फापर र काउनो खेती, माछापालन, राता चामल, फलपूल खेती, होमस्टे होटल, याफटिंग, अन्य स्थानीय व्यवसाय श्रादि मार्फत स्वरोजगार सृजना गर्न महत्वपूर्ण कार्यक्रम हो ।
काठमाडौं उपत्यका स्वरोजगार कार्यक्रम
काठमाडौं उपत्यकामा रहेका महानगरपालिका, नगरपालिका र समान उदेश्य बोकेका स्वरोजगार तथा रोजगारसंग जोडिएका संघ संस्थाहरुसंग समन्वय र साझेदारी गरी पार्क, चोक, गल्ली, सपिङ मल लगायतका ठाउँहरुमा ठेलागाडा, तरकारी तथा फलफुल, दुग्धजन्य उत्पादन बिक्री आदिकार्यका लागि कर्जा उपलब्ध गराइनेछ ।
तराई-मधेश स्वरोजगार कार्यक्रम
तराईका २१ जिल्ला (कञ्चनपुर, कैलाली, बाँके, बर्दिया, दाङ्ग, कपिलवस्तु, नवलपरासी, रुपन्देही, चितवन, बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी, सुनसरी, मोरङ्ग, झापा, उदयपुर) मा कोषले भकारी प्रविधियुक्त माछापालनमा लगानी गरी स्वरोजगारका अवसरहरु सिर्जना गरिनेछ । त्यसैगरी अटोरिक्सा, ठेलागाडामा दुग्धजन्य व्यवसाय, फलफुल, तरकारी, चटपट पसल लगायतका अन्य व्यवसाय र गाईभैंसीपालन आदि व्यवसायमा स्वरोजगारका अवसरहरू सृजना गर्ने प्रविधिमा लगानी गरी स्वरोजगारका अवसरहरु सिर्जना गर्नकर्जा उपलब्ध गराइनेछ ।
प्रतिक्रिया दिनुहोस