
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आइतवारसम्म मागभन्दा ४९ दशमलव ४२ गुणा बढी आवेदन परिसकेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार हालसम्म १२ लाख १ हजार ८९० हजार आवेदकबाट १ अर्ब ८५ करोड रुपैयाँ भन्दा धेरैको आवेदन परेको हो ।
आईपीओमा एक करोड ८५ लाख ३५ हजार १०० कित्ता अर्थात १ अर्ब ८५ करोड ३५ लाख १० हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सो आवेदन सर्वसाधारणकालागि निष्काशन गरेको ३ लाख ७५ हजार कित्ताको ४९।४२ गुणा बढि हुन आउँछ ।
कम्पनीले माघ ३० गते शुक्रवारदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको ४ लाख कित्ता आईपीओ सर्वसाधारणमा बिक्री खुला गरेको हो । कुल कित्तामध्य शून्य दशमलव ५ प्रतिशत दरको ५ हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत दरको २० हजार कित्ता सामूहिक लगानीकोषलाई सुरक्षित राखी बाँकी ३ लाख ७५ हजार कित्ता शेयर सार्वजनिक निष्कासनमा आएको हो ।
यो आईपीओमा आवेदन दिदाँ न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म दिन सकिने व्यवस्था छ । विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । साथै मेरो शेयर सफ्टवेयर र मेरो शेयर मोवाइल एपबाट पनि आवेदन दिन सकिनेछ । यस कम्पनीको आईपीओलाई इक्रा नेपालले वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिमको संकेत गर्ने इक्राएनपी इस्यूर रेटिङ्ग डबल बी प्रदान गरेको छ ।
कम्पनीले यो आईपीओ विक्री गर्न माघ ८ गते बोर्डको अनुमति पाएको हो । हाल कम्पनीको चुक्तापूँजी ६ करोड रहेको छ । आईपीओ पश्चात कम्पनीको चुक्तापूँजी १० करोड पुग्नेछ । हाल कम्पनीमा संस्थापक तर्फको ६० प्रतिशत शेयर स्वामित्व कायम रहेको छ । सर्वसाधारणमा जारी पूँजीको ४० प्रतिशत शेयर कम्पनीले विक्री गर्न अनुमति पाएको हो । कम्पनीले गत मंसिर ३ गते आईपीओ निष्कासनका लागि बोर्डमा निवेदन दिएको थियो । आर्थिक वर्ष २०७६/७७ सम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ५७ दशमलव ८५ र प्रतिशेयर नेटवर्थ ३१३ दशमलव १६ रहेको छ ।
प्रतिक्रिया दिनुहोस