aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

ऊर्जामा स्थानीयको आकर्षण बढ्दै, उद्योग नै पिच्छे अर्बौ लगानी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ११ फागुन २०७७
ऊर्जामा स्थानीयको आकर्षण बढ्दै, उद्योग नै पिच्छे अर्बौ लगानी

काठमाडौं । पछिल्लो समय ऊर्जा क्षेत्रमा स्थानीयको लगानी बढ्दै गएको छ । घरेलु लगानीकर्ता नै ऊर्जा क्षेत्रमा ठूलो लागनी गर्न थालेका छन् । चालु आवको यो अवधिसम्म ऊर्जा क्षेत्रमामात्रै १९ वटा उद्योगमार्फत ६१ अर्ब ४८ करोडभन्दा बढी लगानी प्रतिवद्धता भएको हो । यो प्रतिवद्धता उद्योग विभागमा उद्योग दर्ता गर्दा लगानीकर्ताहरूले गरेका हुन् । 

नेपालमा सबै भन्दा बढी लगानीको सम्भावना भएको क्षेत्र ऊर्जालाई मानिन्छ । यसका अलवा ऊर्जा उद्योगमा लगानी गर्न बैंक तथा वित्तीय संस्थाले पनि सहजै कर्जा दिने भएकाले पनि पछिल्लो समय सानो सानो पुँजी एकीकृत गरेर लगानी गर्ने लगानीकर्ता बढ्दै गएका छन् । 

उत्पादित विद्युत ट्रान्समिशन लाइनको अभावमा त्यति कै खेरा गएपनि एक दिन न एक दिन सरकारले यसको निकास दिन्छ भन्ने विश्वास लगानीकर्ताहरूमा भएकोले यो क्षेत्रमा लागनी बढेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) का अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए ।

‘यो उद्योग निर्माण सम्पन्न र विद्युत खरिद सम्झौता (पीपीए) भएपछि एकोहोरो उत्पादन भइरहने हुनाले पनि यसमा लगानीकर्ताहरूको आर्कषण उत्तिकै देखिएको छ,’ उनले भने ‘शुरुमा यी उद्योगले लाभांश बाड्न नसके पनि पछि राम्रो हुने विश्वास लगानीकर्तामा रहेको छ ।’

‘नेपालले विकास र समृद्धि प्राप्त गर्ने भनेको ऊर्जा क्षेत्रबाट नै हो,’ अध्यक्ष आचार्यले थपे ‘ समृद्धिको पहिलो शर्त ऊर्जा हो । हरेक विकास निर्माणमा ऊर्जाको आवश्यकता पर्दछ । सरकारले बढ्दो उत्पादनलाई ध्यानमा राखेर ट्रान्समिशन लाइन बनाउनेदेखि उपभोग बढाउने तथा निर्यातको ढोका खोल्नु खोल्नु पर्ने अध्यक्ष आचार्यले बताए । अहिले नै ३ हजार मेगावाट विद्युत उत्पादनको चरणमा छ भने अर्को चार हजार मेगावाट उत्पादन हुने क्रममा रहेको समेत उनले जानकारी दिए ।

चालु आवको साउनदेखि माघसम्म उद्योग विभागमा दर्ता भएका उद्योगमध्ये सबैभन्दा बढी लगानी प्रतिवद्धता भएको हाइड्रो भिजन आयोजना हो । यस आयोजनाले म्याग्दीको धवलागिरी गाउापालिकामा ५७.३० मेगावाटको विद्युत उत्पादन गर्ने प्रयोजनको लागि १० अर्ब ३१ करोड लगानी गर्ने प्रतिवद्धता जनाएको छ । चालु आर्थिक वर्षमा हाइड्रोपावर क्षेत्रमा भएको लगानी सबैभन्दा ठूलो लगानी हो । 

माघ २२ गते संखुवासभा जिल्लाको मकालु गाविसमा तीन अर्ब ८३ करोड ३९ लाख लागनीमा इसुवा इनर्जी निर्माण हुने भएको छ । ३७.७ मेगावाट क्षमताको उक्त जलविद्युत आयोजना शतप्रतिशत नेपालीको लगानीमा निर्माण हुन लागेको हो । उक्त आयोजनामा ८२ जनाले रोजगारी पाउने कम्पनीले उद्योग विभागमा प्रतिवद्धता गरेको छ । 

अपर वलेफी हाइड्रोपावरले सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा ५ अर्ब ८० करोड लागतको जलविद्युत आयोजना अघि बढाएको छ । ७० जनाले रोजगारी पाउने उक्त आयोजनाबाट ४६ मेगावाट विद्युत उत्पादन गर्ने तयारी लगानीकर्ताले गरेका छन् । उक्त आयोजना गत कार्तिक २८ गते उद्योग विभागमा दर्ता भएको हो । 

भिजन लुम्बिनी ऊर्जा कम्पनीले कास्कीको माछापुच्छ«े गाविसमा २५ मेगावाटको जलविद्युत आयोजना निर्माण गर्ने प्रतिवद्धता गरेको छ । उक्त आयोजनका लागि ४ अर्ब ६९ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । सांग्रिला हाइड्रोपावरले ४ अर्ब ९९ करोड लगानी गरेर २१ मेगावाट विद्युत उत्पादन गर्ने भएको छ । सिन्धुपाल्चोकको मिलारेपा इनर्जीले पनि ४ अर्ब ४ करोड लगानी गरेर २३.६ मेगावाट जलविद्युत उत्पादन गर्न उद्योग विभागमा उद्योग दर्ता गरेको छ । 
संयुक्त ऊर्जा प्रालिले म्याग्दीको रघुगंगा ३ अर्ब ५३ करोड रुपैयाँ लगानी गरेर २१.३० मेगावाट विद्युत उत्पादन गर्ने भएको छ । काङ हाइड्रोपावरले ताप्लेजुङमा १७.८५ मेगावाट विद्युत उत्पादन गर्न ३ अर्ब ३२ करोड लागनी लाग्ने अनुमान गरिएको छ । 

सिन्धुपाल्चोको तातोपानीको जुरिम्बा हाइड्रोपावरमा एक अर्ब ७२ करोड लागनी गर्ने प्रतिवद्धता भएको छ । ७.६३ मेगावाटको उक्त परियोजनामा साउन १ गते दर्र्ता भएको हो । 

त्यसरी नै हाइड्रो कन्सर्नले रसुवाको गोसाइकुण्ड गाउँपालिकामा एक अर्ब ७१ करोड लागतमा ९ मेगावाट विद्युत उत्पादन गर्ने भएको छ भने रुबि भ्याली हाइड्रोपावरले एक अर्ब ३६ करोड रुपैयाँ लगानी गर्ने भएको छ । चम्पावती हाइड्रोपावरले एक अर्ब ३३ करोड रुपैयाँ लगानी गरेर ७ मेगावाट विद्युत उत्पादन गर्ने प्रतिवद्धता गरेको छ । 

प्रतिक्रिया दिनुहोस