aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

माटोबारे जानकारी दिन नयाँ प्लेटफर्म : तपाईको बारीमा के रोप्ने, यसरी हेर्नुहोस्

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १२ फागुन २०७७
माटोबारे जानकारी दिन नयाँ प्लेटफर्म : तपाईको बारीमा के रोप्ने, यसरी हेर्नुहोस्

काठमाडौं । दक्षिण एशियामै पहिलो पटक नेपालमा अनलाइनबाटै माटोको अवस्था बुझ्न सकिने भएको छ । कृषकहरूका लागि लक्षित गरी कृषि तथा पशुपन्छी विकास नेपाल कृषि अनुसन्धान परिषदले यस्तो प्लेटफर्मको विकास गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘माटोको डिजिटल नक्सा’ तयार पार्ने नेपाल दक्षिण एशियामै पहिलो मुलुक भएको  बताएका छन् । 

आज बुधबार कृषि तथा पशुपन्छी मन्त्रालयले आयोजना गरेको कार्यक्रममा उनले माटोको डिजिटल नक्साले नवीनतम कामको शुरु भएको बताएका हुन् । ‘योसँगै नयाँ युगको शुरु भएको छ,’ उनले भने ‘तपाईहरूले घरमै बसेर प्रविधिको माध्यमले आफ्नो खेतबारीको माटोमा कुन तत्वको कमी छ वा कुन गुणस्तरको छ भनेर थाहा पाउन सक्नुहुन्छ ।' 

अब माटो परीक्षण गर्नको लागि ल्याबसम्म पुग्नु् नपर्ने उनले बताए । माटोमा कुन तत्व छ कुन तत्वको आवश्यकता पर्छ किसानले घरमै बसेर मोबाइल एपबाट थाहा पाउन सक्छन् । 

कृषि मन्त्री पद्माकुमारी अर्यालले माटोमा भएको पोशक तत्वको ज्ञान नहुँदा कृषि उत्पादकत्वमा कमी हुँदै गएको बताइन् । ‘दक्षिण एशियामै पहिलो पटक नेपालले माटोमा डिजिटल नक्साले नेपालको कृषिमा क्रान्ती ल्याउँछ,’ उनले भनिन् ‘यसले हामी १६ औं योजनामा पुग्दासम्म उच्च आर्थिक वृद्धिदर हुन सघाउँछ ।’

माटोको उर्वरशक्ति, अम्लीयपना, प्रांगारिक पदार्थ, पोटास, नाइट्रोजन, फस्फोसर, सल्फर, जिंकजस्ता पदार्थको मात्रा, माटोको बनोटका बारेमा कृषकलाई सहजै जानकारी गराउने उद्देश्यले नेपालको माटोको डिजिटल नक्सा तयार पारिएको हो ।

मन्त्रालयको समन्वयमा नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गतको राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रले ४ वर्ष लगाएर माटोको डिजिटल नक्सा तयार पारेको हो । मन्त्रालयले २३ हजार २७३ वटा माटोको नमूना परीक्षण गरिएर डिजिटल नक्सा तयार पारिएको मन्त्रालयमा सचिव डा. योगेन्द्र कार्कीले बताए । 

‘डिजिटल नक्साबाट माटोमा रहेका हरेक तत्व गुणहरूको वारेमा सहजै थाहा पाउँदा यहि अनुसारको पोषक तत्व प्रयोग गरी उत्पादन बढाउन सकिन्छ,’ उनले भने ‘माटोको गुणस्तर थाहा नपाउँदा उत्पादकत्वमा ह्रास आइरहेको छ । माटोको उत्पादनकत्व बचाउन चुनौती रहेको बताउँदै उनले भने ‘माटोसम्बन्धी नीतिगत व्यवस्थापन गर्न समेत सहज भएको छ ।’ माटोको डिजिटल नक्सा बनाउन यूएआईडीले सहयोग गरेको हो ।

प्रतिक्रिया दिनुहोस